२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासंघको साधारणसभा सम्पन्न

महिला उद्यमीको हकहितमा निरन्तर पैरवी गर्छौं: ज्ञवाली

राजधानीमा शुक्रबार आयोजित महिला उद्यमी महासंघको उन्नाईसौं वार्षिक साधारणसभामा सहभागीहरू।तस्बिर: नागरिक

महिला उद्यमी महासंघको उन्नाईसौं वार्षिक साधारणसभा सम्पन भएको छ। महासंघकी कार्यवाहक अध्यक्ष शोभा ज्ञावालीको सभापतित्वमा शुक्रबार राजधानीमा भएको साधारणसभामा बेस्ट च्याप्टर अवार्ड र बेस्ट कर्मचारी अवार्ड वितरण गरिएको छ। बेस्ट च्याप्टर अवार्डतर्फ पहिलो चितवन, दोस्रो मोरङ, तेस्रो कास्की र चौथो खोटाङ जिल्लाले पाएको छ भने बेस्ट कर्मचारी अवार्ड जिवेश श्रेष्ठले पाएका छन्।  

महिला उद्यमी महासंघका कार्यवाहक अध्यक्ष ज्ञवालीले देशभर ५९ च्याप्टर स्थापना भएको र केही समयभित्रै ७७ वटै जिल्लामा च्याप्टर स्थापना गर्ने महासंघको उद्देश्य रहेको बताएकी छन्। ज्ञवालीले भनिन्, ‘पहिलो, दोस्रो र तेस्रो भन्दाभन्दै महिला उद्यमी महासंघ बीसौं वर्षमा प्रवेश गर्न सफल हुनु हामी सबैका लागि गौरवको विषय हो। यसका निम्ति महिला उद्यमी महासंघका संस्थापक अध्यक्ष, अग्रज अध्यक्ष तथा सदस्यप्रति हार्दिक आभार प्रकट गर्दछु।’

ज्ञवालीले महांसंघका चार मुख्य उद्देश्यहरू महिला उद्यमीका विविध समस्याबारेमा पैरवी, क्षमता अभिवृद्धि, उनीहरूको स्वामित्वमा रहेका व्यवसायलाई समर्थन र पहुँच विस्तार गर्दै महासंघ आफ्नो स्थापना कालदेखि नै उद्यमशीलतामार्फत राष्ट्रनिर्माण अभियानमा रहेको बताइन्। उनले भनिन्, ‘लैंगिक तथा जातीय आधारमा हुने भेदभाव, असमानता र शिक्षा शक्ति, आर्थिक अवस्था र अन्य तत्वका आधारमा हुने अन्तरविभेदको सामना गर्दै आर्थिक स्वतन्त्रताले असमानता र भेदभावलाई न्यूनीकरण गर्न मद्दत गर्छ भन्ने विश्वासका साथ महासंघले उद्यमशीलतामार्फत महिला सशक्तीकरण गराइरहेको छ।’

महिलाहरूको व्यवसाय अनौपचारिक, लघु र साना उद्योगमा नै सीमित रहेको छ। यस्ता ससाना उद्यम व्यवसायलाई उकास्न, महिला उद्यमीमैत्री नीतिनियम, क्षमता अभिवृद्धिका अवसर, वित्तीय पहुँच, बजार व्यवस्थापन जस्ता विषयलाई मध्यनजर गरेर महासंघले बिजनेस डेभलपमेन्ट सेन्टर (बिडिसी) को अवधारणा ल्याई परिचालन गर्ने निर्णय गरेको छ। बिडिसी कार्यक्रमले महिलालाई उद्यमशीलतामा टेवा दिने मात्र नभई संस्थागत विकासलाई नै दिगो बनाउन मद्दत गर्ने छ।

यस्तै महासंघले महिला उद्यमी जिल्ला संघहरूमा विभिन्न परियोजनामार्फत महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरी आर्थिक सशक्तीकरणका क्षेत्रमा सहयोग गर्दै आएको छ। महासंघले महिला उद्यमी र उद्यमशीलता विकासका लागि नेपाल सरकारलगायत विभिन्न सरोकारवाला निकायसँग पैरवी गरी नीति निर्माण तहमा पनि सहयोग पुर्‍याउँदै आएको र विभिन्न समयमा आउने जोखिम र विपद् न्यूनीकरणका क्षेत्रमा पनि महासंघले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ।  

साधारणसभामा वार्षिक प्रतिवेदन महासंघकी महासचिव महालक्ष्मी श्रेष्ठले प्रस्तुत गरेकी थिइन् भने वार्षिक लेखा प्रतिवेदन कोषाध्यक्ष कुन्दम पोखरेलले प्रस्तुत गरेका थिए। साधारणसभामा धन्यवाद ज्ञापन दर्शना श्रेष्ठले गरेकी थिइन्।

त्यस्तै  महासघंकी संस्थापक शान्ति चड्डा,पूर्वअध्यक्षहरु छाया शर्मा,प्रमिला रिजाल,शारदा रिजाल र रिता सिम्हाको सहभागिता रहेको थियो।  

प्रकाशित: २९ आश्विन २०७९ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App