व्यापारीले ललितपुरको मंगलबजारमा गुठी संस्थानका सटरमा भाडा नतिरी रजाइँ गरेका छन्। ललितपुरको मंगलबजार कृष्ण मन्दिर सुन्दरी चोक परिसरभित्र वर्षौंदेखि सञ्चालनमा रहेका गुठी संस्थानको ५६ वटा सटरबाट संस्थानले गत ३२ वर्षदेखि हालसम्म एक रुपैयाँ पनि भाडा उठाउन सकेको छैन। यसबाट संस्थानले मासिक लाखौं रुपैयाँ घाटा व्यहोर्दै आएको छ।
गुठी संस्थानका अनुसार २०५० सालसम्म सटर भाडामा लिएका व्यवसायीहरूले महिनामा निकै नगन्य भाडा बुझाउँथे। एक महिनामा एक सय रुपैयाँदेखि दुई सय रुपैयाँसम्म मात्र बुझाउँथे। त्यो भाडा पनि २०५० सालदेखि बन्द गरे।
संस्थानका अनुसार २०५० सालसम्म पसल सञ्चालकहरूले संस्थानसँग निकै कम रुपैयाँमा भाडा सम्झौता गरेका थिए। २०५० सालदेखि न भाडा बुझाएका छन्, न त सम्झौता नवीकरण गरेका छन्। यसमा पसल सञ्चालकहरूले मनोमानी गरीरहेका छन्।
यता सटर भाडामा लिएका व्यवसायीहरूले संस्थानलाई होइन, बिचौलियालाई भाडा बुझाउने गरेका छन्। उनीहरूले महिनाको १५ हजारदेखि २० हजार रुपैयाँसम्म बिचौलियालाई भाडा बुझाउने गरेको पाइएको छ तर जसको स्वामित्वमा सटरहरू छन्, त्यसको मालिकले भने एक रुपैयाँ पनि भाडा बुझ्न पाएको छैन। यस्तो बेथिति वर्षाैंदेखि हुँदै आएको छ। अब भने संस्थानले यस विषयमा गम्भीर चासो राखेको छ। संस्थानका कार्यकारी प्रमुख (प्रशासक) शैलेसराज कुँवरले संस्थानको स्वामित्वमा मंगलबजार परिसरभित्र रहेका सटरबाट जसरी भए पनि भाडा उठाउने तयारी गरेका छन्। यसका लागि उनले ललितपुर महानगरपालिकाका मेयरसँग पनि कुराकानी राखेका छन्। मेयरले अत्यन्त सकारात्मक जवाफ दिएको उनको भनाइ छ।
‘अब हामी भाडा उठाउँछौ। संस्थानको स्वामित्वमा रहेका सटरहरूको व्यवस्थापन हामी आफैं गर्छौं’, कुवरले भने। संस्थानका अनुसार कृष्ण मन्दिर, मन्दिर परिसर, सुन्दरी चोक वरिपरि रहेको करिब पाँच रोपनी जग्गा गुठी संस्थानको स्वामित्वमा छ। सोही जग्गाभित्र ५६ वटा सटर वर्षौंदेखि सञ्चालनमा छन्। ती सटरलाई अब व्यवस्थित रूपमा सञ्चालन गराउने संस्थानको योजना छ।
चार वर्ष पुराना दस्तावेज डिजिटाइज हुँदै
संस्थानका अनुसार ३/४ सय वर्ष पुराना र राणाकालीन दस्तावेजहरूलाई संस्थानका कर्मचारीहरूले अहिले डिजिटाइज गर्दैछन्। तत्कालीन शासकहरूले मन्दिरको नाममा विभिन्न ठाउँमा जग्गा दिएका ऐतिहासिक प्रमाण र लिखितहरूलाई कर्मचारीहरूले डिजिटल प्रविधिमा उतार्न लागेका छन्। त्यतिबेला शासकहरूले मन्दिर सञ्चालनका लागि मन्दिरको स्वामित्वमा जग्गा दिने गर्थे। त्यसरी दिइएको जग्गा हाल ठाउँठाउँमा अतिक्रमण भइरहेको छ। कुँवरका अनुसार संस्थानले अबदेखि गुठीको अन्य सबै काम कारबाहीलाई पूर्ण रूपमा प्रविधिमैत्री (डिजिटाइज) गर्ने तयारी भएको छ।
