२१ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

जुम्लामा बन्दैछ विश्वकै सातौं ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’

जुम्लाको पातारासीमा निर्माण हुने भनिएको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको बाटो अन्ततः नौ वर्षपछि खुलेको छ।

जग्गा अभावका कारण वर्षौंदेखि कागजमै अल्झिएको परियोजनालाई स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएर गति दिएका हुन्।

परियोजनाका लागि पातारासी गाउँपालिका-३ लोठचौरका लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले ६ हजार १ सय २० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले उक्त जग्गाको लालपुर्जा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई हस्तान्तरण गरिसकेका छन्।

यसअघि एक वर्षअघि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यसहितको टोली निर्माणस्थलमै पुगेर पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको नेतृत्वमा जग्गा व्यवस्थापन समिति बनाएको थियो।सोही पहलले अहिले जग्गा सुनिश्चित भएको हो।

२०७४ पुस ३ गते तत्कालीन खेलकुद मन्त्रालयका सचिव महेश दाहालको नेतृत्वमा यो परियोजनाको सम्भाव्यता अध्ययन भएको थियो। तर, जग्गा यकिन नहुँदा वर्षेनि बजेट विनियोजन हुने र खर्च नभएर फिर्ता जाने अवस्था थियो।

गत आर्थिक वर्षमा मात्रै पाँच करोड ६६ लाख रुपैयाँ फ्रिज भएको थियो। तत्कालीन खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले १० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए पनि जग्गा अभावकै कारण त्यो कार्यान्वयन हुन सकेको थिएन।

परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यसको कुल लागत एक अर्ब ५८ करोड रुपैयाँ अनुमान गरिएको छ। हालसम्म दुई करोड ५० लाख रुपैयाँ खर्च भएको छ भने चालू आर्थिक वर्षका लागि ६ करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ।

जग्गा प्राप्तिसँगै बजेट कार्यान्वयनको बाटो खुलेको भन्दै पातारासी-३ का वडाध्यक्ष गोविन्द रावतले अब पनि काममा ढिलाइ भए आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए।

समुन्द्र सतहबाट २ हजार ८ सय ५० मिटर उचाइमा बन्ने यो प्रशिक्षण केन्द्र निर्माणपछि विश्वकै सातौं हाइअल्टिच्युड ट्रेनिङ सेन्टर हुनेछ।

हालसम्म विश्वभर यस्ता केन्द्र ६ वटा मात्र रहेका छन्। यहाँ भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल र एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेलका लागि पूर्वाधार निर्माण हुनेछन्।

साथै, स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, पाहुनाघर र सुरक्षा संरचनासहितको पूर्ण ‘स्पोर्ट्स कम्प्लेक्स’ बनाउने लक्ष्य राखिएको छ।

यो पूर्वाधार बनेपछि पातारासीको पहिचान नै फेरिने दाबी स्थानीयले गरेका छन्। अहिलेसम्म विश्वको उच्च स्थानमा मार्सीधान फल्ने क्षेत्र (छुमचौर) र हिमशृङ्खलाका कारण चिनिएको पातारासी अब अन्तर्राष्ट्रिय खेलग्राम बन्नेछ।

यद्यपि, यति ठूलो संरचना सफल बनाउन पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन। यसको दिगोपनका लागि सडक पहुँच, स्वास्थ्य सेवा, सञ्चार सुविधा र नियमित हवाई उडान जस्ता बहुआयामिक विकास आवश्यक पर्ने सरोकारवालाहरूले औंल्याएका छन्।

प्रकाशित: २१ चैत्र २०८२ १५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App