१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

नेपालीलाई बढी तलब

विज्ञान अधिकारी, काठमाडौं, फागुन ३ – नेपालका लागि प्रमुख रोजगार गन्तब्य मुलुकहरुले तलब बढाएर नेपाली कामदारको माग गरेका छन्। विश्व आर्थिक मन्दीमा सुधार आएपछि बढी तलबसहित नेपाली कामदार माग गर्न सुरु भएको हो।
सबैभन्दा बढी रोजगारमा जाने मुलुकहरु साउदी अरब, मलेसिया, कतार र युनाइटेड अरब इमिरेट्सबाट तलब बढाएर माग आएको छ। यसअघि सरकारले वैदेशिक रोजगारमा जाने कामदारको न्यूनतम तलब वृद्धि गर्न कुटनीतिक प्रयास थालेको थियो।

'यी सबै मुलुकका रोजगारदाताले तलब वृद्धि गरेर माग पठाएका छन्,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव ज्ञानप्रसाद गैरेले नागरिकसँग भने, 'अन्य मुलुकबाट समेत माग आउने क्रम जारी छ।'

उनका अनुसार साउदी अरबमा अदक्ष कामदारका लागि प्रतिमहिना ६ सय रियालभन्दा बढी तलबको माग आउन थालेको छ। यसअघि त्यहाँ जाने कामदारले ५ सय रियाल पाउँदै आएका थिए। यस्तै मलेसियाका रोजगारदाताले दैनिक २१ रिगिंट दिने प्रस्ताव गरेको छन्। केही समय अघिसम्म मलेसियामा कामदारले दैनिक १८ रिगिंट मात्र पाउथे।

व्यवसायीका अनुसार कतारबाट ८ सय रियालको माग आउन थालेको छ। पहिला कतारमा नेपालीले ६ सय रियाल पाउथे। गैरेका अनुसार युएईमा सेक्युरिटी गार्डमा दुई हजार दिरामसम्म तलव दिने प्रस्ताव गरिएको छ।

'मन्दीमा सुधार आउन थालेपछि रोजगारदाताले तलब वृद्धि गर्न थालेका हुन्,' उनले भने, 'यसले विदेशमा जाने र मुलुक दुबैलाई बढी फाइदा पुग्नेछ।'

गैरेका अनुसार पछिल्लो समयमा वैदेशिक रोजगार गन्तब्य मुलुकबाट कामदारको मागसमेत बढी आउन थालेको छ। 'तलब वृद्धि मात्र होइन माग समेत बढेको छ,' उनले भने। व्यवसायीहरुका अनुसार मन्दीबाट सुधार आउन थालेपछि विभिन्न मुलुकमा रहेका बहुर्राष्ट्रिय कम्पनीले उत्पादन बढाउँदै लगेकोले थप कामदार आवश्यक भएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले मन्दीमा सुधार आउन थालेपछि तलब वृद्धिसहितको माग आएको बताए। 'मन्दीको सुधारपछि तलब वृद्धि सहित माग आउन थालेको छ,' उनले भने।

एक महिनाअघि श्रम तथा यातायात व्यवस्था मन्त्रालयले नेपालका प्रमुख श्रम गन्तब्यमा रहेका दुतावासलाई न्युनतम तलब पुनरावलोकनका लागि राय मागेको थियो। श्रमले केही साताअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर साउदी अरब, कुवेत, ओमान, लेबनान, संयुक्त अरब इमिरेट्स(युएई), बहराइन र मलेसियास्थित नेपाली दुतावासको राय मागेको हो। सरकारले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीले १ सय २५ डलर न्युनतम दिनुपर्ने प्रावधान राखेको छ। यो भन्दा कम तलब तोकिए विभागले स्विकृती दिदैन। सरकारले न्युनतम तलब २०६० सालमा तोकेको हो। कामदारको न्युनतम तलब २ सय डलर बनाउन आवश्यक भइसकेको छ । यो अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मूल्यवृद्धि बढेको छ।

जापानबाट कामदारको माग आयो
सिद्धार्थ वुद्ध ओभरसिजले जापानको औद्योगिक प्रशिक्षार्थी कामदारको माग ल्याएको छ। सरकारले १ सय ७१ कम्पनीलाई औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएपछि पहिलो पटक माग आएको हो।

 

वैदेशिक रोजगार विभागका अनुसार यो कम्पनीले ४ जना बेक र कृषिका लागि माग ल्याएको हो। 'सिद्धार्थले चार जना प्रशिक्षार्थीको माग ल्याएको छ,' विभागका महानिर्देशक सापकोटाले भने, 'यसका बारेमा हामी सोधखोज गरिरहेका छौ।'


उनका अनुसार माग वास्तविक हो /होइन भनेर अनुसन्धान भइरहेको छ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले दुई महिनाअघि जापान पठाउने सम्वन्धि निर्देशिका जारी गरिसकेको छ। जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेसन(जिट्को) का वरिष्ठ उपाध्यक्ष सहितको एक टोली हालै नेपाल आएर अभिमुखीकरण तालिम समेत दिइसकेको छ। जापानमा कृषि, निर्माण, हर्टिकल्चर लगायत क्षेत्रमा सम्भावना बढी छ।

नेपाली अदक्ष कामदारले पाउने तलव

कतार : पहिले ६ सय रियाल, अहिले ८ सय रियाल (मासिक)

साउदी : पहिले ५ सय रियाल, अहिले ६ सय रियाल (मासिक)

मलेसिया : पहिले १८ रिंगेट, अहिले २१ रिंगेट (दैनिक)

युएई : २ हजारसम्म सुरक्षा गार्ड (मासिक)

 

प्रकाशित: २ फाल्गुन २०६६ २३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App