२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

अन्नपूर्ण क्षेत्रको पदयात्राः ‘भारतीय र बंगलादेशी’ नयाँ पाहुना

यूरोपियन र अमेरिकी घट्दै गए, भारतीय र बंगलादेशी थपिदै गएका छन्ः व्यावसायी

अन्नपूर्ण क्षेत्रभित्रको पदयात्रामार्ग। पछिल्लो समय अन्नपूर्ण क्षेत्रभित्रको पदयात्रामा भारतीय र बंगलादेशी पाहुना पनि जान थालेका छन्। तस्बिरः नागरिक

अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनैबेला यूरोपियन र अमेरिकी पाहुनाको बाहुल्यता रहन्थ्यो। लामो समय लगाएर अमेरिकी र यूरोपियन पदयात्रीले पदयात्रा पुरा गर्दथे। पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ। पदमार्गमा मोटरबाटो बिस्तार भएसँगै यूरोपियन र अमेरिकी पाहुनाको आकार खस्केको व्यावसायीले बताउँदै आएका छन्।  

यूरोपियन र अमेरिकी पाहुनाको आकार कमजोर हुँदै गर्दा अन्नपूर्ण क्षेत्रले पछिल्लो समय भारतीय र बंगलादेशी पाहुनालाई भने आकर्षण गर्न सकेको छ। व्यावसायीले अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि भारतीय र बंगलादेशी नयाँ पाहुना भएको बताउन थालेका छन्।

भारतीय धार्मिक पर्यटक पर्याप्त मात्रामा वर्षाै अघिदेखि आएर मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्किने गरेपनि पदयात्राकै लागि भनेर आउने भारतीय पर्यटक भने पछिल्लो केहीवर्षदेखि मात्र बढ्न थालेको व्यावसायीको भनाई छ। धार्मिक पर्यटक पदयात्रामा जाँदैनन्। उनीहरु मुक्तिनाथ पुगेर मन्दिर दर्शन गरेर फर्किन्छन।  

तर, युवापुस्ताका भारतीय पर्यटक भने अहिले मनाङ र मुस्ताङका पदमार्गमा रमाउन थालेका छन। त्यसैगरि बंगलादेशी युवा पुस्ताका पाहुना पनि पछिल्लो समय पदमार्गले पाउन थालेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को तथ्यांकले पनि पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने भारतीय र बंगलादेशी पाहुना बढेको देखाउँछ।  

आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्र घुमघाममा जाने विदेशी पाहुनाको सूँचीमा बंगलादेशका पाहुनाको संख्या उल्लेख छ। अन्नपूर्ण क्षेत्रको भ्रमणमा गएका पाहुनाको संख्याको आधारमा उत्कृष्ट दश मुलुकमध्ये आठौं नम्बरमा बंगलादेशका पाहुना छन्। एकवर्ष अवधिमा बंगलादेशका ७ हजार ४ सय ८४ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए।  

अन्नपूर्ण क्षेत्रमा वर्षभरिमा जाने विदेशी मध्ये सबैभन्दा बढि भारतीय भएपनि पदयात्राकै लागि गएको संख्या भने यकिन नहुने उनले बताए। आर्थिक वर्ष २०८२/८३ मा भारतका मात्र ३ लाख ७५ हजार ७ सय ९७ जना अन्नपूर्ण क्षेत्र गएका छन्। तर ती मध्ये पदयात्राकै लागि भनेर कति गए भन्ने भिन्दै तथ्यांक छैन। तर कडरियाका अनुमानमा अन्नपूर्ण आधारशिविर (एबिसी) मात्र योवर्ष २५ हजार हाराहारीमा भारतीय पाहुना पुगेका छन।  

एक्याप प्रमुख कडरियाले भने, ‘आधारशिविरसम्म उक्लने भारतीयको संख्या अघिल्ला वर्षसम्म कम थियो। तर, यो पटक अधिक नै भएको छ। यसले पनि आगमनलाई उकासेको हो। ती बाहेक बंगलादेशी पाहुनाको आकार पनि पछिल्लो समय थपिँदै गएको छ। ‘पहिलापहिला पदयात्राका लागि भनेर भारतीय आउँदैनथे। बंगलादेशी पाहुना त देख्नै मुस्किल थियो। तर, अहिले पदयात्रा क्षेत्रमा पनि भारतीय र बंगलादेशी पाहुनाको भीडभाड छ,’ उनले भने।  

पदयात्रा व्यावसायी सोम थापा पनि पदयात्रा क्षेत्रले भारतीय र बंगलादेशी पाहुनालाई पाउन थालेको बताउँछन। ‘भारतीय पर्यटक धार्मिक उद्देश्यले मात्र मुस्ताङ पुग्ने गर्दथे। पाको उमेरका ती पाहुनाको उद्देश्य मुक्तिनाथ दर्शन गर्नु थियो। उनीहरु पदयात्रामा जान सक्दैनथे। पदयात्रामा जाने एकाध मात्र हुन्थे,’ उनले भने, ‘तर, अहिले पदयात्रामा भारतीयको भीड बढ्न थालेको छ। बंगलादेशी पाहुना पनि थपिएका छन्।’

