२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘मत बहिष्कार’ गर्ने धम्कीः दल र उम्मेदवारसँग मिटरब्याज पीडित सशंकित

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाको केन्द्र बेलाटारीमा सत्ता गठबन्धनद्वारा तामझामका साथ ठूलै आमसभाको आयोजना गरिएको थियो। जहाँ नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि, अभिनेता भुवन केसीलगायत दर्जनौं नेताकार्यकर्ता सत्ता गठबन्धनका लागि भोट मागिरहेका थिए।

गठबन्धनका तर्फबाट यहाँ प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा अर्बपति विनोद चौधरी र २ मा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल उम्मेदवार छन्। दुबै कांग्रेसका उम्मेदवार हुन्। उनीहरू पनि यही सभामा उपस्थित थिए। सयौं गाडी-मोटर, दर्जनौं कलाकारहरूको उपस्थितिमा सभा आयोजना भएको थियो।

उता एमालेसहितको गठबन्धनका तर्फबाट जनता प्रगतिशील पार्टी(जप्रपा)का अध्यक्ष हृदयेश त्रिपाठी अर्कातिर घरदैलो गर्दै भोट मागिरहेका थिए। बाँकी उम्मेदवारहरूलाई पनि मत माग्ने चटारो उस्तै थियो। उम्मेदवार तथा दलहरूलाई यसरी चुनाव लाग्दा ‘मिटरब्याज’ले आक्रान्त पारेको समुदाय भने ‘अर्कै छलफल’मा जुटिरहेको थियो।

तराई-मधेसलाई आक्रान्त पार्दै लगेको मिटरब्याज समस्याको ‘इपिसेन्टर’का रूपमा यो जिल्ला उदाएको छ। यसैवर्ष प्रतापपुर र सुस्ता गाउँपालिकाका पीडितहरूले काठमाडौं पुगेर महिनौंसम्म आन्दोलन गरेर सरकारको आँखा खुलाएका छन्। सरकारले मिटर ब्याजलाई ‘अपराध’को संज्ञा दिँदै त्यसविरूद्ध कारबाही प्रक्रियाको थालनी गरेको छ।

यही परिप्रेक्ष्यमा निर्वाचनबारे मिटरब्याज पीडितका धारणा खोज्दै हामी प्रतापपुर गाउँपालिका पुग्दा सरवल गाउँपालिका-५ धनगढवामा भेला बसेका रहेछन्। त्यहाँ पुग्दा सुस्ता, प्रतापपुर, सरवल गाउँपालिका र बर्दघाट नगरपालिकाका झण्डै डेढसय जनाबढी मिटरब्याज पीडित भेला भएका थिए। भेला भएका पीडितहरू निर्वाचनकै सन्दर्भमा छलफल गरिरहेका थिए।

‘निर्वाचन आउँदा हामी उत्साहित थियौं। हाम्रा समस्या निर्वाचनकै मुखमा उम्मेदवारसमक्ष राखेर त्यसको समाधानका लागि प्रतिबद्धता लिने हाम्रो योजना थियो,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘तर उम्मेदवार नै सुदखोरले घेरिएका पाइए।

‘निर्वाचन आउँदा हामी उत्साहित थियौं। हाम्रा समस्या निर्वाचनकै मुखमा उम्मेदवारसमक्ष राखेर त्यसको समाधानका लागि प्रतिबद्धता लिने हाम्रो योजना थियो,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘तर उम्मेदवार नै सुदखोरले घेरिएका पाइए।

सुदखोरकै घरमा पार्टीका कार्यालय देखिए ।’ त्यसपछि आफूहरूले मत बहिस्कार गर्ने नीति लिएको उनले बताए। ‘हामीसँग अर्को विकल्प नै छैन। उम्मेदवारहरूका अनुहारमै सुदखोर देखिन थालेपछि कसरी भोट दिने?,’ उनले प्रश्न गरे। मत बहिस्कारको यही सन्देश बोकेर संघर्ष समितिको एउटा समूह यसैगरी जिल्लाभर दौडाहा गरेर मिटर ब्याज पीडितहरूलाई निर्वाचनमा मत नदिन आग्रह गर्दै हिँडिरहेको छ।

पीडितहरूका अनुसार नवलपरासी (बसुप) निर्वाचन क्षेत्र नम्बर १ बाट जित्दैआएका जनता प्रगतीशील पार्टी (जप्रपा)का अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठी पहिल्यैदेखि सुदखोरको संरक्षणमा छन्। पीडितहरू काठमाडौंमा महिनौंसम्म आन्दोलनरत रहँदा उनी एक दिन पनि भेट्न आएनन्।

