२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

करको विरोधमा व्यवसायीले गरे कलैया तरकारी बजार बन्द

विरोधले सुनसान देखिएको कलैया तरकारी बजार ।

कलैयाकाे तरकारी, फलफूल तथा खुद्रा व्यवसायीहरूले कलैया तरकारी बजारलाई शुक्रबार बिहानैदेखि अनिश्चितको लागि बन्द गरेका छन्।

कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बहाल विटौती करमा वृद्धि गरेको विरोधमा तरकारी फलफूल तथा खुद्रा व्यवसायी संघ कलैयाले अनिश्चित कालका लागि तरकारी बजार बन्द गराएका हुन्।  

तरकारी फलफूल तथा खुद्रा व्यवसायी संघ कलैयाका अध्यक्ष आलम हुसेनले कलैया बजारमा राखिएको पसलबाट पहिला ३० रुपैयाँ कर लाग्ने गरेकोमा अहिले आएर त्यसमा ४० देखि ५० रुपैयाँसम्म कर तिर्नु पर्ने अवस्था आएकोले  विरोध गर्नु परेको बताए।

कलैया बजारमा आउने ग्राहको संख्या दिनदिनै घट्दै गएको र नगरपालिकाले एकै पटक ४०  देखी ६० प्रतिशतसम्म विटौती कर वृद्धि गरेको आरोप हुसेनले लगाए। बढाइएको  करले व्यवसाय नै गर्न नसकिने अवस्था आएकोले करको विरोध गर्नु परेको उनको भनाइ छ। 

कलैया बजारमा गाउँ गाउँबाट तरकारी बेच्न आउने साना किसानहरू कर वृद्धिले सबै भन्दा बढी मारमा पर्ने बताइएको छ। सय रुपैयाँको तरकारी कलैया बजारमा ल्याएर किसानहरूले बिक्री गर्दा त्यसबाट ४० रुपैयाँ भन्दा बढी बहाल विकौटी कर नै तिर्नु पर्ने अवस्था आएको अध्यक्ष हुसेनले बताए।

कलैया उपमहानगरपालिकाले विटौती करमा वृद्धि गर्नु भन्दा पहिला एक पटक पनि व्यवसायीहरूसँग छलफल नगरेर एकलौटी कर लादने कार्य गरिएको उनले बताए।  

कलैया उपमहानगरपालिका प्रमुख बिनोद साहले राजश्व परामर्श समितिबाट निर्णय गरेर नगर परिषदबाट करलाई स्वीकृत गरेर कार्यान्वयन गरिएको बताएका छन्। व्यवसायीहरूले बताए अनुसार एकै पटक ४० देखि ६० प्रतिशतसम्म विटौती करमा वृद्धि नगरिएको प्रमुख साहले बताए।

गत आर्थिक वर्ष २०८१/८२ मा विटौती कर लाग्ने १० प्रकारको बस्तुहरूमा मात्रै थोरै कर वृद्धि गरिएको उनले बताए।

विटौती कर बढेको बारेमा नगरपालिकालाई गुनासो नगरिकन व्यवसायीहरूले आफ खुसी कलैया तरकारी बजार बन्द गराएको आरोप नगर प्रमुख साहले लगाए।

कलैया उपमहानगरपालिकाले कलैया बजार क्षेत्रमा तरकारी, फलफूल र खुद्रा समान बेच्न किसान तथा व्यवसायीहरूलाई दिएको स्टलहरूबाट विटौती कर असुली गराउने गरेको छ।

चालु आर्थिक बर्ष २०८२/०८३ को लागि कलैया बजारको बहाल विटौती करको ठेक्का असारी ईन्टरप्राइजेज मुख्य अभिवृद्धि कर बाहेक ४२ लाख ५१ हजार लिएको छ, भने गत आर्थिक २०८१/०८२ मा बहाल विटौती करको ठेक्का मूल्य अभिवृद्धि कर बाहेक ३८ लाख पाँच हजारमा लागेका कलैया उपमहानगरपालिकाको राजश्व शाखाले जनाएको छ।

कलैया उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नाथु साहले गत वर्षको तुलनामा थोरै बस्तुहरूमा कर बढाइएको बताएका छन्।

नगरपालिकाले दिएको दर रेट भन्दा ठेकेदारले बढी कर असुली गरेको भएको त्यसलाई कारबाही गरिने उनले बताए।

प्रकाशित: १६ श्रावण २०८२ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App