व्यावसायीका अनुसार बंगलादेशी पाहुना नेपालकै पर्यटन क्षेत्रका लागि नयाँ छन्। कोरोना भाइरस संक्रमणपछि बल्ल बंगलादेशी पाहुना नेपाल भित्रिन थालेका थिए। अहिले त बंगलादेशी पाहुना पनि पदयात्रामा जान थालेको उनले बताए। ‘अहिले पदयात्रामा बंगलादेशका पाहुनाको आकर्षण छ। उनीहरु युवा पाहुना छन। बंगलादेशमा हिमालको अनुभव लिन नपाउने भएपछि नेपालतर्फ उनीहरुको आकर्षण बढेको हो,’ उनले भने।  

थापाका अनुसार केहीवर्ष अघिसम्म अन्नपूर्ण क्षेत्रको पदमार्गमा यूरोपियन र अमेरिकीको भीडभाड हुन्थ्यो। भारतीय र बंगलादेशी पाहुना देख्न पनि पाइँदैनथ्यो। तर पदमार्गमा सडक बिस्तार भएसँगै यूरोपियन र अमेरिकी पाहुना घट्दै गए। त्यो ठाउँ अहिले बंगलादेश र भारतका पाहुनाले लिन थालेका छन। समग्रमा दक्षिण एशियाली मुलुकका पाहुनाको आकर्षण बढेको उनले बताए।  

‘भारतीय पाहुना धार्मिक हिसाबले मात्र नेपाल आउँथे। तर, अहिले भारतीय युवाको चाँसो साहसिक गतिविधिमा बढेको छ। त्यही भीडमा बंगालादेशी पनि थपिएका छन्,’ उनले भने, ‘भारतीय र बंगलादेशी पाहुना छोटो समयको पदयात्रामा जान्छन। लामो अवधिको यो रुट अहिले मोटरबाटोले गर्दा खुम्चिएको छ।’  

कतिपय पाहुना त हिमाली भेगको पुछारसम्मै आफ्नै गाडीमा जान्छन र पदयात्रा सकेर फर्किने गरेको उनले बताए। ‘छोटो समयमै हिमालको अनुभव गर्न पाउने भएकोले सहज भएको हो। कम समयमा पदयात्रा पुरा हुने भएपनि आकर्षित पनि भएका हुन। पहिला लामो अवधिको पदयात्राका लागि उनीहरु तयार थिएनन। अहिले अवधि कम भएपछि सहज पनि भएको हो,’ उनले भने। बंगलादेशी नागरिकले हिमाली श्रृंखलाको अनुभव स्वदेशमा गर्न नपाउने भएकोले पनि त्यहाँका युवाहरु पैसा बचाएर घुम्न निस्कन थालेको उनको भनाई छ। ‘पाहुनाको सोचाई पनि बदलिएको छ। घुम्नुपर्छ भन्ने सोचाई फेरिएको छ,’ उनले भने।  

पदयात्रा व्यावसायीको छाता संस्था (ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्ण आचार्य पनि पदयात्रा क्षेत्रका लागि भारतीय र बंगलादेशी पाहुनाको आकर्षणले लोभलाग्दो रहेको बताउँछन्। ‘भारतीय बुढापाकाका पाहुना धार्मिक क्षेत्रमा जान्छन। तर युवापुस्ता पदयात्रामा जान्छन। अझ मोटरसाइकमै चढेर मनाङ र मुस्ताङ उक्लिने गरेका छन,’ उनले भने, ‘भारतीयको त्यही भीडमा बंगलादेशी पनि थपिएका छन।’  

पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने पनि भारतीय र बंगलादेशका युवापुस्ताका पर्यटकको ध्यान अहिले पदयात्रामा बढेको बताउँछन। ‘भारतमा पदयात्राको अनुभव लिनै पाउँदैनन, बंगलादेशको अवस्था पनि उस्तै छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्राबारे सामाजिक सञ्जालमा पनि प्रचार भएको छ,’ लामिछानेले भने, ‘हिउँसँगको अनुभव बटुल्नका लागि अहिले युवापुस्ताका पाहुना हिमाली क्षेत्रका उक्लिएका छन।’ भारतीय र बंगलादेशीका लागि हिमाल हेर्ने र नजिक पुगेर अनुभव लिने ठाउँ भनेकै नेपाल बनेकोले पनि यो आकर्षण बढेको उनले बताए।  

‘उमेरले ५० वर्ष माथिका भारतीय पाहुना मुक्तिनाथ जान्छन। त्यो भन्दा तलको उमेरका पाहुनामध्ये अधिकांश अन्नपूर्ण क्षेत्र जान थालेका छन। समय कम हुने पाहुना घान्द्रुक जान्छन। अलि लामो समय बस्ने पाहुना अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मै उक्लिन्छन,’ उनले भने, ‘पदयात्रा क्षेत्रका व्यावसायीले भारतीय र बंगलादेशी पाहुनाबाट लाभ लिन पाएका छन।’ कोभिड पछि पदयात्रामा भारतीय र बंगलादेशीका आगमन बढेको उनले बताए।  

प्रकाशित: १७ श्रावण २०८३ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App