१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

साहसिक पेशाप्रति बढ्दो आकर्षण

तस्बिरः नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन

साहसिक पेशाका रूपमा चिनिदै आएको हिमाल पथप्रदर्शक (माउन्टेन गाइड) कोर्षप्रति विद्यार्थीहरूको आकर्षण बढ्न थालेको छ। साहसिक र जोखिमपूर्ण पेशा भए पनि पछिल्लो समय हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्या बढ्दै गएपछि यस पेशालाई मुख्य पेशाका रूपमा अबलम्बन गर्नेहरूको संख्या बढ्दै गएको हो।

यही पेशामा आफ्नो भविष्य खोज्न चाहनेहरूलाई लक्षित गर्दै सन् २००५ देखि नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले छुट्टै पाठ्यक्रमको व्यवस्था गरेपछि यसप्रति चासो बढ्दै गएको पथ प्रदर्शक संघका प्रशासकीय अधिकृत सोभित कुँवरले बताए।

‘कोर्षको संवेदनशीलता र तोकिएको तालिम एवम् परीक्षाहरू उत्तीर्ण भएको खण्डमा मात्र विद्यार्थीहरू हिमालको पथ प्रदर्शक हुन सक्षम हुन्छन्,’ उनी भन्छन् ‘नेपालमा डिजाइन भएको कोर्ष व्यावसायिक माउन्टेन गाइडको कोर्ष हो, यो विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय पर्वत गाइड संघद्वारा सबै देशमा त्यही कोर्ष लागु हुन्छ।’

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले दिँदै आएको यो कोर्ष तुलनात्मक रूपमा महँगो र लामो समय लाग्ने भए पनि यस पेशामा भविष्य देख्नेहरूमा आकर्षण बढेको छ।

विद्यार्थीहरूले पाठ्यक्रम अनुसार तोकिएका तालिम र परीक्षाहरू सरासर पास गरेको खण्डमा हिमाल गाइड हुन कम्तिमा ३ वर्ष लाग्छ। यसैगरी अन्तर्राष्ट्रिय हिमाल पथप्रदर्शक प्रमाणित हुन भने ५ देखि ६ वर्षसम्म लाग्छ।

राष्ट्रिय र अन्तराष्ट्रिय हिमाल गाइड हुन राष्ट्रिय पवर्तारोहण पथ प्रदर्शक संघबाट प्रमाणित हुनुपर्छ। यसका लागि सहभागी विद्यार्थीहरूले विभिन्न तालिम तथा परीक्षा पास गर्नुपर्छ। यसो गर्न संघले सबैभन्दा पहिला ३५ दिनको आधारभूत कोर्ष पढाउँछ। त्यसपछि वर्षदिन खाली राखेर एड्भान्स कोर्षको लागि विद्यार्थीहरू तयार हुनुपर्छ। एड्भान्स कोर्ष उत्तीर्ण गरेपश्चात् पर्वतारोही संघले अनुमति दिँदै आएका मध्ये ४ वटा ६ हजार मिटर माथिका हिमाल चढेपछि मात्र आकांक्षी (एस्पाइरेन्ट) गाइड कोर्षको प्रवेश परीक्षामा सहभागी हुन पाइन्छ।

यसका साथै आकांक्षी (एस्पाइरेन्ट) गाइड कोर्षको प्रवेश परीक्षामा सहभागी हुन पाउने अर्को तरिका पनि रहेको छ। जसमा कुनै पनि सहभागीले ८ हजार मिटर माथिको एक हिमाल, ७ हजार मिटरको एउटा हिमाल र ६ हजार मिटरको ३ वटा हिमाल आरोहण गरिसकेका छन् भने आकांक्षी (एस्पाइरेन्ट) गाइड कोर्षको प्रवेश परीक्षमा सहभागी हुन पाउनेछन् तर त्यो भन्दा पहिला संघले दिने २ हप्ताको मध्यवर्ती (इन्टरमिडिएट) कोर्ष भने पूरा गरेको हुनुपर्छ।

आकांक्षी (एस्पाइरेन्ट) गाइड कोर्षको प्रवेशका लागि ३ वटा परीक्षाहरू लिइन्छ। जसमा रक क्लाइम्बिङ टेष्ट तथा अल्पाईन बुट रक क्लाइम्बिङ टेष्ट, आइस क्लाइम्बिङ टेष्ट र बोल्डर वा स्क्राम्ब्लिङ कोर्ष गर्नुपर्ने हुन्छ। रक र अल्पाइन टेष्टको लागि काठमाडौंको विमलनगर र हात्तिवनमा विद्यार्थीहरूले कोर्षका क्रियापलापहरू प्रदर्शन गर्नुपर्छ। यसैगरी आइस र स्क्राम्ब्लिङको लागि दोलखाको रोल्वालिङमा ४५ सय मिटरदेखि ५ हजार मिटर उचाइका हिमालमा कोर्षको क्रियाकलाप प्रदर्शन गर्नुपर्ने हुन्छ। यी सबै टेष्टमा पास भएपछि मात्र विद्यार्थीहरू आकांक्षी (एस्पाइरेन्ट) गाइड कोर्षका लागि योग्य हुन्छन्।

