२० श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

कुखुरामा बर्डफ्लु र एच-९ प्रकोप: चार अर्बको क्षति, उत्पादन चक्र प्रभावित

मुलुकका ११ जिल्लामा फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) र विभिन्न जिल्लामा देखिएको एच–९ इन्फ्लुएन्जा संक्रमणका कारण नेपालको पोल्ट्री क्षेत्रमा करिब चार अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको कुखुरा व्यवसायीले दाबी गरेका छन्। संक्रमणका कारण लाखौं कुखुरा नष्ट हुनुका साथै उत्पादन चक्र नै प्रभावित भई दीर्घकालीन असर पर्ने भएकाले किसानलाई अर्बौं क्षति पुगेको दाबी उनीहरूले गरेका हुन् ।

बर्डफ्लु संक्रमण मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा पुष्टि भएको थियो। पशु सेवा विभागका अनुसार अधिकांश स्थानमा संक्रमण नियन्त्रणको चरणमा पुगेको छ तर प्रभावित फार्ममा पाँचदेखि ६ महिनासम्म पुनः कुखुरा राख्न नमिल्ने भएकाले उत्पादन चक्र अवरुद्ध भएको हो।

बर्डफ्लुबाट करिब दुई अर्ब र एच–९ इन्फ्लुएन्जाबाट थप करिब दुई अर्ब रुपैयाँ क्षति पुगेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए। उनका अनुसार कुखुरा मरेपछि तत्कालको क्षतिभन्दा पनि उत्पादन बन्द हुने, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने तथा बजार आपूर्तिमा आउने गिरावटले किसानलाई थप आर्थिक भार परेको छ। ‘कुखुरा मरेपछि त्यसको उत्पादन चक्रमै असर पर्छ। तत्काल देखिने क्षतिभन्दा त्यसपछिको आर्थिक असर धेरै ठुलो हुन्छ,’ विष्टले भने। उनका अनुसार प्रभावित किसानले खोर सफा गरी आवश्यक जैविक सुरक्षा पूरा नगरी पुनः चल्ला हाल्न नपाउने भएकाले कम्तीमा आधा वर्षसम्म उत्पादनमा फर्किन कठिन हुने अवस्था हुन्छ।

यद्यपि पशु सेवा विभागले प्रत्यक्ष रूपमा बर्डफ्लुबाट भएको क्षतिको अनुमान व्यवसायीको भन्दा निकै कम गरेको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म बर्डफ्लुबाट संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्दा करिब ८० करोड रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ। ‘किसानलाई ५० करोड रुपैयाँ क्षतिपूर्ति नै दिइसकेका छौं,’ दाहालले भने। उनका अनुसार अप्रत्यक्ष आर्थिक असर भने अझ बढी हुन सक्ने भए पनि त्यसको आधिकारिक मूल्यांकन गरिएको छैन। एच–९ इन्फ्लुएन्जाको क्षतिपूर्ति नदिने र बिमा गर्ने भएकाले यसको विवरण विभागसँग नभएको बताए ।

विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा पाँच लाख ६९ हजारभन्दा बढी कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको छ। त्यससँगै करिब नौ लाख ८९ हजार अन्डा र एक लाख ९५ हजार किलोग्राम दाना पनि नष्ट गरिएको छ। प्रभावित क्षेत्रमा निसंक्रमण, जैविक सुरक्षा कडाइ र प्रयोगशाला निगरानी जारी छ। ‘संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको छ तर वातावरणमा भाइरस बाँकी छ वा छैन भन्ने विषयमा निगरानी जारी छ। पूर्ण रूपमा नियन्त्रण भएको घोषणा गर्न अझै केही समय लाग्छ,’ महानिर्देशक दाहालले भने। सरकारले कानुनअनुसार प्रभावित किसानलाई राहत वितरण पनि अघि बढाएको छ। विभागका अनुसार हालसम्म आवश्यक कागजात पूरा गरेका किसानको खातामा करिब ५० करोड रुपैयाँ राहत वितरण गरिएको छ। राहत मापदण्डअनुसार वैज्ञानिक मूल्यांकनका आधारमा नष्ट गरिएका कुखुरा तथा सामग्रीको लागतको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइन्छ। अन्य किसानका कागजात पनि प्रक्रियामा रहेको विभागले जनाएको छ ।