विगत दश वर्षदेखि संस्थानमा नयाँ कर्मचारी भर्ना गरिएको छैन। साथै भएका कर्मचारीहरूको पनि वृत्ति विकास गर्न सकिएको छैन। हाल ३५ जना कर्मचारीका भरमा देशभरिका गुठी चलाइएका छन्। निकै कम कर्मचारीबाट संस्थान चलाउन निकै अप्ठयारो परिरहेको हाल कार्यरत कर्मचारीहरू बताउँछन्।
हाल संस्थानसँग १० वटा शाखा कार्यालयहरू छन्। तत्कालै लुम्बिनी र कोसी प्रदेशमा थप नयाँ शाखा कार्यालय खोल्ने तयारी भइरहेको छ। संस्थानमा कुँवर आएपछि संस्थानलाई आवश्यक पर्ने कर्मचारी भर्ना प्रक्रिया अघि बढाइएको छ। कुँवरका अनुसार एक सय ३३ जना नयाँ कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले प्रक्रिया अघि बढाइसकेको छ। कर्मचारी भर्ना गर्ने विषयमा विनियामावली समेत पास भइसकेको छ। कुँवरका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले विनियामावली पास गरेपछि नयाँ कर्मचारी भर्ना गर्न संस्थानलाई बाटो खुला भएको हो।
गुठीयार तथा पुजारीको निःशुल्क स्वास्थ्य बिमा
संस्थानले अब गुठीयार, पुजारी, सन्त, महन्थको निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी गरेको छ। यसका लागि संस्थानले धुलिखेल अस्पतालसँग सहकार्य गर्ने भएको छ। यस काममा अस्पतालका प्रमुख रामकण्ठ मकाजुसँग कुराकानी भइरहेको कुँवरले जनाए।
अतिक्रमित जग्गा फिर्ता
संस्थानले आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमणमा परेको करिब दुई हजार एक सय रोपनी जग्गा फिर्ता गर्न सफल भएको छ।
जग्गा फिर्ता ल्याएको विषयलाई संस्थानका कार्यकारी प्रमुख (प्रशासक) शैलेसराज कुँवरले आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि ठानेका छन्। उनका अनुसार संस्थानले फिर्ता ल्याएको जग्गामध्ये धेरैजसो अदालबाट मुद्दा दायर गरी फिर्ता ल्याइएको छ। केही जग्गा भने अन्य प्रक्रियाबाट फिर्ता ल्याइएको हो।
देशभित्र रहेका राजगुठी तथा छुट गुठीको उचित व्यवस्था गर्ने उद्देश्यबाट संस्थान ऐन, २०२१ बमोजिम गुठी संस्थानको स्थापना भएको हो। संस्थान मातहत हाल काठमाडौं उपत्यकामा कालमोचन, भद्रकाली, पशुपतिनाथ मन्दिर परिसर, भक्तपुर, ललितपुर, धुलिखेल, जनकपुरधाम, जलेश्वर र वीरगन्जमा शाखा कार्यालय रहेका छन्। यसको साथै कुत तथा बाली असुली विभिन्न मालपोत कार्यालयबाट पनि हुने गरेको छ।
हाल मधेश प्रदेश लगायत देशका विभिन्न ठाउँमा गुठी जग्गामाथि अतिक्रमण बढ्दै गएको छ। भइरहेको अतिक्रमण रोक्न, गुठी जग्गा संरक्षण गर्न, संस्थानको आम्दानी वृद्धि गर्न तथा सम्बन्धित मठहरूलाई व्यवस्थित बनाउने उद्देश्यबाट २१ सय रोपनी क्षेत्रफल गुठी तैनाथी जग्गा कानुन अनुसार फिर्ता ल्याइएको र उक्त जग्गा हाल लिजमा उपलब्ध गराइ संस्थानको आम्दानी बढाइएको कुँवरले बताए। उनका अनुसार संस्थानले फिर्ता ल्याउनुअघि सो जग्गा वीरगन्ज, रौतहट, जनकपुर, काठमाडौं, भक्तपुर तथा ललितपुरमा अतिक्रमणमा परेको थियो।
