१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अरूण तेस्रो जलविद्युत् आयोजनाको निर्माण ६२ प्रतिशत

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको ६२ प्रतिशत निर्माण सकिएको छ। प्रवर्द्धक कम्पनी एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले आयोजना तोकिएको लक्ष्यभन्दा पनि द्रुत गतिमा निर्माण भइरहेको जनाएको छ।

एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ अरूण धिमानले आयोजनाको हाइड्रोमेकानिकल, सिभिल, विद्युत्गृह र इलेक्ट्रोमेकानिकल लगायतको काम एकसाथ भइरहेको बताए। ‘अहिलेसम्म आयोजनाको लक्ष्यभन्दा पनि द्रुुत गतिमा निर्माण भइरहेको छ। हालसम्म परियोजनाको प्रगति ६२ प्रतिशत सकिएको छ,’ उनले भने-‘सम्भवतः तोकिएको समयभन्दा छिटो हुने गरी निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।’ सिइओ धिमानले सार्वजनिक निजी साझेदारी परियोजनामार्फत अघि बढाएको अरूण तेस्रो जलविद्युत् आयोजनाले सोचेअनुसार काम भइरहेको दाबी गरे। प्रवर्द्धक कम्पनीले सन् २०२५ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने कार्यतालिका निर्माण गरेको थियो।

प्रवर्द्धक कम्पनीले सन् २०२३/२४ भित्रै सम्पन्न गर्ने गरी काम गरिरहेको दाबी गरेको छ। सुरुवाती चरणमा १.४४ अर्ब अमेरिकी डलरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि आयोजनाको लागत केही वृद्धि भएर १.६ अर्ब अमेरिकी डलरमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।

यो परियोजनाबाट उत्पादन भएको बिजुली भारत निर्यात गर्ने गरी निर्माण भइरहेको छ। कुल ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले २१.९९ प्रतिशत अर्थात् (१९७ मेगावाट) बिजुली नेपालले निःशुल्क प्राप्त गर्नेछ। सरकारले सो कम्पनीबाट प्राप्त गर्ने बिजुली पनि भारत निर्यात गर्ने निर्णय गरिसकेको छ।

भारतीय प्रवर्द्धक कम्पनी सतलजलाई २५ वर्षसम्मको लागि सञ्चालनको लागि दिइएको हो। सो समयपछि सो परियोजना स्वतः नेपाल सरकारको स्वामित्वमा आउनेछ। सिइओ धिमानले यो परियोजनामा करिब ६४ प्रतिशत कामदार नेपाली रहेको दाबी गरे। ती कामदारमध्ये अधिकांश अर्धदक्ष कामदार मात्रै नेपाली रहेका छन्।

अरूण तेस्रो आयोजनाको लागि ७० मिटर अग्लो ड्याम निर्माण गरिनेछ। ११.७४ किलोमिटर हेडरेस टनेल (मुख्य सुरुङ) निर्माण गरिनेछ। उक्त सुरुङको ब्यास भने ९.५ मिटर रहनेछ। अरूण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले  २०७६ वैशाखमा स्वीच थिचेर शिलान्यास गरेका थिए। एसएपिडिसी र लगानी बोर्डबीच सन् २०१४ नोभेम्बर २५ मा आयोजनाको पिडिए सम्झौता भएको थियो।

आयोजनाले जलविद्युत् उत्पादनको अनुमतिपत्र सन् २०१८ मा र प्रसारणलाइन निर्माणको अनुमतिपत्र २०१९ फेब्रुअरीमा पाएको थियो। आयोजनाको हाइड्रोमेकानिकल, सिभिल, इलेक्ट्रोमेकानिलको ठेक्का सन् २०१८ मा भएको थियो। कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सबस्टेसनसम्म २ सय १७ किलोमिटर ४०० केभीको प्रसारण लाइन निर्माण गर्नेछ। प्रर्वद्धक कम्पनीका अनुसार अहिलेसम्म यो प्रसारण लाइनतर्फको प्रगति हालसम्म २१ प्रतिशत भएको छ। दुई सय २५ मेगावाट क्षमताको चारवटा युनिटबाट नौ सय मेगावाट बिजुली उत्पादन गरिनेछ।

कुल लगानीको ३० प्रतिशत प्रवद्र्धक एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीको स्वपुँजी, ६० प्रतिशत भारतका पाँच बैंकको र बाँकी १० प्रतिशत नेपालका दुई बैंकको कर्जा रहनेछ। यो परियोजनाको वित्तीय व्यवस्थापन २०७६ माघ २३ मा भएको थियो। यो परियोजनामा नेपालका दुईवटा बैंकको १० प्रतिशत लगानी रहने कम्पनीले जनाएको छ। नबिलले चार अर्ब ८८ करोड र एभरेस्ट बैंकले आठ अर्ब १२ करोड रूपैयाँ लगानी गर्नेछन्।

‘नेपालको हालसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेका हौं। त्यसैले व्यवस्थित ढंगले निर्माण सम्पन्न गरेर उदाहरणीय बन्न चाहेका छौं’-उनले भने। यो प्रवद्र्धक कम्नीको माउ कम्पनी सतलज जलविद्युत् निगम लिमिटेडले सन् २०२३ सम्म पाँच हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

‘हाम्रो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ,’ सिइओ धिमानले भने-‘सन् २०४० सम्म २५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य छ।’

सतलज भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर भएको कम्पनी हो, जसमा हिमाञ्चल प्रदेशको २५.५१ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर छ।

अरूण तेस्रो परियोजना तीन दशक अघि नेकपा एमालेको अवरोधको कारणले निर्माण कार्य रोकिएको थियो। तीन दशकअघि दातृ निकाय विश्व बैंकले चार सय मेगावाट क्षमतामा निर्माण गर्ने तयारी गरेको थियो तर एमालेको विरोधकै कारणले विश्व बैंक लगानी गर्नबाट पछि हटेको थियो । 

प्रकाशित: ३१ भाद्र २०७९ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App