ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–१ का ४७ वर्षीय हरि लिम्बूले १० वर्षदेखि अलैंची खेती गर्दै आएका छन्। अघिल्लो वर्ष ३० मन अलैंची उत्पादन गरेका लिम्बूले यस वर्ष उत्पादन राम्रो भएकाले थप पाँच मन उत्पादन बढ्ने अपेक्षा गरेका छन्।
अलैंची खेतीमा उनले पछिल्लो १० वर्षमा ७० लाख रुपैयाँ बढी लगानी गरिसकेका छन्। सुरुमा लगाएका अलैंचीका बिरुवा पुराना हुँदै गएपछि उनले तीन वर्षयता नयाँ बिरुवा रोप्दै आएका छन्। अहिले उनको अलैंची खेती डेढ सय रोपनी क्षेत्रफलमा छ। दुई वर्षपछि नयाँ बिरुवाले उत्पादन दिन थालेपछि उत्पादन ७० मनभन्दा बढी पुग्ने उनको अनुमान छ। त्यसपछि अहिलेसम्म गरेको लगानीको प्रतिफल उठ्ने र आम्दानी पनि बढ्ने उनको विश्वास छ। ‘अहिलेसम्म अलैंचीमा लगानी गरें, अब दुई वर्षपछि रामै आम्दानी होला,’ लिम्बूले भने।
लिम्बूका अनुसार अहिलेसम्म उनी ऋणमा छैनन्। अलैंचीबाट भएको आम्दानी पनि सोही खेतीमा लगानी गर्दै आएकाले देखिने गरी धनसम्पत्ति जोड्न नसकेको उनले बताए। ‘दुई वर्षपछि लगानी गर्नुपर्ने अवस्था केहीमा पनि हुँदैन। त्यसपछि हुने कमाइबाट धनसम्पत्ति जोड्न पाइन्छ भन्ने आशा छ,’ उनले भने।
ताप्लेजुङकै फक्ताङलुङ–३ का ३३ वर्षे देवराज लिम्बूले पनि २० रोपनीमा अलैंची खेती गरेका छन्। उनले आफू १९ वर्ष भएदेखि अलैंची खेती थालेका हुन्।
उनका बाबुबाजेले पनि अलैंची खेती गर्दै आएका थिए। उनले भने यसलाई व्यवसाय बनाएका छन्। अलैंची खेतीबाट उनले वर्षमा कम्तीमा १५ लाख रुपैयाँ आम्दानी हुने बताए। उनले वर्षमा कम्तीमा १५ मन अलैंची उत्पादन गर्छन्। ‘अलैंची खेती गर्न सारै सजिलो छ,’ उनले भने, ‘टाइमटाइम सिँचाइं गरेर गोडमेल गरेपछि अन्तिममा टिप्नुपर्छ।’
अलैंची खेतीमा लगभग ६ महिना सिँचाइ र दुईपटक गोडमेल गर्नुपर्छ। उनले भने, ‘वैदशिक रोजगारीमा जानुभन्दा आफ्नै घरमा बसेर पैसा कमाउन पाउँदा खुसी छु, सन्तुष्ट छु।’ उनले मूल्य बढ्दै गए खेती बढाउने उनको योजना छ।
उनका अनुसार अघिल्लो वर्ष अलैंचीको मूल्य उच्च थियो। २०७१ सालमा अलैंचीको मूल्य प्रतिमन एक लाख रुपैयाँसम्म पुगेको थियो। त्यसपछिका वर्षमा अलैंचीको मूल्य ओरालो लागेको थियो। अघिल्लो वर्षबाट फेरि मूल्य उकालो लागेको छ।
देवराजका अनुसार ताप्लेजुङ्मा अलैंची खेती विस्तारसँगै उत्पादन पनि बढ्दै गएको छ। उत्पादन बढी हुँदा मूल्यमा गिरावट आउन सक्ने खतरा हुने उनी बताउँछन्। नेपालमा उत्पादन हुने अलैंचीमा ४० प्रतिशत हिस्सा ताप्लेजुङको छ।
नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा ताप्लेजुङ्का अध्यक्ष भद्रवीर रेग्मीका अनुसार ताप्लेजुङ्मा मात्रै वार्षिक चार हजार मन अलैंची उत्पादन हुन्छ। जिल्लाका नौंवटा गाउँपालिका र एक नगरपालिकामध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक अन्य सबै स्थानमा अलैंची खेती गरिन्छ।
प्रदेशगत आधारमा अलैंची उत्पादनमा कोसी अगाडि छ। कोसीमा पनि अलैंची उत्पादनमा ताप्लेजुङपछि संखुवासभा, इलाम, पाँचथर र खोटाङ अगाडि आउँछन्। भोजपुर सिलीचुङकी रामविष्णु राईको परिवारले संखुवासभा अलैंची खेती गर्छ। उनको परिवारले झण्डै वार्षिक पाँच मन अलैंची उत्पादन गर्छ। यही अलैंचीले परिवारको खर्च टार्ने गरेको रामविष्णुले बताइन्। ‘पुराना बोटले फल राम्रो दिन छाडेपछि नयाँ विरुवा पनि थपिरहेकी छ,’ रामविष्णले भनिन्, ‘यस वर्ष छोराले चार हजार नयाँ विरुवा थपेका छन्। अब केही वर्षभित्र अलैंची उत्पादन बढने छ।’
तेह्रथुमको लालीगुराँस नगरपालिका–४ की रेनुका पौडेलले पनि १५ रोपनीमा अलैंची खेती गरेकी छन्। उनका अनुसार राम्रो फलेमा आठ मनसम्म अलैंची उत्पादन हुन्छ तर पछिल्लो समय अलैंचीमा गानो कुहिने र बोट मर्ने रोगले गर्दा अपेक्षाकृत आम्दानी नभएको उनले बताइन्। ‘रोग नलागे त राम्रो आम्दानी हुन्छ,’ उनले भनिन्।
उनी एक्लै खेती गर्छिन्। अलैचीबाट वार्षिक कम्तीमा आठ लाख रुपैयाँसम्म कमाउनु सामान्य होइन्। उनका पति तिलबहादुर पौडेल वैदेशिक रोजगारीका लागि मलेसिया आउजाउ गर्छन्। रेनुकाले अलैंचीबाट हुने आम्दानीले छोराछारीलाई राम्रोसँग पढाइरहेकी छन् भने पतिले कमाएको पैसा बचाउँदै आएकी छन्। ‘दुःख गरेअनुसार आम्दानी छ,’ उनले भनिन्, ‘खानालगाउन अप्ठेरो छैन।
पूर्वी पहाडी जिल्लामा सामान्य ढंगले अलैंची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। भोजपुर आमचोक गाउँपालिका–२ का मचिन्द्र खड्काले केही वर्षदेखि वार्षिक पाँच मनभन्दा बढी अलैंची उत्पादन गर्र्दै आएका छन्। उनले बारीमा थप चार हजार नयाँ बिरुवा लगाएका छन्। नयाँ विरुवाले उत्पादन दिन थालेपछि राम्रै आम्दानी हुने उनको आशा छ।
किसानले पाँच प्रजातिको अलैंची लगाउँदै आएका छन्। अलैंची विकास केन्द्र इलामका अनुसार रामसाई, भार्लांङ, गोलसाई, जिर्मले र डम्बरसाई प्रजातिको अलैंची किसानले लगाउँदै आएका छन्। यी सबै प्रजातिको आआफ्नै विशेषता भएको अलैंची विकास केन्द्रका प्रमुख राजु ढकाल बताउँछन्।
