पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
ग्रामीण बस्तीहरूलाई सडक सञ्जालसँग जोड्ने र पर्यटकीय सौन्दर्य बढाउने योजनाअनुसार पछिल्लो एक वर्षमा मात्रै ७.२ किलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्राभेल र ९ किलोमिटर नयाँ ट्र्याक खोलिएको छ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएयता बन्दीपुरमा हालसम्म कुल ३७.२ किमी सडक कालोपत्र, ७० किमी ग्राभेल र ७९ किमी नयाँ सडकको ट्र्याक निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
सडक विस्तारसँगै बाह्रै महिना यातायात सञ्चालन सहज बनाउन खोलानालाहरूमा पुल निर्माणलाई प्राथमिकता दिइएको छ। गाउँपालिकाभित्र हालसम्म २५ वटा मोटरेबल पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन्।
पर्यटकीय क्षेत्रको सौन्दर्यीकरणतर्फ हालसम्म ४९ वटा पार्क निर्माण गरिएका छन्, जसमध्ये चार वटा पार्क पछिल्लो एक वर्षमा बनेका हुन्। वर्षाको पानी र ढल निकासका लागि हालसम्म ७८ किमी ढल तथा कटान नियन्त्रणका लागि ५ किमी नदी तटबन्धको काम सम्पन्न भएको छ।
बढ्दो फोहोरको दिगो व्यवस्थापनका लागि एक डम्पिङ साइट र एक स्यानिटरी ल्यान्डफिल्डसमेत निर्माण गरिएको छ। पछिल्लो एक वर्षको अवधिमा मात्रै ७ किमी ढल, १ किमी नदी नियन्त्रण, ३ वटा पोखरी, ४ प्रतीक्षालय, १ विद्यालय भवन र ४ वटा सामुदायिक वनसम्बन्धी पूर्वाधारका कामहरू सम्पन्न भएका छन्।
कृषि क्षेत्रको उत्पादकत्व बढाउन गाउँपालिकाले हालसम्म १ हजार ८६२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ। यसमध्ये ६ हेक्टर क्षेत्रफलमा पछिल्लो एक वर्षमा सिँचाइ पुर्याइएको हो। जलस्रोत संरक्षणतर्फ हालसम्म ६ वटा ताल निर्माण तथा संरक्षणका काम भएका छन्।
शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रतर्फ जनप्रतिनिधि आएयता ६ वटा विद्यालय भवन र ७ वटा स्वास्थ्य चौकी निर्माण गरिएका छन्। सामाजिक कार्यक्रम र नागरिकको सहजताका लागि विभिन्न स्थानमा ७४ वटा सामुदायिक भवन र ५४ वटा प्रतीक्षालय निर्माण गरिएको छ।
गाउँपालिका अध्यक्ष थापाका अनुसार उपलब्ध स्रोतसाधनलाई प्राथमिकीकरण गर्दै सडक, पुल, सिँचाइ, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य र सार्वजनिक संरचनाको एकीकृत विकास गरिएको हो।
पर्यटकीय हबका रूपमा रहेको बन्दीपुरमा यस्ता पूर्वाधारले स्थानीयको दैनिकी सहज बनाउनुका साथै पर्यटन र आर्थिक गतिविधि विस्तारमा ठूलो टेवा पुग्ने विश्वास गाउँपालिकाको छ।
प्रकाशित: १९ आश्विन २०८३ २०:५४ सोमबार





