१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

चर्काे ब्याजवृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापनपत्र

बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमीव्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रबार ज्ञापनपत्र पेश गरेका छन्।

भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघसंस्थाहरुको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको हो। ज्ञापनपत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष पेश गरेको हो।

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वाञ्छित सिमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तीय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दरसमेत घटाउन सकिने अवस्था रहेकोतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ।

साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ। यसैगरी हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैकबाट पहल हुनुपर्नेतर्फबाट पनि व्यवसायीको माग रहेको छ।

मौजूदा परिवेशबाट सिर्जित चरम मूल्यवृद्धि र उद्योग व्यवसायहरु धमाधम धरासायी बन्दै गरेको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रीय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्नेतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्र पेश गर्ने क्रममा भक्तपुर चेम्बर अफ कमर्ससँगै भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, नेपाल औषधी व्यवसायी संघ, भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ४ कार्तिक २०७९ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App