७ वैशाख २०८१ शुक्रबार
अर्थ

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ। गोदावरी नगरपालिका स्थित उक्त चोक  निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो।

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा भएको उक्त नगरपालिकाभित्र क्षेत्रलाई व्यवस्थापनका लागि विभिन्न योजना अघि सारिएको छ। हालै नगरपालिकाले चोकमा ‘हाइमास्ट लाइट’ जडान गरेको थियो। रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै नगरपालिकाले उक्त लाइट जडान गरेको हो।

उक्त लाइटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको छ। ७२ सय वाटको उक्त ‘लाईट टाईम’ सेट गरेपछि आफै खुल्ने र बन्द हुने प्रविधिको छ। अत्तरिया चोकमा  ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ। उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभइ सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जर्गेना गर्ने खालका तस्बिर देखिने जनाइएको छ।

यसका साथै नगरपालिकाले उक्त चोकमा ‘वाटर फाउन्टिङ’ पनि जडान गरेको छ। वाटर फाउन्टिङले चोकको सुन्दरतामा अझ निखार ल्याउने अत्तरिया नगरप्रमुख वीरेन्द्र भट्टले बताए। 'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने,'सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु।'

यसैबीच नगरपालिकाले मंगलबार चोकमा रहेको ‘बिलबोड’ पनि हटाएको छ। २०७५ सालको पुस महिनामा जडान गरिएको उक्त बोर्डले चोकको सुन्दरता बिगारेको बताइएको छ। बिलबोर्ड जडानका लागि २०७४ सालमै क्यालडोन ग्राफिक कम्पनीसँग सम्झौता भएको जनाइएको छ।

चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले चोकमा सिसी क्यामरा, स्थानीय तापक्रम, समय र अन्य विज्ञापन सामग्री डिस्प्ले गरिने जनाइएको थियो। त्यसका साथै कम्पनीले चोकमा रहेको उद्यानको सजावट, ट्राफिक बुथ, सोलार प्रतिक्षालय र सडक लाइट पनि जडान गर्ने सम्झौतमा उल्लेख गरिएको थियो। त्यति मात्रै नभइ चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले नगरपालिकालाई राजस्व तिर्नेसमेत सम्झौतामा उल्लेख छ।

तर सम्झौता अनुसार कम्पनीले काम नगर्दा चोक नै कुरुप बनेको थियो। नगरवासीले चोकको बिलबोर्ड हटाउन पटक–पटक माग राख्दै आएका थिए। नगरप्रमुख भट्टले नगरवासीको माग बमोजिम चोकको बिलबोर्ड हटाइएको जानकारी दिए।

'नगरवासीको धेरै माग भएकाले म निर्वाचित भएर आएदेखि नै मुख्य प्राथमिकतामा यसलाई हटाउने विषय राखेको थिएँ' उनले भने 'सोही अनुसार निर्माण कम्पनीसँग छलफल पनि गरेँ, गत साउन १२ गतेभित्र हटाउने भन्ने निर्णय पनि भयो, तर निर्माण कम्पनीका प्रतिनिधिले ‘माइन्युट’मा हस्ताक्षर नगरी नै निस्किएपछि काम गर्न ढिलाइ भयो।'

उनले बोर्ड हटाउनका लागि निर्माण कम्पनीसँग पटक–पटक पत्राचार गर्दा पनि कम्पनीले अटेरी गरेपछि कानुनविद्सँगको छलफलमा हटाइएको बताए। उनले कम्पनीले सम्झौता अनुसारका कुनै पनि काम नगरेको र नगरपालिकालाई पनि राजस्व प्राप्त नभएको बताए। नगरपालिकाले बिल बोर्ड हटाएकामा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले खुसी व्यक्त गरे।

'बिलबोर्ड राख्ने समयमा पनि एक्लै संघले विरोध गरेको थियो' उनले भने 'त्यतिबेला हाम्रो कुरा सुनिएन, अत्तरिया चोक व्यावसायिक कम्पनीलाई विज्ञापनका लागि जिम्मा दिइएको थियो।' उनले चोकलाई अझ व्यवस्थित बनाउन उद्यानको रङगरोगन गर्ने, चोकमा भएका अव्यवस्थित तार हटाउने लगायतका काम गर्नुपर्ने बताए।

यसैगरी गोदावरी चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष मोहम्मद नईमुद्दिन भाटले नगरवासीको चाहना अनुसार नगरपालिकाले चोकमा रहेको बोर्ड हटाउने कार्य गरेको बताए। उनले भने 'चोकलाई अव्यवस्थित र कुरुप देखाइरहेको बिल बोर्ड हटाइदा चोकको सुन्दरता बढ्ने छ।'

गोदावरी नगरपालिका–२ निवासी राज भट्टराईले चोकको सुन्दरता बिगार्ने बिलबोर्ड हटाइनु एकदमै राम्रो काम भएको बताए। उनले प्रदेशकै प्रवेशद्वारमा रहेकाले चोकलाई अझै व्यवस्थित बनाउन आवश्यक छ भने। 

प्रकाशित: ९ कार्तिक २०७९ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App