७ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

एनआरएनए र नेपाल चेम्बरबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ।

साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने विषय पनि समझदारीमा समेटिएको छ।

एमओयूअन्तर्गत एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गर्नेछन्।

त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ।

त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य गरिनेछ।

क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन्।

व्यवसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्नेछन्।

आर्थिक, व्यापार तथा लगानीसम्बन्धी तथ्यांक, बजार सूचना र अनुसन्धान सामग्री आदानप्रदान गरी लगानीकर्तालाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था पनि समझदारीमा समेटिएको छ।

एनसीसीले स्वदेशी व्यवसायीको सहभागिताका लागि आवश्यक व्यावसायिक मञ्च उपलब्ध गराउने, सरकारी निकायसँग समन्वय तथा सहजीकरण गर्ने र नीतिगत संवाद एवं पैरवीमा सहयोग गर्नेछ।

साथै एनसीसीले एनआरएनए, सरकारी निकाय तथा अन्य सम्बन्धित सरोकारवालासँग आर्थिक पैरवी र नीतिगत संलग्नता बढाउँदै व्यवसायमैत्री नीति निर्माण, लगानी सहजीकरण, व्यापार विस्तार र नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउनेछ।

एनआरएनएले विश्वभर रहेका गैरआवासीय नेपाली लगानीकर्ता तथा दक्ष पेशाकर्मीलाई परिचालन गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल तथा साझेदारी विस्तारमा सहजीकरण गर्नेछ।

साथै एनआरएनएबाट अघि बढाइएका परियोजनामा चेम्बरका सदस्यलाई लगानीका लागि प्रोत्साहन तथा सहजीकरण गरिनेछ।

समझदारीअन्तर्गतका संयुक्त परियोजनामा हुने खर्च दुवै पक्षको आपसी सहमतिअनुसार व्यवस्थापन गरिनेछ। आवश्यकताअनुसार संयुक्त परियोजनाका लागि बाह्य स्रोतबाट समेत वित्तीय सहयोग जुटाउन सकिने व्यवस्था गरिएको छ।

एमओयू हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म कायम रहनेछ र दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। कुनै पनि पक्षले ३० दिनको लिखित सूचना दिएर समझदारी अन्त्य गर्न सक्नेछ।

दुवै पक्षको लिखित सहमतिमा आवश्यकताअनुसार एमओयू संशोधन गर्न सकिने तथा उत्पन्न हुन सक्ने विवाद आपसी छलफल र समझदारीबाट समाधान गर्ने व्यवस्था गरिएको छ।

यो समझदारी निजी क्षेत्र, गैरआवासीय नेपाली समुदाय तथा लगानीकर्ताबीच सहकार्य विस्तार गर्दै नेपालमा पूँजी, प्रविधि, ज्ञान र व्यावसायिक सञ्जाल भित्र्याउन महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्षहरू लोकप्रसाद दाहाल, रोजिना प्रधान राई, दिनेश पोखरेल, र रबिन बज्राचार्य, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, महिला संयोजक रश्मी थापा, दोस्रो पुस्ता संयोजक (मिस नेपाल २०२६) दीपमाला ढकाल, सल्लाहकारद्वय यास्मिन सइद बेगम र अर्जुनकुमार श्रेष्ठ, एनआरएनए एनसीसी दक्षिण कोरियाका उपाध्यक्ष निरञ्जन भण्डारी, आईसीसी सदस्य कीर्ति महतो , प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको सहभागिता रहेको थियो।

प्रकाशित: ७ भाद्र २०८३ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App