ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जेनजी प्रदर्शन र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पूँजीगत खर्च अपेक्षा अनुसार हुन नसकेको बताएका छन् । ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै आइतबार उनले गतवर्षहरुको तुलनामा यो वर्ष कम पूँजीगत खर्च भएको बताए ।
चालु आर्थिक वर्ष महिलेसम्म पूँजीगत खर्च २४ प्रतिशतमात्र रहेको जानकारी गराउँदै उनले पूँजी खर्च प्रगति मापनको मुख्य आधार भएकाले बाँकी छ महिनामा खर्च बढ्ने गरि काम सबैलाई निर्देशन दिए ।
उनले भने, 'अघिल्ला वर्षहरुको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पूँजीगत खर्च बढी भएको देखिन्छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेकाले जनप्रतिनिधि र कर्मचारीबीचकौ टिमवर्कको कारण उपलब्धि हासिल हुनेछ ।'
उपप्रमुख मंजली शाक्य बज्राचार्यले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागू हुनु् अघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन् । उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरैवटा योजना सुरु भइसकेको बताउँदै भुक्तानी नभएकाले पूँजीगत खर्च कम देखिएको बताइन् । बाँकी छ महिनामा पूँजीगत खर्च वृद्धि हुने बताउँदै नागरिको दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् ।
प्रकाशित: ४ माघ २०८२ १७:५२ आइतबार