आव २०८१/८२ मा गुठी संस्थान अन्तर्गत विभिन्न जिल्लामा रहेका करिब ४५ रोपनी जग्गा गुठीको नाममा दर्ता गरी गुठी तैनाथी पुर्जासमेत प्राप्त गरिएको संस्थानले जनाएको छ।
यसैगरी करिब ६० रोपनी जग्गा सर्वोच्च अदालतबाट गुठीको नाममा कायम हुने गरी अन्तिम फैसला भइसकेको छ। फैसलापछि उक्त जग्गाको पुर्जा प्राप्त भई प्रचलित कानुनबमोजिम व्यवस्थापनको प्रक्रियामा रहेको संस्थानको भनाइ छ। यसैगरी उक्त आवमा ४० वटा देवस्थलहरूको पुनर्निर्माण तथा जिर्णोद्धार कार्य पूरा भएका र भद्रकाली परिसर र महांकाल मन्दिर परिसर पुननिर्माणको चरणमा रहेको संस्थानले जनाएको छ। यस कामलाई संस्थानले आफ्नो उपलब्धि ठानेको छ।
गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ अनुसार संस्थानले आफ्नो अधिकार क्षेत्रभित्रको जग्गा सम्बन्धी छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।
संस्थानसँग कति जग्गा छ?
हाल मुलुकभर ७० जिल्लामा संस्थानको जग्गा छ। त्यसमध्ये पहाडमा पाँच लाख ६१ हजार ९९० रोपनी तथा तराईमा ६६ हजार ३३० बिघा जग्गा गुठीको नाममा रहेको देखिएको छ।
कुँवरले संस्थानको नेतृत्व सम्हालेपछि विभिन्न सरकारी निकायले प्रयोग गरिआएको जग्गाहरूको स्थान, कित्ता नम्बर तथा क्षेत्रफल तथा आफ्नो स्वामित्वमा रहेको गुठी तैनाथी, गुठी अधीनस्थ, गुठी रैतानी, गुठी नम्बरी र गुठी ऐलानी जग्गाको विस्तृत विवरण तथा मठमन्दिरमा रहेको अमूल्य गरगहना र सम्पत्तिको लगत व्यवस्थित रूपमा राख्ने तयारी अघि बढाएका छन्।
महालेखा परीक्षकको ६२औं प्रतिवेदनले गुठी संस्थानको नाममा रहेका जग्गा तथा सम्पत्तिको अभिलेख र संरक्षण तथा उपयोग गर्ने व्यवस्था मिलाउन संस्थानलाई सुझाव दिएको छ। कुँवरका अनुसार संस्थानले यसै वर्ष गुठी संग्रहालय स्थापना गर्ने तयारीसमेत गरेको छ।
महालेखाको प्रतिवेदनमा जनाइए अनुसार अझै पनि धनुषामा ४३ बिघा ११ कट्ठा, महोत्तरीमा ९८ बिघा आठ कठ्ठा, बारामा २७ बिघा, काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी, पर्सामा सात बिघा, भक्तपुरमा दुई रोपनी, जनकपुर क्षेत्र विकास परिषद् अन्तर्गतका राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमान नगर गुठीलगायतका गुठीहरूको विभिन्न एक हजार एक सय ८८ कित्ता र दाङको नारायणपुरमा रहेको करिब एक सय ५७ रोपनी जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमणमा परेको जग्गा क्रमशः फिर्ता ल्याउँदै जाने संस्थानको तयारी छ।
प्रकाशित: ३० आश्विन २०८२ ०७:३७ बिहीबार

