२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

एडीबीका अध्यक्षले भने: नेपालको नयाँ सरकारलाई सहयोग गर्छौँ

एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले नेपालमा युवा आन्दोलनपछि बनेको नयाँ सरकारलाई सहयोग गर्न आफूहरू उत्साहित रहेको बताएका छन्।

उज्बेकिस्तानको समरकन्दमा आइतबारदेखि सुरु भएको एडीबीको ५९औँ वार्षिक बैठकका क्रममा सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिँदै उनले नेपालसँग सहकार्य बढाउने तयारी भइसकेको जानकारी दिए। “नेपालको नयाँ सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिसकेका छौँ, नेपालको भविष्य राम्रो बनाउन सहयोग गर्न उत्साहित छौँ,” उनले भने।

नेपालमा पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको युवा आन्दोलनबारे बोल्दै कान्दाले एडीबीको भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ नीति रहेको स्पष्ट पारे। “कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य छैन, यदि त्यस्तो भेटियो भने कडा कदम चालिन्छ,” उनले भने।

उनले भ्रष्टाचार नियन्त्रण एक समग्र प्रणाली भएको उल्लेख गर्दै एडीबी मात्र नभई सरकार, कर्मचारी र ठेकेदार सबै पक्षको सहकार्य आवश्यक हुने बताए। “कार्यान्वयन गर्ने निकायसहित सबै पक्ष स्पष्ट र प्रतिबद्ध हुनुपर्छ,” उनले थपे।

प्रकाशित: २० वैशाख २०८३ २१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App