आकांक्षी (एस्पाइरेन्ट) गाइड कोर्षका पहिलो, दोस्रो र तेस्रो गरी ३ चरणहरू हुन्छन्। पहिलो तह (फस्ट कम्पोेनेन्ट) २८ दिन देखि एक महिनासम्मको हुन्छ। जसमा विद्यार्थीलाई पवर्तारोहण सम्बन्धी विभिन्न तालिम दिने तथा कलाहरू सिकाइन्छ। त्यसपश्चात् जाँचमा पास भएपछि दोस्रो चरण (सेकेन्ड कम्पोनेन्ट) मा प्रवेश गर्न पाइन्छ। दोस्रो चरण २ देखि ३ हप्तासम्मको हुन्छ। यसमा भने विद्यार्थीहरूलाई सैदान्तिक कुराहरू सिकाइन्छ। मौसम, हिमाली मैसम, हिमालको इतिहास, भूगोल, नेभिगेसनलगायतका विषयमा अध्ययन गर्नुपर्ने हुन्छ। यो तह पनि पासगरेपछि मात्र तेस्रो चरणमा प्रवेश गर्न पाइन्छ।

तेस्रो चरण (थर्ड कम्पोनेन्ट) मा हिमाल आरोहण तालिम तथा कलाहरूको अध्ययन गराइन्छ। कम्तिमा ३० देखि बढीमा ३५ दिनसम्म हुने यस चरणको परीक्षा पास गरेपछि मात्र सहभागी विद्यार्थीहरू राष्ट्रिय हिमाल गाइड हुन्छन्। त्यसपछि प्रमाणित भएका पर्वत गाइडले व्यावसायिक गाइडको सहायक गाइडका रूपमा २ वर्ष काम गरेपछि संघले लग बुक प्रदान गर्छ। त्यसपछि सहभागी विद्यार्थीले आकांक्षी (एस्पाइरेन्ट) गाइडमा सिकेका कुराहरू लग बुकमा भर्नुपर्छ। साथै ती क्रियाकलाप नयाँ प्रशिक्षार्थीलाई सिकाउनुपर्छ। यसरी पास भएको खण्डमा मात्र सहभागी विद्यार्थीहरू अन्तराष्ट्रिय पवर्तारोहण गाइड संघबाट प्रमाणित भई अन्तर्राष्ट्रिय हिमाल गाइड बन्न सफल हुन्छन्।

यसरी अनेक चरण उत्तीर्ण गरेपछि मात्र सहभागी विद्यार्थीहरू तालिम प्राप्त एवम् दक्ष हिमाल गाइड बन्नसक्छन्। हाल हिमाल गाइड बन्न लगभग प्रत्येक सहभागी विद्यार्थीले १३ लाख रूपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

हाल पथ प्रदर्शन संघबाट प्रमाणित भएका कुल ८१ जना तालिमप्राप्त र दक्ष हिमाल गाइडहरू छन्। जसमध्ये १ जना महिला र बाँकी सबै पुरूष रहेका छन्। स्थापना भएको १७ वर्षमा जम्मा ८१ जना मात्र पथ प्रदर्शकहरू तयार भएको बारेमा अधिकृत कुँवर भन्छन् ‘कोर्षको संवेदनशीलताका कारण उल्लेख्य मात्रामा पथप्रदर्शक उत्पादन हुन सकिरहेका छैनन्। न्यूनतम योग्यता र तोकिएको कोर्स पूरा गर्नैपर्छ, परीक्षा उत्तीर्ण गर्नै पर्छ। हिमालसँग जोडिएको पेशा हो, यसमा जीवन मरणको प्रश्न जोडिएको छ। त्यसकारण जो पायो त्यहीलाई प्रमाणित गर्न सकिँदैन् ।’

सुरुसुरुमा गाइड तालिम दिन विदेशबाट प्र्रशिक्षक ल्याउनु पथ्र्यो भने हाल सबै प्रशिक्षकहरू नेपाली नै रहेका छन्। अहिलेको अवस्थामा नेपाली प्रशिक्षकहरू नै तालिम प्रप्त एवम् दक्ष भएको बताउँदै प्रशिक्षक हरेराम खत्रीले भने ‘पहिलापहिला जस्तो संघले विदेशी प्रशिक्षकहरू ल्याउनुपर्ने अवस्था समाप्त भइसक्यो अहिले नेपाली प्रशिक्षक नै राम्रा, उत्कृष्ट र दक्ष छन्। हामी पथ प्रदर्शक उत्पादन गर्ने सवालमा सक्षम छौं।’ 

प्रकाशित: ३० कार्तिक २०७९ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App