१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जेठोबुढो धानको मुल्य क्विन्टलको नौहजार

पोखराको बिरौटा फाँटमा धान काट्दै किसान। तस्बिरः उमेश पुन÷नागरिक

राजनीतिक दललाई चुनावी रौनकले छाउँदा किसान भने धान थक्याउन व्यस्त छन्। कात्तिकको अन्तिम साता आईपुग्दा फाँटहरुमा किसान काममा व्यस्त छन्। भोट माग्न किसानकै फाँटमा उम्मेदवार पुग्ने गरेका छन्। चुनावी उत्साहलाई किसानले थाँती राख्दै वर्षदिनको अन्न थन्क्याउनै चटारो छ।  

यो वर्ष कास्कीको धान उत्पादन खासै न त बढ्ने न त घट्ने नै प्रारम्भिक अध्ययनले देखाएको छ। धान थक्याउने चटारोसँगै पोखरा महानगरपालिकाले भने कास्कीको रैथाने जेठोबुढो धानको समर्थन मूल्य पुरानै कायम गरेको छ। महानगरले गतवर्ष नै तोकेको प्रति क्विन्टल नौहजार रुपैयाँ यसवर्ष पनि उही तोकिदिएको छ। प्रति क्विन्टल नौहजार रुपैयाँ समर्थन मूल्य तोकिएको महानगरपालिकाले जनाएको छ।

किसानहरुको लागतलाई ध्यानमा राख्दै गतवर्ष नै लागतको २० प्रतिशत बढाई धानको समर्थन मूल्य तोकिएको पोखरा महानगरपालिकाका कृषि विभाग प्रमुख मनोहर कडरियाले बताए। गतवर्ष बढाउँदै गरिएको समर्थन मूल्य यो वर्ष कायम गरिएको उनले सुनाए। ‘लागत बढ्यो भन्दै बढाउनुपर्ने किसानको माग छ। तर हामीले नौ हजार प्रतिक्विन्टल न्यूनतम मूल्य तोकेका हौं,’ उनले भने, ‘किसानले बढीमा जतिमा पनि विक्री गर्न सक्छन्। मूल्य नघटाउन भनेरै नौहजार रुपैयाँ न्यूनतम मूल्य तय गरिएको हो।’

उनका अनुसार कास्कीका यो वर्ष पानीको पर्याप्तताले पनि धानको उत्पादनमा गिरावट नआउने सम्भावना छ। सिचाँई सुविधा भएको ठाँउमा खासै असर परेको छैन्। तर आकासे पानीको भरमा गरिने खेतीलाई पनि असोजमा पनि राम्रै पानी परेकोले धान उत्पादनमा कुनै असर नपरेकोे फिल्ड भ्रमणको क्रममा देखिएको उनको भनाई थियो। महानगरले कास्कीको रैथाने जेठोबुढो धानको ब्राण्डिङ गर्ने योजना अनुसार किसानलाई अुनदान दिदैं समर्थन मूल्य कायम गर्दै आएको छ। 

महानगरका फाँटहरुमा जेठोबुढो धान रोप्ने किसान भने कमै छन्। हाईब्रिड धान लगाउने प्रचलन बढ्दै गएको छ। हाईब्रिडलाई रसायनिक मलको प्रयोगले हर्लक्कै बढाईदिने र उत्पादन पनि बढी हुने हुदाँ किसान हाईब्रिडप्रति आकर्षित हुदैं गएको उनको भनाई थियो। कास्कीमा १२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदैं आएको तथ्यांक छ। प्रति हेक्टर ३ देखि ४ मुरी धान उत्पादन हुने अनुमान महानगरले गर्दै आएको छ ।

 ‘हाईब्रिड भन्दा रैथाने धानको उत्पादन कम हुन्छ। प्रतिरोपनी हाईब्रिड ५ मुरी उत्पादन हुदाँ रैथाने धान केवल ३ मुरीसम्म हुन्छ’ उनले भने–‘यो वर्ष बढीमा अनुमानित ३९ हजार मेट्रिक टन धान उत्पादन हुने देखिन्छ।’ कोरोनको समयमा भने बाँझो जमिन सबैतिर धान खेती गरिएको थियो। जसले धान उत्पादन बढेको थियो।  

कास्कीमा करीब ५ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो धान किसानले लगाउने गरेका छन्। ‘जेठोबुढो धानको लागि किसानलाई सहुलियत एवं अनुदान समेत दिदैं आएका छौं’ उनले भने–‘धानको बीउ उत्पादन गर्न कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ।’  जेठोबुढो धान विक्रीको लागि सूचीकृति धान कुट्ने मिलले समर्थन मूल्यमा खरीद गर्ने गरेका छन्। किसानलाई गतवर्ष ५ लाख रुपैयाँ अनुदान दिइएको उनले बताए। रैथाने जातका धानलाई प्राङ्गारिक मल नै सुहाउने कृषि विज्ञ बताउँछन्। पोखराको फाँटहरुमा पहेंले, अनदी, जेठबुढो, खोल्टोखोला, रमनी जस्ता धान उत्पादन हुदैं आएको छ।  

प्रकाशित: २५ कार्तिक २०७९ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App