१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पानी नघट्दै सुरु भयो नदी दोहन

ढुंगा, गिठ्ठी र बालुवा अवैधरुपमा लिँदै ट्याक्टर। साथमा अनुगमनमा गएका नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरी। तस्विरः नागरिक

जिल्लाका नदी तथा खोलाहरुबाट ढुंगा, गिठ्ठी र बालुवा अवैधरुपमा चोरी निकासी हुन सुरु भएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अवैध ढुंगा, गिठ्ठी र बालुवा चोरी निकासी गर्ने दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।  

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मंगरबार राप्तीसोनारी–२, स्थित राप्ती नदी र मुगुवा खोलाको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दुइटा ट्याक्टरलाई नियन्त्रणमा लिएको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक चौधरीले जनाए। ‘हामी अनुगमनमा पुगेका थियौं। त्यहाँ दुईवटा ट्याक्टर माल (ढुंगा, गिठ्ठी र बालुवा) लोड गरेर आउँदै रहेछन्,’ उनले भने, ‘हामीले रोक्न खोज्दा एउटा भाग्यो। अर्काे भने लोड धेरै भएकाले भाग्न सकेन।’ उक्त समितिले मंगरबार पाँचवटा क्रसर उद्योगहरुको निरीक्षणसमेत गरेको छ। 

ति क्रसर उद्योगहरुले कागजपत्र नदेखाएको जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति संयोजक चौधरीले जनाए। ‘क्रसर उद्योगमा पुग्दा उनीहरुले हामीलाई क्रसर बैधानिकताको प्रमाणपत्र देखाएनन्,’ उनले भने, ‘क्रसर उद्योग सञ्चालक नभएको भन्दै देखाउन मानेनन्।’ कतिपय उद्योग नवीकरण नभएको उनी बताउँछन्।  

मंगरबारदेखि सुरु भएको अनुगमन केही दिनसम्म चल्ने उनको भनाइ छ। खोलाको दोहन हुन थालेको गुनासो आएपछि अनुगमन सुरु गरिएको भन्दै उनले भने, ‘गुनासाहरु पनि आए।  अनि खोलानाला बचाउने हाम्रो दायित्व र जिम्मेवारी पनि हो।’

प्रकाशित: ४ आश्विन २०७९ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App