१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजार ९३३ प्रभावित

रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने घरधुरीका आधारमा ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट सरकारी संरचना, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल, कृषि तथा ऊर्जा क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ।

यसैबीच, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा बाढीपछि १० दिनदेखि फसेका दुई जनाको शुक्रबार सकुशल जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह रहेका छन्।

प्राधिकरणकी उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले नियमित पत्रकार सम्मेलनमा उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौंको छाउनीस्थित श्री वीरेन्द्र अस्पताल ल्याइएको जानकारी दिइन्।

उद्धार टोलीले सोही सुरुङबाट शुक्रबार एक जनाको शवसमेत निकालेको छ। सुरुङभित्र अझै कोही व्यक्ति रहे–नरहेको यकिन हुन नसकेको प्राधिकरणले जनाएको छ। ड्रिलिङसहितका प्रविधि प्रयोग गरी थप व्यक्तिको खोजी जारी छ।

दलदलयुक्त भू–भागका कारण भारी उपकरण घटनास्थलसम्म पु¥याउन कठिनाइ भएको छ। भारी मेसिन दुई पटक लैजाने प्रयास गर्दा जमिनमा धसिएपछि उपकरण लैजान नसकिएको प्राधिकरणले जनाएको छ। अहिले आवश्यक मेसिनका पार्टपुर्जा छुट्टाछुट्टै लैजाने र घटनास्थलमै जडान गर्ने तयारी भइरहेको छ। प्राविधिक रूपमा सम्भव वैकल्पिक विधिबाट खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ।

त्रिशूली–३ ‘ए’ सहित अन्य जलविद्युत् आयोजनामा पनि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको छ। हराइरहेका अन्य नागरिकलाई समेत सकुशल उद्धार गर्न सकिनेमा प्राधिकरण आशावादी रहेको जनाएको छ।

चीनमा अड्किएका थप १५५ नेपालीको सूची प्राप्त

यसैबीच चीनमा अड्किएका थप १५५ नेपालीको नामावली चिनियाँ पक्षबाट प्राप्त भएको छ। उनीहरूमध्ये १०९ पुरुष र ४६ महिला छन्। प्रारम्भिक विवरणअनुसार १४५ जना रसुवा, एक जना धादिङ र नौ जना काठमाडौंका रहेका छन्।

यसअघि बिहीबार चीनमा अड्किएका ११३ जना नेपाली नेपाल फर्किएका थिए। प्राप्त नामावली भेरिफाइ गरी सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।

चीनबाट फर्किने नेपालीको व्यवस्थापनका लागि प्राधिकरणको क्लस्टरमा १५ वटा मोबिलाइजेसन टिम परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा उनीहरूलाई राख्ने स्थान तथा आवश्यक व्यवस्थापनको तयारी भइरहेको छ।

हाल रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना रहेको प्राधिकरणले जनाएको छ।

सडक, पुलदेखि विद्यालय र स्वास्थ्य संस्थासम्म क्षति

रसुवामा बाढीबाट भएको क्षति र आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। प्राधिकरणले यो विवरण प्रारम्भिक आकलन मात्र भएकाले विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको स्पष्ट पारेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट ४८ सरकारी संरचनामा क्षति पुगेको छ। तीमध्ये ३५ पूर्ण र १३ आंशिक रूपमा क्षतिग्रस्त छन्।

त्यस्तै १८ विद्यालय प्रभावित भएका छन्, जसमा ११ पूर्ण र सात आंशिक रूपमा क्षतिग्रस्त छन्। स्वास्थ्य संस्थातर्फ चार पूर्ण र तीन आंशिक गरी सात संस्थामा क्षति पुगेको छ।

सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढीले ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ।

१ हजार ८०६ हेक्टर कृषियोग्य जमिन प्रभावित

बाढीबाट १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान छ। यसका कारण करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आउने प्रारम्भिक आकलन गरिएको छ।

बाढीको प्रभाव पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत परेको छ। प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखा पनि प्रभावित भएका छन्।

ऊर्जा क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। बाढीका कारण ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव परेको छ। प्रभावित क्षेत्रमा १३ जलविद्युत् आयोजना, एक सोलार प्लान्ट र दुई प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले सार्वजनिक गरेको छ।

प्रकाशित: १९ भाद्र २०८३ २१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App