बर्डफ्लुसँगै यस वर्ष एच–९ इन्फ्लुएन्जाको संक्रमण पनि व्यापक देखिएको व्यवसायी बताउँछन्। उनीहरूका अनुसार एच–९ का कारण पनि अण्डा उत्पादनमा उल्लेख्य गिरावट आएको छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार बर्डफ्लुका कारण उत्पादन चक्र  टुट्दा बजारमा आपूर्तिमा कमी आएको छ। ‘उत्पादन एक पटक घटेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउन ६ देखि आठ महिना लाग्न सक्छ,’ उनले भने। उनका अनुसार किसानले उत्पादन रोकिनु, नयाँ चल्ला हाल्न ढिलाइ हुनु र बैंकको ऋणको ब्याज तिर्नुपर्ने अवस्थाले थप समस्या सिर्जना गरेको छ ।

पोल्ट्री व्यवसायीले बर्डफ्लु नियन्त्रणका लागि प्रभावकारी खोप तथा जैविक सुरक्षा व्यवस्थामा सरकारले थप ध्यान दिनुपर्ने माग गरेका छन्। एच–९ विरुद्धको खोपको पहुँच विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ। बर्डफ्लु मुख्य रूपमा पन्छीमा लाग्ने संक्रामक भाइरल रोग हो। संक्रमित कुखुरामा अचानक धेरै मर्नु, खाना–पानी छाड्नु, श्वासप्रश्वासमा समस्या देखिनु, अण्डा उत्पादन घट्नु तथा सुस्त हुने लक्षण देखिन्छ।

संक्रमित पन्छी, दिसा, दाना, पानी तथा उपकरणको सम्पर्कबाट संक्रमण छिट्टै फैलिने भएकाले विभागले किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ। पशु सेवा विभागले बिरामी वा मरेका कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, शंकास्पद लक्षण देखिए तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउन तथा मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

कुखुरा पालनमा व्यवसायीकरण भएसँगै किसानले कुखुराबाट मनग्य आम्दानी गरेका हुन्। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा वार्षिक रूपमा करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पालन गरिँदै आएको छ। वार्षिक १२ करोड ७६ लाखभन्दा बढी कुखुरा पालन हुँदै आएकोमा अधिकांश ब्रोइलर जातका रहेको सर्वेक्षणले देखाएको छ। तीमध्ये करिब १० करोड ब्रोइलर कुखुरा बिक्रीबाट ५७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको तथ्यांकले देखाएको छ। ब्रोइलर कुखुरा औसत ४३.७ दिनसम्म पालेर करिब २.६ केजी तौल पुगेपछि बिक्री गरिन्छ ।

व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ अनुसार देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा व्यावसायिक रूपमा कुखुरापालन भइरहेको छ भने मनाङ र मुस्ताङमा यस्तो व्यवसाय सञ्चालनमा आएको छैन। त्यसपछि औपचारिक तथ्यांक सार्वजनिक गरिएको छैन। सर्वेक्षणअनुसार देशभर २२ हजार ९२८ कृषक तथा फार्महरूले व्यावसायिक कुखुरापालन गर्दै आएका छन्। तीमध्ये ९२ प्रतिशतले मासु उत्पादन, ७.४ प्रतिशतले अण्डा उत्पादन र ०.५ प्रतिशतले चल्ला उत्पादन गर्दै आएका छन्। एक वर्षमा करिब ६० अर्ब ९६ करोड रुपैयाँ बराबरको कुखुराको मासु, १४ अर्ब ८२ करोड रुपैयाँ बराबरको अण्डा, १० अर्ब २२ करोड रुपैयाँ बराबरको चल्ला तथा एक अर्ब रुपैयाँभन्दा बढीको मल उत्पादन भई बिक्री भएको छ।

कुखुरा पालन क्षेत्रमा करिब ७९ अर्ब रुपैयाँ चालु तथा पुँजीगत खर्च भएको छ भने व्यवसायीहरूको कुल स्थायी सम्पत्ति करिब ६१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कुखुरा पालन व्यवसायमा करिब ७८ अर्ब ४० करोड रुपैयाँ खर्च भएको पाइएको छ। कुल खर्चमध्ये तलब, भत्ता र ज्यालामा मात्र करिब दुई अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ भने बाँकी करिब ७६ अर्ब एक करोड रुपैयाँ अन्य चालु तथा पुँजीगत शीर्षकमा खर्च भएको देखिन्छ। राष्ट्रिय स्तरमा हेर्दा आर्थिक वर्ष २०८१/८२ मा कुल २४.३ करोड अण्डा इनक्युबेटरमा राखिएकोमा २०.४ करोड चल्ला उत्पादन भएको थियो। उत्पादित चल्लामध्ये १९.४ करोड बजारमा बिक्री भएको छ, जसबाट करिब १० अर्ब २ करोड रुपैयाँ आम्दानी भएको थियो। 

प्रकाशित: ६ श्रावण २०८३ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App