२७ असार २०८३ शनिबार
image/svg+xml
अर्थ

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा

विचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विहीवार मुद्दा दायर भएको छ । विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर मुद्दा दायर गर्न सिफारिस गरेको थियो । भट्ट अग्रवाल विरुद्ध बिहीबारनै बैंकिङ कसुरमा करिब ४२ करोड बिगो दाबी गदै मुद्दा दायर भएको छ ।  

सम्पत्ति शुद्धीकरण ऐनअनुसार विभागले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल र उनकी पत्नी सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रि–इस्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान, दीपक वंशल, भारतीय नागरिक उपेन्द्र हिरावतलगायतलाई आरोपी बनाएर मुद्दा चलाउन सिफारिस गरको थियो ।

विभागले ‘बिमा ऐन २०७९ को दफा १४० को कसुरसमेतका कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छुप्ने, स्वरूप, सही प्रकृति छुप्ने, बदल्नेसमेतका सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) को खण्ड (क), (ख) र (ग) ले निषेधित कार्यहरू गरीगराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको’ आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रकाशित: २८ जेष्ठ २०८३ १९:३८ बिहीबार