डम्बरसाई र जिर्मले ६०० मिटर उचाइदेखि एक हजार २०० मिटर उचाइसम्म हुन्छ। डम्बरसाईको खेती विशेषगरी, भोजपुरमा बढी हुन्छ। यसलाई पानी बढी चाहिन्छ भने छाया पनि बढी नै चाहिन्छ। जिर्मलेलाई छाया त्यति धेरै चाहिँदैन। यो गर्मी क्षेत्रतिर हुन्छ र उत्पादन पनि राम्रो हुन्छ। बोक्रा पातलो र उत्पादन बढी हुने भएकाले जिर्मलेबाट किसानले राम्रो मूल्य पाउँछन्। गोलसाई एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइसम्म हुन्छ। यसको दाना ठुलो हुन्छ। भार्लाङ र रामसाई एक हजार ५०० मिटरदेखि दुई हजार ३०० मिटर उचाइसम्म हुन्छ। भार्लाङको दाना ठुलो र बोट पनि ठुलो नै हुन्छ। रामसाई भने उच्च पहाडी क्षेत्रमा हुन्छ।
अलैंची साउन दोस्रो सातादेखि टिप्न सुरु भइसकेको छ। अहिले अलैंचीको सुरुवाती मूल्य प्रतिमन एक लाख रुपैयाँ हाराहारी छ। यसको बजार भाउ भने फेरबदल भइरहन्छ। किसानले उत्पादन गरेको अलैंची किन्न घरघरमै पुग्ने गरेको संखुवासभा धर्मादेवी–३ का अलैंची व्यापारी केशवकुमार श्रेष्ठले बताए।
नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष निर्मल भट्टराईका अनुसार पछिल्लो समय अलैंची खेती कोसी प्रदेशका हिमाली र पहाडी जिल्लाबाहेक पश्चिमका जिल्लामा पनि हुन्छ। उनका अनुसार रोल्पा, नुवाकोट, लम्जुङमा पनि पछिल्लो समय राम्रैसँग अलैंची लगाउन थालिएको छ। मधेमा भने अलैंची हुँदैन। उनका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष अलैंची उत्पादन ३० प्रतिशत बढ्ने अनुमान छ।
समय समयमा रोग र किराको प्रकोपबाट बिरुवामा असर पर्दा किसानले नराम्ररी नोक्सानी पनि भोग्नुपरेको छ। अलैंचीमा छिर्के÷फुर्के रोग, जरा/पात कुहिने र ओइलाउने समस्या बढी मात्राम हुन्छ। अलैंचीमा गबारो, लाही , झुसिलकिरा आदिको समस्या पनि हुन्छ। राज्यले अलैंची खेतीलाई सहुलियत प्रदान नगरेको, यसबारे विज्ञ प्राविधिक तयार गर्न चासो नदिएको र सुकाउन आधुनिक भट्टीको अभावमा घामकै भर पर्नुपर्दा निकै कठिनाइ भोग्नुपरेको ताप्लेजुङ्कन किसान कलराम लिम्बूले बताए। अलैंंचीको प्रमुख बजार भारत हो। भारतका अतिरिक्त युरोप र अस्ट्रेलियामा पनि अलैंची निर्यात हुज्छ।
नेपालबाट उत्पादनको ९४ प्रतिशत अलैंची निर्यात हुन्छ। बाँकी ६ प्रतिशत अलैंची नेपालमै प्रयोग हुन्छ। देशभर उत्पादन भएको अलैंची झापाको किर्तामोडस्थित नेपाल अलैंची व्यवसायी महासंघमार्फत केन्द्रीकृत भएर भारत निर्यात हुन्छ।
नेपालमा अलैंची खेती व्यावसायिक रुपमा सन् १९५३ मा इलामबाट सुरु भएको हो। सन् १९७५ मा सरकारले अलैंची विकास केन्द्र स्थापना गरेपछि यो संस्थागत ढंगले अघि बढेको छ। ५२ जिल्लामा अलैंची खेती हुन्छ। ४२ जिल्लामा भने यसको व्यावसायिक रुपमा खेती हुन्छ।
प्रकाशित: २८ श्रावण २०८३ ०६:२७ बिहीबार





