नेपाल र बंगलादेशबीचको पर्यटन प्रवर्द्धनका लागि पोखरा–बंगलादेश सिधा उडान हुनुपर्नेमा व्यवासायीले जोड दिएका छन्। पछिल्लो समय बंगलादेशका पर्यटकको गन्तव्य नेपाल हुँदै गर्दा बंगलादेशी पर्यटकलाई सिधै पोखरा ओराल्ने गरि हवाई यातायातमा सहजता ल्याउनुपर्ने उनीहरुको भनाई छ।
अहिले पोखरा–बंगलादेश सिधा हवाई सेवा छैन। तर, पोखराले भने लामो समयदेखि पोखरा–बंगलादेश सिधा हवाई सेवामा जोड दिँदै आएको छ। पर्यटन व्यावसायीका अनुसार नेपालमा पछिल्लो समय भित्रिने विदेशी पर्यटक मध्ये बंगलादेशी पाहुनाको संख्या बढिरहेको छ। हवाई मार्गबाट बंगलादेश र पोखरा जोडिन सकेको खण्डमा आगामि दिनमा पोखराले थप विदेशी पाउने व्यावसायीको भनाई छ।
पर्यटन बोर्डका अनुसार पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको संख्या हरेक महिना थपिँदै गएको छ। नेपालमा विदेशी पर्यटक भित्र्याउने उत्कृष्ट १० मुलुकमध्ये बंगलादेशको नाम अग्रस्थानमा आउने गरेको छ। बंगलादेशी पर्यटकका कारण पोखराको पर्यटनले पनि लाभ लिएको यहाँका व्यावसायी बताउँदै आएका छन्।
पोखरा उद्योग वाणिज्य संघ र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच पोखरामा भएको छलफलमा राजदूत रहमानले बंगलादेशका हवाई कम्पनी पोखराबाट उडान भर्न तयार रहेको र त्यसको लागि प्रक्रिया सुरु भएको जानकारी दिए।
‘पोखरा–बंगलादेशबीच हवाई सेवा संचालन गर्नेबारे एकतहको गृहकार्य भईरहेको छ। बंगलादेशी हवाई कम्पनि पोखरामा हवाई सेवा संचालनका लागि तयार पनि छन,’ उनले भने, ‘हवाई सेवा संचालन हुन सके दुवै मुलुकले पर्यटनबाट लाभ पाउँछन।’
नेपाल र बंगलादेशबीचको पर्यटन प्रवर्द्धनको लागि पोखरा–बंगलादेश सिधा उडान हुनुपर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको भनाइको थियो। उनले पोखराजस्तो पर्यटकीय सहरमा ‘हलाल फुड’को माग हुनसक्ने बताउँदै त्यसका लागि बंगलादेशले सघाउन सक्ने बताए।
अध्यक्ष कार्कीले यसअघि बंगालादेशका राष्ट्रपतिको पोखरा भ्रमणले बंगलादेशमा नेपालबारे प्रचार भएको र त्यहाँबाट आउने पर्यटक संख्या बढेको बताए। ‘अहिले नेपाल भ्रमण गर्ने बंगलादेशी पर्यटक बढेका छन्। नेपाल सरकारले बंगलादेशको मुद्रालाई पनि परिवत्र्य मुद्राको रुपमा ग्रहण गर्दै त्यहाँका पर्यटक भित्र्याउने पहल थालेको छ,’अध्यक्ष कार्कीले भने,‘यस्तो अवस्थामा नेपाल र खासगरी पोखरामा धेरैभन्दा धेरै बंगलादेशी पर्यटक आउन् भन्ने चाहना छ। पोखराबाट सोझै ढाका उडान हुन सके दुई देशबीचको पर्यटन उद्योग र व्यापारलाई अझ फाइदा हुनसक्छ।’ अध्यक्ष कार्कीले नेपालमा उत्पादित चिया, अदुवा अलैंचीलगायतका कृषिजन्य बस्तुको निर्यात बढाउन पनि बंगलादेशले सहजीकरण गरिदियोस् भन्ने आग्रह गरेका थिए।
छलफलमा राजदूत रहमानले उपभोगले मात्र नभई औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताए। उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए। ‘ अहिलेको विश्व प्रविधि,भूगोल वा व्यापारले जोडिएको छ। व्यवसायको धर्म र रङ हुँदैन। तर व्यवसाय गर्नको लागि उत्पादन चाहि हुनैपर्छ,’ उनले भने। राजदूत रहमानले नेपाल र बंगलादेशबीच कृषि, प्रविधि हस्तान्तरण, आयुर्वेदिक उत्पादन तथा औषधिको क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको पनि बताए।
‘हामी नेपालसँग अझै बढी बिजुली लिन सक्छौं, हामीलाई त्यसको आवश्यकता पनि छ। व्यापार बढ्दा बंगलादेशको पैसा नेपाल आउन सजिलो छ तर हामीले यसको लागि अझै धेरै गर्न बाँकी छ,’ उनले भने, ‘फूलबारी–बंगलाबन्द मार्गको सहज संचालनबाट दुवै देशले धेरैभन्दा धेरै लाभ लिन सक्छन। क्रस बोर्डर भौतिक पूर्वाधार निर्माण तथा भन्सार शुल्कलगायतका विषयमा सुधार हुनुपर्छ।‘
संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपाल र बंगलादेशबीच सोझो हवाइ सम्बन्ध स्थापित हुँदा व्यवसाय स्वतःबढ्ने धारणा राखे। पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि जुलाईसम्म नेपालमा ३३ हजार ३ सय ६९ जना बंगलादेशी पर्यटक भित्रिएका छन्। त्यो संख्या २०२४ को त्यही अवधिमा २५ हजार ४ सय ६२ थियो। गत जुलाईमा नेपालमा सबैगरि ७० हजार १ सय ९३ जना विदेशी पर्यटक आउँदा पर्यटक भित्रिने मुख्य १० मुलुकमध्ये चौथो नम्बरमा बंगलादेश रहेको थियो।
सरकारको तथ्यांक अनुसार नेपालमा सन् २०२३ मा ३६ हजार ४ सय ८३ जना बंगलादेशी पर्यटक भित्रिएका थिए। त्यो संख्या २०२४ मा बढेर ४८ हजार ८ सय ४९ पुगेको छ थियो। योवर्ष त्यो आगमन अझै उकासिने भएकोले पोखरा र बंगलादेशलाई सिधा हवाई माध्यमबाट जोड्नेगरि हवाई सेवा बिस्तारमा व्यावसायीले जोड दिँदै आएका छन।
पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको पनि हो। तर, त्यसले पनि अहिलेसम्म मूर्त रुप लिन सकेको छैन। एयर अस्ट्रासँग एटिआर–७२ जहाज रहेको र ती जहाजमार्फत पोखरामा उडान गर्न सकिने भएकोले पहल थालिएको भएपनि त्यसले गति नलिएका व्यावसायीले गुनासो गर्दै आएका छन्।
प्रकाशित: २५ श्रावण २०८२ १४:४६ आइतबार





