२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अर्थ

सस्तो भारतीय कागतीले विस्थापित स्वदेशी कागती, किसानको मेहनत चौपट

धानखेत मासेर छ वर्षअघि कागतीखेती गरिरहेका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित छन्।  

आचार्यले १४ कट्ठा क्षेत्रमा सुन कागतीको बोट हुर्काएका छन्। कागतीको बोटले धेरै उत्पादन दिए पनि बजारमा बिक्री गर्न गाह्रो भएपछि उनीजस्ता जिल्लाका धेरै कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन्।  

भारतबाट आउने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताए। ‘ठूलो लगानी र मेहनत गरेर किसानले कागती फलाएका छन्,’ उनले भने, ‘बजार लग्यो बिक्री हुँदैन। भारतबाट आएका कागतीले बजार पूरै कब्जा गरेको छ। घाटा खाएर बेच्नुपर्दा बित्थामा कागतीखेती गरिएछ जस्तो लाग्न थालेको छ।’  

कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षदेखि किसानलाई कागतीखेतीतर्फ प्रोत्साहित गरेका छन्। तर उत्पादन बढेसँगै बजार सुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन।  

पाकेको कागती बिक्री नहुँदा अचार, चुक अमिलोलगायत सहउत्पादनलाई बढाउनेतर्फ ध्यान दिए बजारको समस्या समाधान हुने आचार्य बताउँछन्। न्यूनतम समर्थन मूल्य तोकेर बिक्री नभएका कागती स्थानीय तहले किनिदिने व्यवस्था भए किसानमा उत्साह थपिने उनको सुझाव छ।  

विगतमा चिया बगान मासेर व्यावसायिक कागतीखेती गरेका विर्तामोड नगरपालिका–६ का कमलराज विमलीले भारतबाट सस्तो मूल्यमा आउने कागतीले यहाँको बजार खाएको बताए।  

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले कागतीको बजार उत्साहजनक नहुँदा किसान निराश भएको स्वीकार गर्दै समाधानका उपाय खोज्ने बेला आएको बताए। झापामा ३१० हेक्टरमा कागतीखेती भए पनि हाल खेती घटेर २७० हेक्टरमा झरेको छ।  

कागतीखेतीका लागि झापा उर्वर भूमि भएको जनाउँदै उनले स्थानीय खपतले मात्र स्वदेशी कागतीको बिक्री धान्न नसक्ने बताए। विगतमा बोटबाटै टिपेर राम्रो मूल्यमा कागती किनेर लैजाने व्यापारी अहिले आउन छाडेका छन्। भारतबाट आउने सस्तो कागतीतिर स्थानीय व्यापारी आकर्षित भएपछि किसान साना सवारीसाधनमा गाउँ र सहरका गल्ली चहारेर पोकापोकामा कागती बेच्न बाध्य छन्।  

अर्जुनधारा नगरपालिका–३ बाट सिटी रिक्सामा कागती बेच्दै धुलाबारी आएका कुशल थापाले दिनभर तातो घाममा डुल्दा दश किलो कागती बिक्री भएको बताए। ‘हात्ती र बाँदरले बिगार नगर्ने बाली भनेर जङ्गल छेउछाउका बासिन्दालाई अन्नखेती मासेर कागतीखेती गर्न लगाइयो,’ उनले भने, ‘अहिले बिक्री हुन छाड्यो। फलेका कागती बोटमै कुहेर गयो भने किसान कसरी बाँच्छन्?’  

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादहलगायत स्थानीय तहमा किसानले घरैपिच्छे कागतीखेती गरेका छन् भने ठूलो क्षेत्रमा खेती गर्नेहरू बढेका छन्। खेती विस्तारसँगै बजारको सकस बढ्दै गएको छ।  

सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धानखेत मासेर कागतीका बिरुवा रोपेका थिए। कागतीखेतीमा लागेका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गरेका छन्।  

जिल्लामा कम्तीमा ३५० किसानले कागतीको व्यावसायिक खेती गरेका छन्। केही सहकारीले आफैँ र आफ्ना सदस्यलाई यस खेतीमा लगाएका छन्। यहाँ सुन–१, सुन–२, मद्रासी, युरिका र एनपिआरपी–५५ जातको कागतीखेती भएको छ। कागतीको उत्पादन बढे पनि अचार र जुसलगायत ठूला उद्योग स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन्।  

धान र अन्य खेतीमा जस्तो खर्च नहुने भएकाले कागती सहज रूपमा बिक्री हुने वातावरण बने फाइदा हुने कृषि ज्ञान केन्द्रका प्रमुख बिष्ट बताउँछन्। उनले जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच ५.५ देखि ६.५ सम्म भएको दोमट माटो कागतीखेतीका लागि उपयुक्त भएको बताए। रासस

प्रकाशित: २० श्रावण २०८२ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App