९ मंसिर २०८३ बुधबार
image/svg+xml
अर्थ

‘भैरहवाबाट दोहोरो हवाई रुटको सहमति ऐतिहासिक उपलब्धि’

फाइल तस्बिर

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

नेपालले विगत १०/१२ वर्षदेखि यसका लागि आग्रह गर्दै आएको जनाउँदै उनले हालसम्म एकतर्फी रहेको ‘काठमाडौं-भैरहवा-लखनउ हवाई रुट’लाई दुईतर्फी बनाउन प्रधानमन्त्री शाहको भारत भ्रमणकै क्रममा नेपाल र भारतबिच सहमति जुटेको बताए। यसअघि चाहेर पनि पाउन नसकिएको भैरहवा क्षेत्रको आकाशबाट हुने हवाई रुटलाई दुईतर्फी बनाउन यसपालिको भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गरे।

अर्थमन्त्री वाग्ललेले यस सहमतिले नेपालको समग्र नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास रहेको बताए। आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि भारत तथा अन्य अन्तर्राष्ट्रिय सहरसँग हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको जानकारी गराउँदै उनले भारतले नेपालको १२५ किमि भूमि किनेको र बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा आएका हल्ला पूर्णत: निराधार, भ्रामक भएको दाबी गरे।

नेपाल र भारतबिच भएको यस सहमतिलाई नेपालको नागरिक उड्ययन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको भन्दै उनले यस सहमतिबाट निर्माण सम्पन्न भएर पनि अपेक्षाकृत रूपमा सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय आकाशको अर्को नयाँ ढोका खुल्ने बताए। 

अर्थमन्त्री वाग्लेकाअनुसार हाल एकतर्फी रहेको यो रुटलाई दुईतर्फी बनाउँदा विमानले दुवै दिशाबाट सो हवाई मार्ग प्रयोग गर्न पाउनेछन्। यसले उडान सञ्चालनमा थप विकल्प उपलब्ध गराउनुका साथै हवाई मार्ग व्यवस्थापनलाई निकै सहज बनाउने अपेक्षा गरिएको छ। अब भैरहवा-लखनउ हवाईमार्ग दुईतर्फी बनेसँगै पश्चिम तथा भारत हुँदै आउने अन्तर्राष्ट्रिय उडानलाई भैरहवाबाट सिधै प्रवेश गर्न र बाहिरिन सहज हुनेछ। 

यसले उडान दूरी, समय र इन्धन लागत घटाएर नेपालका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूको व्यावसायिक सम्भावना र उड्डयन प्रतिस्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ। यस सहमतिअनुसार नेपालले अब भैरहवाबाट प्रवेश गर्ने र सोही रुटबाट बाहिरिने अनुमति पाएको छ। यसले भैरहवालाई मात्र नभएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा सञ्चालनलाई पनि निकै सहज बनाउने उनको भनाइ छ। यसैगरी उनले भ्रमणका क्रममा भारतले दिने दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेजअन्तर्गत ५६ अर्ब रुपैयाँ सोझै अनुदान र एक खर्ब ८४ अर्ब रुपैयाँ ‘लाइन अफ क्रेडिट’ (सहुलियतपूर्ण ऋण सुविधा) रहेको जानकारी दिए ।

भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त एक खर्ब ८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारे। उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र एक खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ‘लाइन अफ क्रेडिट’ले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए।

नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग ‘लाइन अफ क्रेडिट’को व्यवस्था गरिएको उनको भनाइ छ। विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए। यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको जनाउँदै अर्थमन्त्री वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।

उनले १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको स्पष्ट पारे। उनले भारतसँग लिने ऋण डलरमा लिने कि अब भारतीय रुपैयाँमा लिने भन्ने विकल्प पनि खुला रहेको जानकारी दिए। यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको जनाउँदै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको बताए।

यसैगरी सांसदहरूले सुनकोसी-सप्तकोसी आयोजनाबारे उठाएको जिज्ञासामा अर्थमन्त्री वाग्लेले यो नयाँ आयोजना नभई सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको बताए। सुनकोसी-सप्तकोसी हाइ ड्याम आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन स्किमसम्बन्धी अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय (जेपिओ) स्थापना गरिएको जानकारी गराउँदै उनले सो कार्यालयले आयोजनाको अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने लगायतका काम गर्ने म्यान्डेट पाएको बताए। मंगलबारको अर्थ समिति बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन र खारेज गर्ने विधेयक- २०८३’ माथि दफावार छलफल भएको थियो।

प्रकाशित: ९ मंसिर २०८३ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App