सुधारका संकेत देखिए पनि दबाब कायमै देखिएको छ। रेमिटेन्स आगमनमा वृद्धि लगायत अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधारका संकेत देखिए पनि व्याजदर वृद्धि, महँगी लगायतका कारणले अर्थतन्त्र समस्या मुक्त हुन सकेको छैन। तरलता अभाव र उच्च व्याजदरले अर्थतन्त्र कठिन अवस्थामा रहेको उद्योगी, व्यवसायीको गुनासो छ।
रेमिट्यान्स आप्रवाहमा वृद्धि, व्यापार घाटामा कमी, पर्यटक आगमन वृद्धि, शोधनान्तर घाटामा कमी, विदेशी मुद्रा सञ्चितिको घट्दो क्रममा नियन्त्रण, पर्यटक आगमन वृद्धिले सकरात्मक संकेत देखिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए। ‘अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको छ,’ श्रेष्ठले भने, ‘आन्तरिक दबाब घटेको छैन।’ अर्थतन्त्र धेरै बिग्रिन, खस्किन नपाएको उनले बताए। ‘अनुशासित नहुने हो भने जोखिम कायमै छ,’ उनले भने, ‘अझै संकट नआउला भन्न सकिँदैन।’ नेपाल राष्ट्र बैंकले भने अर्थतन्त्रमा दबाब कायमै रहे पनि बाह्य क्षेत्रमा सुधार आएको बताएको छ।
बैंकको चर्को व्याजविरुद्ध निजी क्षेत्र आन्दोलित छ। निजी क्षेत्रले राष्ट्र बैंकले हस्तक्षेप गरेर नियन्त्रण गर्नुपर्ने माग राख्दै आएको छ। कर्जाको व्याजदर र यसले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न उद्योगी, व्यवसायीले दबाब दिँदै आएका छन्। बढ्दो व्याजदरले व्यावसायिक वातावरण बिग्रिएको गुनासो गरेका छन्। रेमिटेन्स वृद्धि, वैदेशिक रोजगारीमा जाने क्रम बढ्नु, आयात रोकिनेलगायतका पक्षलाई सकरात्मक मान्नुपर्ने उनले बताए। वित्तीय साधनलाई उत्पादनमा लगानी गर्नुपर्ने उनको तर्क छ। सहज भएर लगानी गरेर उत्पादन बढाउनुपर्ने श्रेष्ठ बताउँछन्। घरजग्गा, शेयर, आयातित वस्तुमा मात्र लगानी गर्न नहुने श्रेष्ठको सुझाव छ।
अहिले व्याज वृद्धिको विरोधमा मुलुकभरका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। नेपाल राष्ट्र बैंकका अधिकारीले उद्योगी व्यवसायी समस्याप्रति गम्भीर नभएको आरोप लगाउँछन्। ‘उद्योगी, व्यवसायी पनि राजनीतिक कार्यकर्ता जस्ता भए,’ श्रेष्ठले भने, ‘बजारमा नगद आप्रवाह बढ्दा व्याज स्वतः घट्छ।’
युक्रेन–रुस युद्द कायमै रहेको र पेट्रोलियम पदार्थको मूल्य पनि उच्च रहेकाले अर्थतन्त्रको जोखिम कायमै रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। कोभिडपछि आर्थिक गतिविधिमा सुधार आएको भए पनि आन्तरिक दबाब कायमै रहेको छ।
अर्थतन्त्रको बाह्य पक्ष सकरात्मक भए पनि आन्तरिक सन्तुलन मिल्न नसकेको अर्थशास्त्री डा. स्वर्णिम वाग्ले बताउँछन्। विदेशी विनिमयको सञ्चितिप्रति धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनले बताए। ‘अर्थतन्त्र राम्रो हुन बाह्य र आन्तरिक दुवै पक्ष राम्रो हुनुपर्छ,’ अर्थशास्त्री वाग्लेले भने, ‘बाह्य कारणबाट संकट नभए पनि आन्तरिक दबाब कायमै छ।’ कर्जा वृद्धि, घरजग्गा कारोबारमा ब्रेक लाग्नु, निर्यात घट्नु, मूल्यवृद्धि लगायतले अर्थतन्त्रको आन्तरिक पक्षमा चुनौती थपिएको वाग्लेले बताए। ‘आन्तरिक दबाब बढेको छ,’ उनले भने, ‘सरकारले सहजीकरण गर्दै लैजानुपर्छ।’ उद्यमीले सस्तोमा कर्जा नपाउनु, उद्यमको वातावरण नबन्नु, निजी क्षेत्र हतोत्साही हुनु चिन्ताको विषय भएको उनले बताए। ‘अर्थतन्त्रमा कोर्ष करेक्सन भएको हो,’ उनले भने, ‘नयाँ सरकार आएपछि ठीक ट्र्याकमा आउला।’ रुस र युक्रेन युद्धको कारण मूल्यवृद्धिको चाप परेको उनले बताए।
नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा कडाइ गर्दा व्यापार घाटामा कम भएको छ। यद्यपि निर्यात झन् घटेको छ। आयातमा कडाइ गर्दा चालु आवको पहिलो तीन महिना असोजसम्म आयात १६.२ प्रतिशतले घटेको छ। डलर सञ्चितिको दबाबलाई कम गर्न सरकारले चारपांग्रे सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा माथिका मोबाइल, मदिराको आयात मंसिरसम्मका लागि प्रतिबन्ध गरेको छ। सरकारले गत वैशाख दोस्रो सातादेखि नै आयातमा प्रतिबन्ध लगाएको थियो। आयात घट्दा विदेशी विनिमयको सञ्चितिमा राहात पुगे पनि निर्यात पनि घटेको छ। आयात १६ प्रतिशत घट्दा निर्यात ३५ प्रतिशत घटेको भन्सार विभागले जनाएको छ। आयात घट्दा चालु आवको तीन महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रूपैयाँ रहेको छ।
विदेशी मुद्राको सञ्चिति घटरिहेको छ। घट्ने क्रममा कमी भए पनि निरन्तर छ। गत असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति साउनमा ९ अर्ब ४२ करोड डलरमा झरेको राष्ट्र बैंकले जनाएको छ। भदौमा झन्डै ७ करोड डलर घटेर ९ अर्ब ३५ करोड डलरमा झरेको हो। राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा ७.७ महिनाको वस्तु तथा आयात धान्न पुग्ने रहेको छ। विदेशी पर्यटकको आगमन र रेमिटेन्स आप्रवाहमा वृद्धि भएकाले सञ्चिति बढ्ने अपेक्षा गरिएको छ। विदेशी पर्यटकबाट हुने भ्रमण आय ७२.२ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ। पोहोरको सोही अवधिमा यस्तो आय तीन अर्ब ४६ करोड डलर थियो।
रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशत (डलरमा ११.३ प्रतिशत) ले बढेको छ। शोधनान्तर घाटा पनि उच्च मात्रामा घटेको छ। भदौसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब चार करोड रूपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो। गत आवको भदौसम्ममा एक खर्ब ५५ अर्ब ३७ करोड रूपैयाँ विप्रेषण आप्रवाह भएको थियो। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढेकाले सकरात्मक देखिएको छ।
अन्य क्षेत्रमा सुधारको संकेत देखिए पनि मूल्यवृद्धि, बजारमा तरलता अभाव लगायतले चुनौती थपिएको छ। पोहोरको तुलनामा यो वर्ष महँगी दोब्बर बढेको छ। पोहोरको भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि दर) ३.४९ प्रतिशत रहेकोमा यो वर्ष बढेर ८.६४ प्रतिशत पुगेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको छ।
प्रकाशित: १५ कार्तिक २०७९ ०१:४५ मंगलबार