८ वैशाख २०८१ शनिबार
अर्थ

टीकापुर उद्यान पर्यटकको आकर्षणस्थल

दशैं-तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ। पार्कमा विशेषगरी देउसीभैलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन्। यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्छन्। आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्कटक पुग्ने गरेका छन्। पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन्। पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन्।

झापाबाट पार्क घुम्न आएका सुभाष शर्माको परिवारले पार्क निकै रमाइलो मानेको बताए। ‘तिहारमा जम्मा भएका परिवार घुम्न भनेर आएका हौं, टीकापुरपार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ पुगेका हौं, उनले भने, ‘पार्कमा पुगेपछि स्व.राजा महेन्द्र बसेको आवास पनि हेर्‍यौं, पार्क किनारमा कर्णाली बगिरहेको रहेछ। यहाँ पुगेपछि शान्त महसुस हुनुका साथै रमाइलो भयो।’

कपिलवस्तुको चन्द्रौटका हरिप्रसाद सुवेदीको परिवार पनि पार्कमा रमाउँदै थिए। ‘कति रमाइलो ठाउँ रहेछ। राज्य सञ्चालन भएको यो ठाउँ त्यत्तिकै शान्त र सुन्दर रहेछ’, उनले भने, ‘राजा बसेको घरभित्र अवलोकन गर्न पाउनुपर्ने थियो तर पाइएन। साथै घरहरू रंगरोगन गरेको भए हुन्थ्यो।’

नेपालगञ्जबाट कृष्ण रानासहित ४० जनाको समूह पिकनिक खान आएको थियो। उनीहरूले पार्कमै पकाउने खाने गरे। पार्कमा पकाएर खानेहरू त्यही नाचगान गर्ने, फोटो खिच्ने र रमाइलो गर्ने गर्छन्। यसका साथै कर्णाली नदीमा र्‍याफ्टिङको आनन्द लिएर फर्कन्छन्।

निशा उखेडा र उनका ४५ साथी कञ्चनपुरको बेल्झाडीबाट पार्क घुम्न आएकी थिइन्। उनीहरूले पार्कमा अलौकिक आनन्द मिलेको महसुस भएको बताए। ‘स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर चराको आवाज, कलकल कर्णाली बगेको आवाज, चिटिक्क सजाएका घर, फूल बगैंचा देख्दा छुट्टै आनन्द लाग्यो’, उखेडाले भने, ‘त्यसैमाथि र्‍याफ्टिङको आनन्द। धेरै साथीको यात्रामा टाउको दुखेको थियो। यहाँ पुगेपछि सञ्चो भयो।’

बाँके जिल्लाको बासगढीका रामबहादुर चौधरी सिराहा र सप्तरीबाट आएका सम्धी-सम्धिनी घुमाउन पार्क आए। उनीहरूले दिनभरि पार्कमा रमाइलो गरे। ‘पार्क सुन्दर छ। उनीहरूलाई घुमाउनै यहाँ ल्याएको हुँ, रामबहादुर भन्छन्, ‘पार्कमा रहेका रेलिङ मर्मत आवश्यक छ। बगैंचामा फूल थप्न आवश्यक छ। पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ।’

स्थानीय भुवनेश्वर अधिकारी पार्कको विकासमा सबैको ध्यान जानुपर्ने बताउँछन्। ‘पार्कमा भीड हेर्दा रमाइलो लाग्छ, फर्कँदा पीडा हुन्छ।’

उनी भन्छन्, ‘पार्कमा पूर्वाधार विकास गर्न सकिएन। गेट हेर्दा राम्रो छ तर भित्र सरसफाइ लगायतका कार्यमा पछाडि छौं। राजनीतिक दलले पनि पार्क विकासमा ध्यान दिएको देखिंदैन।’

गुलाबको बगैंचा भनेर चिनिने टीकापुर पार्कमा यतिखेर स्थानीय तथा बाह्य पर्यटक भरिभराउ भएका छन्। दशैंतिहारपछि टीकापुर पार्कमा दैनिक सयौं नागरिक पिकनिक खान र घुम्न आउने गरेका छन्। पार्कमा आउनेहरू पार्कमा पकाउने खाने, नाचगान गर्ने, फोटो खिच्ने र बेलुका घर फर्कने गर्दछन्। कतिपय नागरिक पार्क हेर्नकै लागि यहाँ पुग्छन्।

शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी–बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन्। मुटु रोगबाट पीडित भएका राजा महेन्द्रले २०२४ सालमा टीकापुरमा आएर डेढ महिना जति आराम गरेका गरेका थिए। टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौं फर्किए र टीकापुर क्षेत्रमा शहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिएको स्थानीय बताउँछन्।

विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर शहर विकास गर्ने अधिकार सरकारले दिएको थियो। लाखौं लगानी भएका र करोडौं खर्च भइसकेका यी पूर्वाधार टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन्।

त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो। विकास समिति हटेपछि २०६४ साल मंसिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको हो। नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी भने सोचे जति हुनसकेको छैन।

टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ। पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बंगला क्षेत्र, नर्सरी र बगैंचाले करिब १३ बिघा जमिन ओगटेको छ। टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्यगृह, रत्न उद्यान, वीरेन्द्र विश्राम वाटिका, ऐश्वर्य उद्यान लगायत करोडौं रुपैयाँ लागतका पूर्वाधार खडा गरेको हो।

पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्यगृह र विश्राम वाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ। करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउन्टर, पिकनिकस्थल बस्ने चौतारी लगायतका केही पूर्वाधार बने तर बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन।

प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाही पार्क व्यवस्थापनमा असुविधा नहोस् भनी टीकापुर नगरपालिका लागिरहेको बताउँछन्। ‘पूर्वाधार निर्माणमा प्रयासरत छौं। पार्क हाम्रो गौरव मात्र होइन पहिचान पनि हो। पूर्वाधार विकास गर्दै लैजाने हो’, शाहीले भने, ‘गत वर्ष महेन्द्र आरोग्यगृह पुनःनिर्माण गर्‍यौं। यस वर्ष ऐश्वर्य उद्यान पुनःनिर्माण हुन्छ।’

उनी पार्क प्रदेश, संघको पनि गौरव भएकाले पार्कमा संघ, प्रदेशको पनि सहयोग हुनुपर्ने बताउँछन्। ‘सबैले सहयोग गरून् भनी नगरपालिका लागिरहेको छ’,उनले भने, ‘लगानी भएमा पार्कलाई थप व्यवस्थित गर्न सकिन्छ।’ रासस

प्रकाशित: २० कार्तिक २०७९ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App