११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेश सहकार्य गर्ने सहमति

गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोत व्यवस्थापन तथा सिँचाइ आयोजनालाई प्रभावकारी बनाउन संघ र प्रदेश सरकारबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भएको भेटवार्तामा विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा कुराकानी भएको हो।

भेटमा गण्डकी प्रदेशमा रहेका ऊर्जा उत्पादनका सम्भावना उपयोग गर्दै जलविद्युत् तथा अन्य ऊर्जा आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने विषयमा जोड दिइएको थियो।

त्यसैगरी, नदी नियन्त्रण, तटबन्ध निर्माण र सिँचाइ आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि दुवै सरकारबीच समन्वय आवश्यक रहेको विषयमा छलफल भएको छ।

फेवाताललगायत प्रदेशका अन्य तालहरूको संरक्षण तथा व्यवस्थापनमा पनि संघ र प्रदेश सरकारले संयुक्त रूपमा काम गर्ने विषय उठाइएको थियो।

भेटवार्तामा विकास आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान तथा उपलब्ध स्रोतसाधनको उचित परिचालनबारे समेत छलफल भएको जनाइएको छ।

ऊर्जा र जलस्रोतको पर्याप्त सम्भावना रहेको गण्डकी प्रदेशमा विकास निर्माणका कामलाई गति दिन संघ र प्रदेशबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको दुवै मन्त्रीले जोड दिएका छन्।

प्रकाशित: ११ मंसिर २०८३ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App