‘उहाँले त- सिसिबोतलका लागि ऋण लिएकाहरूको मुद्दा म लिन्छु? भन्नुभएको थियो। एनजिओले उचालेको मुद्दा पनि भन्नुभयो तर आन्दोलनबारे बुझ्नसम्म आउनुभएन,’ संघर्ष समितिका प्रवक्ता रहेर सहयोग गरिरहेका निर्ग नवीनले भने, ‘उहाँबाट त यो मुद्दाको सम्बोधन नै हुँदैन्। किनभने अधिकांश सुदखोरहरू उहाँकै संरक्षणमा जो छन्।’

यसक्षेत्रका सबैभन्दा ठूला सुदखोर प्रतापपुर-९ बेलटारीका जगदीश बानियाँ पनि त्रिपाठीकै कार्यकर्ता रहेको पीडितहरू बताउँछन्। जगदीशविरूद्ध २७ जनाभन्दा बढीलाई मिटरब्याजमा ऋण दिएर असुली गरेको आरोप छ। पीडितहरूले सुरूमा त्रिपाठीको विकल्पमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अर्बपती विनोद चौधरीसँग समस्याको आवाजका लागि अपेक्षा गरेका थिए।

निर्वाचन गतिविधि बढ्दै जाँदा सुदखोर नै रहेका जगदीशकै भाइ सुनिल बानियाँ सँगै हिड्नथालेपछि उनीप्रति पनि सशंकित भएका छन्। सुनिलको घरमा सत्ता गठबन्धनको सम्पर्क कार्यालय राखिएको पीडितहरूको दाबी छ।

‘हृदयेशविरूद्धमा शक्तिशाली उम्मेदवार पाइयो, अब उहाँसँग हाम्रा समस्या राखेर समाधानका लागि प्रतिबद्धता जुटाउन सकिन्छ भन्ने सोचेका थियौं,’ संघर्ष समितिका अध्यक्ष कुशवाहाले भने, ‘प्रचारप्रसारमा लागेको यत्रो समय भइसक्यो तर उहाँले अहिलेसम्म पनि हाम्रो मतलबै गर्नुभको छैन। उल्टै सुदखोरकै घरमा कार्यालय राख्ने, उसैलाई बोकेर हिँड्ने स्थिति देखिएपछि उहाँबाट पनि आशा मर्‍यो।’

यहाँ बढीजसो पीडितहरू क्षेत्र नम्बर १ कै बासिन्दा छन्। त्यहाँ प्रतिस्पर्धा पनि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका अर्बपती चौधरी र एमाले र जप्रपा गठबन्धनबाट उम्मेदवार पूर्वमन्त्री त्रिपाठी बीचमै हुने देखिएको छ। क्षेत्र नम्बर २ मा पनि मिटरब्याज पीडितको संख्या उल्लेख्य नै छ।

संघर्ष समितिका अनुसार त्यहाँका अधिकांश पीडितहरू अझै खुलेका छैनन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेसबाट पूर्वगृहमन्त्री कँडेललाई उठाउँदा एमालेले दिपेन्द्रकुमार अधिकारीलाई उठाएको छ। यो क्षेत्रबाट कँडेल अघिल्लो पटक निर्वाचित भएका थिए।

हजारौंको संख्यामा पीडित

जिल्लामा झण्डै तीनहजारदेखि पाँचहजारसम्म पीडित रहेको संघर्ष समितिले जनाएको छ। यद्यपि अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा २२२ जनाले मात्रै उजुरी गरेका छन्। त्यसमध्ये ३८ थान उजुरी फछ्र्योट भइसकेका छन्। अझै थप पाँचसय व्यक्ति उजुरी प्रक्रियामा रहेको संघर्ष समितिले जनाएको छ।

अझै जिल्लाभर हजारौं पीडितहरू रहेको संघर्ष समितिले जनाएको छ। ‘भित्रभित्रै हजारौं पीडितहरू छन्। जो साहुकै डरले खुल्न सकेका छैनन्,’ संघर्ष समितिका प्रवक्ता नवीनले भने, ‘यसबाहेक मुस्लिम समुदायमा नखुल्ने झन् समस्या छ।’ धर्मकै कारण मुस्लिम समुदाय खुल्न डराइरहेको उनले बताए। ‘उहाँहरूको धर्म अनुसार ऋण लिनु र खानु पाप हो भन्ने रहेछ। त्यसकारण अरूलाई थाहा नदिन नखुल्ने समस्या रहेछ,’ उनले भने।

संघर्ष समितिले जिल्लाभरिमा अहिलेसम्म ८७ जना सुदखोरको विवरण पनि फेला पारेको छ। जिल्ला प्रशासन कार्यालयमा ६८ जनाविरूद्ध उजुरी नै परेको छ। जसमध्ये तीन जना पक्राउ परेका थिए ।

