हिमपातले रोकिएका उच्च हिमाली भेगका सम्पूर्ण पदमार्ग पूर्ण रुपमा संचालनमा आएका छन्। अन्नपूर्ण क्षेत्रको उच्च भेगका सबै पदमार्ग खुला भएपछि विदेशी तथा स्वदेशी पर्यटकले पदयात्रा थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
एक्यापका प्रमुख रविन कडरियाका अनुसार सबैभन्दा बढी समय अवरुद्ध भएको मनाङको तिलिचो क्षेत्रको पदयात्रा पनि बुधबारदेखि पूर्णरुपमा खुला भएको छ। त्यस्तै अन्नपूर्ण फेरोको थोराङला भञ्ज्याङ् सहित तिचिलो, मर्दी हिमाल, अन्नपूर्ण आधारशिविर, लोमान्थाङ क्षेत्र सहित सबैतिरका पदमार्ग खुला भएको कडरियाले बताए।
‘हिमपातले उच्च हिमाली भेगका पदमार्ग एकसातादेखि अवरुद्ध भएका थिए । मौसम खुलेसँगै अन्नपूर्ण क्षेत्रका सबैजसो पदमार्ग सुचारु भएका छन। अब अन्नपूर्ण क्षेत्रका कुनैपनि पदमार्गमा पदयात्रामा जान सकिन्छ,’ उनले भने, ‘सबैतिरका पदमार्ग खुला भईसकेका छन। पदमार्ग खुला भएसँगै पदयात्रीले पदयात्रा थालेका छन। तिलिचोका लागि गएको पदयात्रीको समूह पनि गन्तव्यमा पुगिसकेको छ।’ त्यसबाहेक नार र फू तिरका पदमार्ग पनि खुला भएको उनले बताए।
कडरियाका अनुसार तिलिचो पदमार्गको हिउँ हटाउन स्थानीय व्यावसायी र पदयात्राका गाइड नै खटिएका थिए। त्यस्तै स्थानीय पर्यटन व्यवस्थापन समितिले सघाएपछि पदमार्ग संचालन गर्न सहज बनेको उनले बताए।
‘पदमार्गको हिउँ हटाउन स्थानीयहरु खटिएपछि सहज भयो। सबैतिरको एकजुटले तिलिचो मार्ग संचालनमा आएको छ। पदमार्ग खुलेपछि व्यवासायी पनि व्यावासायमा फर्केका छन,’ कडरियाले भने, ‘पदमार्गमा खान र बस्नको समस्या छैन। विदेशी पाहुनाको भीड बढिसकेको छ।’
पदमार्ग खुल्ने पर्खाइमा पाहुनाहरु मनाङका विभिन्न ठाउँमा रोकिएको भएपनि बाटो सुचारु भएपछि पाहुनाले गन्तव्य तय गरेको उनले बताए। उनका अनुसार थोराङला पासको पदमार्ग भने केही सहज भएकोले चारदिन अघि नै खुलिसकेको थियो।
‘यो सिजनको हिमपातले कतिपय विदेशी पर्यटकको पदयात्रा शैली नै बिथोलिएको थियो। केही पर्यटकले पदयात्रा नै गर्न नपाइँ फर्किनुपरेको थियो,’ उनले भने, ‘मौसम खुल्ने दिनको पर्खाइमा रहेका पाहुना भने अहिले उकालो लागिसके। तर, पदयात्रा लागि पर्याप्त समय नभएका पाहुना भने बीचबाटै फर्केका छन।’
अक्टोवरको आगमन पाँचवर्षकै बढी
यो अक्टोवर महिनामा अन्नपूर्ण क्षेत्रमा मात्र ३७ हजार ७६ जना विदेशी पदयात्री गएका छन। अन्नपूर्ण क्षेत्रमा जाने विदेशी पाहुनामध्ये यो अक्टोवर महिनाको आगमन पाँचवर्ष अवधिमा नै सबैभन्दा बढी रहेको एक्यापले बताएको छ। जेनजी आन्दोलन, दसैंताकाको बाढीपहिरोको त्रास र हिमपातका बाबजुत पनि आगमन आकार पाँचवर्ष अवधिमा सबैभन्दा बढी रहेको एक्यापले बताएको छ।
एक्याप प्रमुख कडरियाका अनुसार सन् २०२१ को अक्टोवरमा अन्नपूर्ण क्षेत्रमा ३ हजार ८ सय ६२ जना मात्र विदेशी पाहुना पुगेका थिए। त्यो आकार सन् २०२२ मा २२ हजार ४ सय ७६ पुगेको थियो। सन् २०२३ को आगमन संख्या भने ३० हजार ३ सय ७१ र सन् २०२४ अक्टोवरको आगमन संख्या ३५ हजार ५ सय १९ रहेको थियो।
‘योपटक अक्टोवरको आगमन संख्या ३७ हजार नाघेको छ। त्यो आधारमा पछिल्लो पाँचवर्षमा अक्टोवरको आगमन संख्यामध्ये यो नै सर्वाधिक बढी संख्या हो,’ कडरियाले भने, ‘अन्नपूर्ण क्षेत्रप्रति विदेशीको मोह बढी छ। विदेशी पाहुनाले अन्नपूर्ण क्षेत्रको पदयात्रालाई रुचाउने भएकोले पनि नेपाल आउनका लागि महिनौ अघि बुकिङ गरेका हुन्छन।’
यो अक्टोवरमा अन्नपूर्ण क्षेत्रभित्र भित्रिएका विदेशी मध्ये सार्क मुलुकका पाहुनाको संख्या १३ हजार ३ सय ९९ थियो। बाँकी संख्या तेश्रो मुलुकका विदेशीको रहेको पनि उनले बताए। ‘योपटक विभिन्न अप्ठेरा आइपरेका हुन। पदयात्राको सिजन सुरु हुने बेलैमा जेनजी आन्दोलन भयो। त्यसले आगमनमा असर पारेको हो। धेरै पाहुनाले त नेपाल यात्रा रद्द पनि गरेका हुन। तर पछि अवस्था सहज बनेपछि पाहुना आएका हुन,’ उनले भने। त्यसबाहेक दसैंताको मौसमी चुनौती र पछिल्लो समयको हिमपातले पदयात्रामा केही बाधा अवरोध निम्त्याएपनि पाहुना आगमन उत्साहजनक रहेको उनले बताए।
‘अन्नपूर्ण क्षेत्रको पदयात्रा तुलनात्मक रुपमा सुरक्षित पनि मानिन्छ। सहरी क्षेत्रमा समस्या भएपछि हिमाली क्षेत्र आन्दोलनको प्रभावबाट टाढा रह्यो। त्यसबाहेक दसैंताकाको वर्षाले पनि अन्नपूर्ण क्षेत्रमा असर गरेन। पछिल्लो पटकको हिमपातले केही अप्ठेरो पारेको हो,’ उनले भने, ‘हिमपातको अवधि लामो रहेन। त्यसैले पाहुना आगमन उकालो लागिरहेको अनुमान छ। प्राकृतिक प्रकोपबाट अन्नपूर्ण क्षेत्र पूर्णरुपमा सुरक्षित रहेकोले पनि खासै असर नपरेको हो। हिमपातका बेलामा पनि नराम्रा घटना कुनै घटेनन। त्यसले पर्यटकको घुमघामको आत्मबल बलियो बनायो।’
प्रकाशित: १९ कार्तिक २०८२ १७:५७ बुधबार





