३ वैशाख २०८३ बिहीबार
image/svg+xml
अर्थ

कालिकोटमा गैरकिसानलाई कृषि अनुदान

लामो समयदेखि कृषि कर्ममा लागेका किसानलाई पाखा लगाउँदै कृषि विकास कार्यालय कालीकोटले गैरकिसानलाई कृषि अनुदानमा छनौट गरी योजना दिएको पाइएको छ।

आर्थिक वर्ष २०८२र८३ को स्वीकृत वार्षिक कृषि अनुदान कार्यक्रमअन्तर्गत माघ २० गते निकालेको सूचनाको आधारमा प्रस्तावना पेश गरेका किसानमध्ये  गैरकिसान धेरै मात्रामा छनौटमा परेको पाइएको हो।

नेकपा एमाले कालीकोटका पार्टी सचिव, पूर्व कृषि मन्त्री, एमाले नेता, पुर्व कर्मचारी, पत्रकार तथा एमाले कार्यकर्तालगायतले पहुँचको भरमा वर्सेनि कृषि अनुदान लिने रहेका छन्।

अघिल्लो वर्षमा समेत कृषि अनुदान पाएकालाई फेरि यो पटक पनि अनुदान दिएको पाइएको छ। आधिकारिक फर्म दर्ता तथा फर्मको अवस्था लगाएतका सम्पूर्ण गतिविधिको अनुगमनपछि किसानको छनौट गर्ने प्रक्रिया भए पनि कागजी रूपरेखालाई मात्र ध्यानमा राखी गैर किसानलाई योजना दिएको स्थानीय माधवप्रसाद पाण्डेले बताए।

गैरकिसानको हातमा योजना थमाउने कार्यले गर्दा वास्तविक किसान मर्कामा परेको उनको भनाइ छ। उनले बर्सेनि दोहोरिने गरी कृषि अनुदान दिने  गरेको बताए।

उनका अनुसार फिल्डमा गएका कृषि विकास कार्यालयका कर्मचारी रमाकान्त खनाल, विरेन्द अधिकारी लगायतले प्रत्यक्ष फिल्डमा नपुगी अनुदान कार्यक्रम छनोट परेको आरोप छ।

कृषि विकास कार्यालय कालीकोटका चन्दबहादुर शाहीले अहिको हकमा गैरकिसान कसैलाई मान्न नसकिने बताए। उनले पुर्व कृषि मन्त्री, पार्टी सचिव पनि किसान भएको बताए।

कृषि क्षेत्रमा काम गर्दै आएका किसानलाई निष्पक्ष रूपमा छनौट गर्दै अनुदान प्रदान गर्ने प्रक्रियालाई निरन्तरता दिदै आएका बेला गैरकिसानलाई योजना दिने र कमिसनको खेल गर्ने कर्मचारीको नियतले गर्दा वास्तविक किसान मर्कामा परेका छन्।

किसानलाई राज्यका हरेक सुविधाबाट वञ्चित गरेको  स्थानीयको भनाइ छ। जिल्लामा वास्तविक किसानको निष्पक्ष मूल्याङकन नभएको  किसानले गुनासो गरेका छन्। पहुँचको भरमा कृषि अनुदान लिनेमा नेता, पुर्व मन्त्री, कर्मचारी, पत्रकार रहेको युवा हिक्मतजङ मल्लले बताए।

प्रकाशित: २५ चैत्र २०८२ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App