समितिका अनुसार सुदखोरले आफ्नो कारोबार संगठित तरिकाले चलाएका छन्। त्यसमा साहुदेखि बिचौलिया सम्मको सञ्जाल छ। ‘बिचौलियाले बैंक, सहकारी र बित्तीय संस्थामा रहेको ऋणप्रवाह र समुदायमा समस्यामा परेका व्यक्तिहरू खोजेर साहु कहाँ पुर्‍याउने गर्छन्। यस्ता बिचौलिया समुदायका अगुवा, शिक्षक तथा कर्मचारीदेखि लिएर जान्ने बुझ्ने र चलाख व्यक्ति नै देखिन्छन्,’ प्रवक्ता नवीन भन्छन्, ‘गरिबको तत्कालको आवश्यकतालाई कमजोरी बनाएर उनीहरूको सम्पत्ति हडप्ने सुदखोरको चाल हुन्छ।’

फकाउने प्रयासमा दल

संघर्ष समितिले मत बहिष्कार गर्ने निर्णय गरेपछि ठूलो संख्यामा रहेका पीडितहरूको मत नखस्ने र त्यसले नतिजालाई प्रभाव पार्ने भएपछि दलहरू फकाउन लागेका छन्। यस्तोमा सत्ता गठबन्धन अग्रस्थानमा देखिएको छ। पछिल्लो समय मिटरब्याजीले गरेको आन्दोलनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले देखाएको चासो र गृहमन्त्रालयले देखाएको तदारूकतालाई गठबन्धनले मुख्य अस्त्र बनाएर फकाउने कोशिस गरिरहेको छ।

‘उहाँहरूले मत बहिष्कारको निर्णय गरेको हामीलाई जानकारी छ। त्यसो नगर्न हामी पटकपटक छलफल पनि गरेका छौं। फेरि पनि गर्छौ,’ नवलपरासी (ब.सु.प)का सभापति अर्जुन पोखरेलले भने, ‘उहाँहरूको पीडा निश्चय नै गम्भीर छ। म काठमाडौंको आन्दोलनमा पनि पुगेको छु। त्यसपछि प्रधानमन्त्रीज्युको मिटरब्याज पीडितलाई न्याय दिलाउन निर्देशन पनि आयो। गृहमन्त्रालयले एक्सन पनि लियो। मिटरब्याजीलाई न्याय दिलाउन हामी प्रतिबद्ध छौं। त्यसैले मतदान गर्न आग्रह गरिरहेका छौं।’

मिटरब्याज पीडितहरूलाई न्याय दिलाउन र सुदखोरलाई कारबाही गर्न कांग्रेस प्रतिबद्ध रहेको क्षेत्र नम्बर २ मा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार कँडेलले बताए। उनले भने, ‘कांग्रेस सुदखोर वा अन्यायी र उत्पीडकलाई संरक्षण गर्छ भन्ने हुँदै होइन्। कोही पीडक कांग्रेसको पछि लागेर हिँडेको छ, भने त्यसको संरक्षण कांग्रेसले गर्छ भन्ने हुँदैन। त्यसैले निर्धक्क भएर मतदान गर्न म आग्रह गर्छु।’

पीडितले कांग्रेसलाई नै मतदान गर्नुपर्छ भन्ने पनि कुनै बाध्यता नरहेको उनले बताए। ‘उहाँहरूले कांग्रेसलाई नै मतदान गर्नुपर्छ भन्ने छैन। निर्धक्क मन लागेको उम्मेदवार र पार्टीलाई मतदान गर्न छुट छ। जसलाई हाले पनि उहाँहरूले न्याय पाउनुपर्छ/पाउनुहुन्छ,’ उनले थपे। उता नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीले मिटरब्याज पीडितको समस्याबारे आफू जानकार रहेको बताए। उनी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार पनि छन्।

‘सुदखोरले वार्षिक ६० प्रतिशतसम्म लिएका छन्। घरजग्गा हडपेका छन्। निकै भयाभय स्थिति छ। यो समस्या राज्यले समयमै सुन्नुपर्छ। म जितेमा यसविरूद्ध लाग्छु पनि’, उनले भने, ‘तर म कहाँ भने मत बहिष्कार गर्छु भनेर कोही आएको छैन। यदि त्यसो हो भने यस्तो अप्रिय कदम नचाल्न आग्रह गर्छु।’ आफूहरूले गरिबपीडकलाई कुनै किसिमको संरक्षण नगर्ने प्रतिबद्धता व्यक्त गरे।

उता पूर्वमन्त्री एवं जप्रपाबाट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका त्रिपाठीले आफू तत्काल यो विषयमा केही नबोल्ने बताए। ‘म अन्य केही विषय भए बोल्छु। यो विषयमा बोल्दिनँ,’ नागरिकसँगको कुराकानीमा उनले भने।

प्रकाशित: २८ कार्तिक २०७९ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App