४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय र प्रतिष्ठानबीच विद्यार्थीहरूलाई सेवा उपलब्ध गराउने विषयमा समझदारीपत्रमा हस्तक्षर भएको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहाल र प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्य संग्रौलाको रोहबरमा समझादरी पत्रमा हस्ताक्षर भएको छ। पत्रमा हस्तक्षर भने विश्वविद्यालयका तर्फबाट क्याम्पस प्रमुख भण्डारी र प्रतिष्ठानकोतर्फबाट अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले गरेका छन्।

प्रत्येक शैक्षिक वर्षमा प्रतिविद्यार्थी अधिकतम १ लाखसम्म उपचार सेवा उपलब्ध हुने क्याम्पस प्रमुख भण्डारीले जानकारी दिए। यद्यपि, कुल उपचार खर्चको १० प्रतिशत रकम भने हरेक विलअनुसार सम्बन्धित विद्यार्थीले व्यहोर्नुपर्ने पनि समझदारी पत्रमा उल्लेख छ। बाँकी रकम भने बिल प्राप्त भएको मितिले १५ दिनभित्र क्याम्पस मार्फत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट प्रतिष्ठानले भुक्तानी पाउनेछ।

विद्यार्थीहरूलाई यो स्वास्थ्योपचार सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबीच २०७१ सालमा समझदारी-पत्रमा हस्ताक्षर भएको थियो। धरानमा भने यो समझदारी पत्रअनुसार कार्यान्वयन हुन ८ वर्ष समय लागेको छ।

स्वास्थ्य बिमा लागु गराउन माग गर्दै महेन्द्र क्याम्पस धरानका विद्यार्थी संगठनहरूले पटकपटक आन्दोलन गरेका थिए। उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए भने केही साताअघि प्रमुख भण्डारीलाई कार्यकक्षमा नै थुनेका समेत थिए। क्याम्पस प्रमुख भण्डारीले स्वास्थ्य बिमा सेवा लागु गराउन विगतमै पहल गरे पनि विविध कारणले ढिलो भएको बताए। ‘क्याम्पसले पहिला नै निरन्तर पहल गर्‍यौ तर विविध कारणले ढिलो भयो। अब विद्यार्थीहरूको माग सम्बोधन भइसक्यो, विद्यार्थीहरूले राहत पाउनेछन्,’ उनले भने।

प्रकाशित: २ कार्तिक २०७९ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App