१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धरानको खानेपानीको लागि गोर्खा वेलफेयर ट्रष्टबाट ३ करोड बढीको योजना स्वीकृत

मेयर हर्क साम्पाङ र गोर्खा वेलफेयर ट्रष्टबीच भेटघाट हुदै। तस्बिर स्रोत: वेलफेयर

धरानको खानेपानीको लागि गोर्खा वेलफेयर ट्रष्टले ३ करोड बढीको अनुदान रकम स्वीकृत गरेको छ।पूर्व ब्रिटिश आर्मीहरुको रेजिमेन्टल एशोसिएशन (नेपाल) पूर्वक्षेत्रको अनुरोधमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्ड खानेपानी योजनाको लागि अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो। 

यसको नेपाली रकम ३ करोड २९ लाख बराबर हो। खानेपानी अभाव धरानको प्रमुख समस्या हो। हरेक चुनावमा राजनीतिक दल तथा उम्मेद्वारहरुले चुनावी एजेण्डा खानेपानीलाई बनाउने गरेका छन्। कम्युनिष्ट गढ मानिएको धरानमा खानेपानीकै एजेण्डा बोकेर वर्तमान मेयर हर्क साम्पाङले गएको वैशाखमा चुनाव जितेका छन् ।

सिनियर वेलफेयर अफिसर पुर्ण लिम्बुका अनुसार मेयर साम्पाङले भूपू सैनिकहरुलाई खानेपानी समस्या हल गर्न अनुरोध गरेको कारण यसपाली एशोसिएशनमार्फत ट्रष्टलाई योजनाको लागि आग्रह गरिएको थियो। ‘भुपुलाहुरेहरुको घना बसोबास भएको धरानमा खानेपानीको समस्याको लागि केही गर्ने सोच थियो। यसपाली प्रमुख ज्युले अनुरोध गर्नुभएपछि काम गर्ने अवसर पायौं,’उनले भने ।

वेलफेयरका अनुसार केही समयअघि ब्रिटिश गोर्खा नेपालका कमाण्डर कर्नेल पौल स्मिथमार्फत एशोसिएशनले ट्रष्टलाई खानेपानीको लागि सहयोग गर्न आग्रह गरिएको थियो। उक्त आग्रह पछि बोर्ड अफ ट्रष्टी डाइरेक्टरहरुको गत साता बैठक बसेर अनुदान स्वीकृत भएको जानकारी स्मिथमार्फत आएको एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले जानकारी दिए। ‘यो अनुदान रकमले धरानको खानेपानी आपूर्तिको लागि आवश्यक संरचना निर्माणमा खर्च गछौं,’उनले भने ।

वेलफेयरका अनुसार आपगाछी क्षेत्रमा पर्ने खर्दुबाट ३ वटा इन्टेक निर्माण हुनेछ भने एउटा कलेक्सन च्याम्बर पनि बनाइनेछ। यस्तै, २.८ किलोमिटर पाइपलाइन विस्तार गरिने ईञ्जिनियर एवं आर.डब्लु.एफ.ई.पि.पि.को पुर्वक्षेत्रीय कार्यालय प्रमुख कृष्णमान गुरुङले जानकारी दिए। यस्तै, फुस्रेस्थित पानी प्रशोधन गर्ने प्रणालीको पनि क्षमता बढाइने उनले बताए। ‘यो योजना १२ महिनाको लागि होइन। बर्षामा पनि जंगलमा बोरिङ गरेर पम्पमार्फत पानी वितरण गर्दा विजुलीको धेरै खर्च भइरहेको छ, त्यो खर्च घटाउन यो योजनाले मद्दत गर्छ,’उनले भने,‘कम्नीमा ५, ६ महिना सहजरुपमा सुद्ध पानी वितरण गर्ने लक्ष्य छ ।’

वेलफेयरका अनुसार डिटेल सर्वे, डिजाइनलगायतको काम एक महिनाभित्र पुरा हुनेछ भने निर्माण कार्य ६ महिनाभित्र सम्पन्न हुनेछ। यसबाहेक भूपू सैनिकहरुकै पहलमा अहिले निशाने सर्दु दोभानमा अढाई लाख लिटरको खानेपानी रिजर्ब ट्यांकी पनि निर्माण भइरहेको छ। गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त ट्यांकी निर्माण भइरहेको छ। धरानमा ४३ हजार ८१५ परिवार बसोबास रहेको छ भने जनसंख्या १ लाख ७३ हजार छ। तीमध्ये गोर्खा पेन्सनरहरुको संख्या ३ हजार ४ सय रहेको वेलफेयरले जानकारी दिएको छ। अधिकांश भूपू लाहुरे तथा परिवारहरु बेलायत, हङकङ गएका छन्।  

धरानमा दैनिक पानीको माग २३ एमएलडी छ। मनसुनमा सतहको स्रोतको क्षमता १६ एमएलडी रहेको छ भने सुक्खा याममा मात्र ४.५ एमएलडि रहेको छ। चारकोशे जंगलमा रहेको १० वटा बोरिङबाट १७.४४ एमएलडी पानी उत्पादन हुने गर्छ। तर, यसको लागि प्रतिमहिना ३५ लाख हाराहारी विजुलीमा मात्र खर्च हुने गरेको छ।

प्रकाशित: १४ आश्विन २०७९ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App