१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

कार्तिकमा प्रतिमन आठ हजारसम्म बढ्यो अलैँचीको मूल्य

‘कालो सुन’को नामले परिचित अलैँचीको मूल्य महिनादिनको अन्तरालमा ताप्लेजुङमा प्रतिमन (४० किलोग्राम) को ७ देखि ८ हजार रुपैयाँले बढेको छ।

असोज महिनाको पहिलो साता सालाखाला ८० हजार रुपैयाँ प्रतिमन कायम रहेको अलैँचीको मूल्य कार्तिक महिनाको पहिलो साता प्रतिमन ८७ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङले जनाएको छ। अलैँची व्यवसायी कमल बरालले भने आइतबार ताप्लेजुङमा ८८ हजार रुपैयाँ प्रतिमनसम्ममा अलैँचीको कारोबार भइरहेको दाबी गरेका छन्।

अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले आइतबार चलनचल्तीको अलैँची ८६ देखि राम्रो अलैँची ८७ हजार प्रतिमनसम्ममा खरिद बिक्री भइरहेको जानकारी दिए। असोज अन्तिम सातादेखि कार्तिक लागेयता अलैँचीको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायी बरालले बताएका छन्।

असोज २२ गते ८० हजार प्रतिमनमा कारोबार भएको अलैँचीको मूल्यमा त्यसयता क्रमिक रूपले सुधार भइ आइतबार ८८ हजार रुपैयाँ प्रतिमन रहेको व्यवसायी बरालले बताए। अलैँची व्यवसायी संघका ताप्लेजुङ अध्यक्ष रेग्मी भने आइतबार ८६ हजारदेखि राम्रो अलैँची अधिकतम् ८७ हजार रुपैयाँ प्रतिमनसम्ममा खरिद बिक्री भएको बताउँछन्। 

अघिल्लो वर्ष ठूलो दाना भएको, पुच्छर काटेको, धुलोरहितको अलैँची प्रतिमन १ लाख ७ हजार र मध्यम गुणस्तरको अलैँची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन १ लाख ४ हजारमा खरिद बिक्री भएको थियो। सामान्य गुणस्तर भएको अलैँची प्रतिमन १ लाख १ हजार रुपैयाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन्। 

ताप्लेजुङमा साउन अन्तिमदेखि अलैँची टिप्न सुरु हुन्छ। लेकाली क्षेत्रहरूमा कार्तिक अन्तिम सातासम्म टिपाइ हुने गर्छ। अलैँचीलाई ‘कालो सुन’ का अलावा ‘खोल्सीको सुन’ समेत भन्ने गरिन्छ। मसलाजन्य वस्तु अलैँची विश्वमा सबैभन्दा धेरै नेपालमा उत्पादन हुने तथ्याङ्कहरू देखिएका छन्। नेपालमा सबैभन्दा बढी अलैँची ताप्लेजुङमा उत्पादन हुने गरेको छ।

नेपालबाट भारत निकासी हुने अलैँचीलाई अस्तित्वमा चुनौती रहेको व्यवसायीले औंल्याएका छन्। नेपाली उत्पादनको अलैँचीको आफ्नै बजार नहुनुका कारण नेपाली अलैँची हाल भारतीय अलैँचीका रूपमा तेस्रो मुलुकमा बढी मूल्यमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन्। यसबाट नेपाली अलैँचीले मूल्य कम पाउने तथा ब्रान्डिङ हुन नसक्ने समस्या देखिएको व्यवसायीहरूको तर्क छ।

हाल अलैँचीको मुख्य बजारका रूपमा रहेका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश, चीन, भारत, कुवेत, इजिप्ट, जोर्डन, अमेरिका, सिंगापुर र नेदरल्याण्ड्स छन्। भारत भने संसारको सबैभन्दा बढी अलैँची निर्यातक राष्ट्र हो। 

एक अध्ययनका अनुसार नेपाली उत्पादनको बढीमा २ प्रतिशतमात्र अलैँची स्वदेशमा खपत भइरहेको छ भने बाँकी ९८ प्रदेश भारतीय व्यवसायी र बजार हुँदै तेस्रो बजारमा पुग्ने गरेको छ। यही कारण मूल्यमा समेत उतारचढाव आइरहने व्यवसायीहरू अनुमान लगाउँछन्।

प्रकाशित: २ कार्तिक २०८२ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App