दुवै तहको परीक्षा पास गरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स कार्ड) को पर्खाइमा रहेका सेवाग्राहीले साउन १ देखि फेरि सास्ती पाउन थालेका छन्। लाइसेन्स नवीकरण गर्न तथा लिखित तथा ट्रायल परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्न, राजस्व बुझाउन तथा भरेको फाराम प्रमाणित गर्न पनि सर्भरमा समस्या उत्पन्न भएको छ। यसबाट सेवाग्राही थप मर्कामा परेका छन्।
यातायात व्यवस्था कार्यालय भक्तपुर, राधेराधेका सूचना अधिकारी शारदप्रसाद दंगालले देशभरिका सबै यातायात व्यवस्था कार्यालयमा यातायात व्यवस्था विभागले सुरु गरेको नयाँ सर्भरले काम नगरेको र साउनदेखि नै लाइसेन्स कार्ड छाप्ने काम पनि बन्द भएको बताए। ‘साउन लागेदेखि नै नयाँ सर्भरमा समस्या आएको छ। हिजो (आइतबार) देखि त ठप्पै भएको छ,’ दंगालले भने, ‘सर्भर ठप्प हुँदा अनलाइन आवेदन लिनदिन, राजस्व बुझाउन तथा भरेको फाराम एप्रुभ गर्न समस्या उत्पन्न भएको छ।’
उनका अनुसार उक्त कार्यालयले हाल पहिले एप्रुभ भएका आवेदकलाई कापीमा हाजिरी गर्न लगाई लिखित तथा ट्रायल परीक्षा लिने काम गरिरहेको छ।’ कार्यालयका एक कर्मचारीका अनुसार अहिले हरेक दिन दुईदेखि तीनहजार अनलाइन आवेदन स्वीकृत हुन बाँकी रहने गरेका छन्। जबकि एक दिनमा देशभरिका सबै यातायात कार्यालयमा करिब पाँच हजार अनलाइनबाट आवेदन भर्ने गरिएको छ। त्यसमध्ये दुईदेखि तीन हजार आवेदन पेन्डिङमा रहने गरेका छन्।
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रलगायत यातायातसम्बन्धी सेवालाई अझै व्यवस्थित गर्ने उद्देश्यबाट नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। गत साउन १ गतेदेखि लागु भएको नयाँ प्रणालीबाट लाइसेन्सका लागि नयाँ फाराम भर्न तथा विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ। नयाँ प्रणालीमा अनलाइन आवेदन फाराम भर्दा राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर तथा इमेल आइडी अनिवार्य राख्नुपर्छ।
सर्भर अपग्रेड (अद्यावधिक) र नयाँ प्रणाली लागु गर्न देशभरिका यातायात व्यवस्था कार्यालयमा साउन १ गतेदेखि तीन सातासम्म लाइसेन्ससम्बन्धी सबै सेवा ठप्प गरिएको थियो। साउन तेस्रो साताबाट सेवा सञ्चालनमा त आयो तर सर्भर पटकपटक डाउन हुने तथा सर्भर नचल्ने समस्या उत्पन्न भएको छ। यसबाट अनलाइन आवेदन फाराम भरेका सेवाग्राहीको अनलाइन आवेदनसमेत प्रमाणित हुन सकेको छैन। अनलाइन आवेदन फाराम भर्न पनि समस्या भएको छ।
‘यसबाट सेवाग्राहीले झनै सास्ती भोग्न थालेका छन्। अनलाइन आवेदन एप्रुभ हुन सकेको छैन, लिखित तथा मौखिक परीक्षा हुन सकेको छैन। सेवाग्राहीले लाइसेन्स कार्डसमेत पाउन सकेका छैनन्,’ सेवाग्राही रविन बुढाथोकीले भने। उनका अनुसार साउन १ गतेदेखि लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम भर्न राष्ट्रिय परिचयपत्रसँग एकीकृत गर्नुपर्ने व्यवस्था लागु भए पनि अनलाइन निवेदनमा राष्ट्रिय परिचयपत्र पुष्टि हुन सकेको छैन। यसबाट सेवाग्राहीले अर्को दुःख भोगेका छन्। हाल देशभरि ४२ वटा यातायात व्यवस्था कार्यालयले लाइसेन्ससम्बन्धी सेवा प्रदान गरिरहेका छन्।
विभागले लागु गरेको नयाँ सर्भर तथा नयाँ प्रणालीमा समस्या आएको मान्न विभागका महानिर्देशक राजीव पोखरेल सहमत छैनन्। नयाँ सर्भरमा समस्या नआएको उनले दाबी गरे। ‘मैले सबै कार्यालयमा बुझिरहेको छु। कहीं समस्या देखिएको छैन। सर्भर चलिरहेको छ,’ उनले भने।
लाइसेन्स छपाइ ठप्प
साउनदेखि यातायात व्यवस्था विभागले लाइसेन्स कार्ड छाप्नेसम्बन्धी सबै अधिकार प्रदेश सरकारअन्तर्गत प्रदेश यातायात कार्यालयलाई दिएको छ। लाइसेन्स कार्डका लागि परीक्षा लिन तथा कार्ड छाप्ने र कार्ड वितरण गर्ने अधिकार प्रदेश सरकारलाई नै छ
साउनदेखि उक्त अधिकार सबै प्रदेश सरकारले लिएका छन्। ‘गत साउन १ गतेदेखि सबै प्रदेश सरकारले लाइसेन्स कार्ड सुरक्षण मुद्रण विभागमा छाप्ने सहमति भएको थियो। जसअनुसार मधेस प्रदेश सरकारले मात्र लाइसेन्स कार्ड छाप्न सुरक्षण मुद्रण विभागसँग सम्झौता गरेको छ तर अन्य प्रदेशले कार्ड छाप्न प्रक्रिया अघि बढाएका छैनन्,’ महानिर्देशक पोखरेलले भने, ‘हामीले गत असार मसान्तसम्मको सबै बक्यौता छापिसकेका छौं। विभागमा कार्ड छाप्न बाँकी एउटा पनि छैन।’
उनका अनुसार साउनदेखि देशभरि करिब डेढ लाख सेवाग्राही सवारीचालक अनुमतिपत्रको प्रतीक्षामा छन्। ‘हामीले ३२ लाख कार्ड छापेर बाँडिसकेका छौं। कार्ड छाप्ने जिम्मेवारी अब प्रदेश सरकारलाई दिएका छौं।’ तर विभिन्न कारण देखाएर प्रदेश सरकारहरूले सुरक्षण मुद्रण विभागसँग लाइसेन्स कार्ड छाप्न सम्झौता गरेका छैनन्। यसबाट सेवाग्राहीले पहिले जस्तै फेरि सास्ती भोग्न थालेका छन्।
प्रकाशित: ९ भाद्र २०८३ ०८:४३ मंगलबार





