१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

संकटमा ठमेलको व्यवसाय

विगत आठ वर्षदेखि ठमेलमा ट्रेकिङ पसल गर्दै आइरहेका ३३ वर्षीय नवराज न्यौपानेलाई अहिले पसलको भाडा तिर्न कठिन भइरहेको छ। ज्याकेट, ब्याग, जुत्ता, ट्राउजर, टोपी, वाटर बोटललगायतका सम्पूर्ण ट्रेकिङ सामान किन्न र भाडामा लिन मिल्ने उनको पसलमा कोभिड अघिसम्म निकै राम्रो व्यापार थियो। सन् २०१९ को अन्त्यतिर आउटब्रेक भएको कोभिडले थलिएको उनको व्यापार अझै सामान्य भएको छैन्।  

‘सिजन आए पनि व्यापार छैन, कोभिडले थला परेको व्यापार तङ्ग्रिन नपाउँदै रसिया–युक्रेन युद्धले झन् मारमा पर्‍र्यो हामी व्यवसाय गर्नेलाई’ नवराजले मलिनु अनुहार लाउँदै भने। उनी सरकारसँग गुनासो गर्दै भन्छन्–‘अलिअलि आएका पर्यटकहरू पनि पैसा खर्च गर्दैनन्, झन् रसिया–युक्रेन युद्ध पछि त पर्यटकहरूको किनमेल गर्ने बानीमा एकदमै कमी आएको छ। सरकारले खर्च गर्ने पर्यटकीय नीति ल्याउनुपर्‍र्यो, नत्र त हामी के गर्ने?’

यस्तै कस्मिरका फयाद अहमद मियरको पनि व्यापारको अवस्था उस्तै छ। ठमेलमा २५ वर्षदेखि कस्मिरी कार्पेट, कपडालगायतका व्यापार गरिरहेका उनको व्यापार ३ वर्षदेखि घाटामा रहेको बताउँछन्। ‘व्यापार संकटको यत्रो समय भइसक्यो– अझै पुरानो लयमा फर्कन नसकेको’ गुनासो गर्दै उनी भन्छन्– ‘अहिले अलिअलि टुरिष्ट आएको त छ तर सामान नै किन्दैन्, खान र डुल्नको लागि मात्र आए, किन्नका लागि आएकै छैनन् ।’ उनी थप्छन्– ‘धन्न लकडाउनको समयमा घरबेटीले २ वर्षको भाडा आधा मात्र लिए हैन भने अहिले के अवस्था हुन्थ्यो मेरो ! सास भइन्जेल आश हुन्छ भन्छन् हो त्यही आशले बाँचेको अवस्था छ ।’

सन् २०१९ को अन्त्यतिर आउटब्रेक भएको कोभिडले विश्वलाई नै अस्तव्यस्त बनायो। अहिलेसम्म पनि यसको आउटब्रेक रोकिएको छैन् र कहिले रोकिने त्यो पनि निश्चित छैन्। सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने भएका कारण मानिसहरूको चहलपहल बन्द भयो। फलस्वरूप पर्यटन उद्योग नराम्ररी प्रभावित भयो। सन् २०२० र २०२१ दुई वर्ष पर्यटन क्षेत्र लगभग ठप्प जस्तै भयो। पर्यटन व्यवसायीहरू नराम्ररी थलिए। दुई वर्ष पश्चात् विस्तारै गति लिइरहेको पर्यटन क्षेत्रमा रसिया र युक्रेन युद्धले व्यवसायीहरूलाई पुनः प्रत्यक्ष र परोक्ष ढंगले प्रभावित पारिरहेको छ ।

ठमेलकै अर्का व्यापारी शम्भु अधिकारी भन्छन्– ‘अलिअलि आउने ग्राहकहरूले खोजेको सामान पनि केरूङ नाकामै अड्किएको छ, नाका बन्द भएर पनि व्यापार कमी भयो ।’ उनी पहिले–पहिले पर्यटहरूले विन्डो सपिङ निकै गर्ने गरेकोमा आजकल निकै कम गर्ने बताए। उनी भन्छन्–‘पहिले दिनमा १ लाखको बिक्री हुन्थ्यो भने अहिले मुस्किलले १० हजारको व्यापार हुन्छ ।’

सन् २०२२ फेब्रुअरीदेखि सुरू भएको रसिया–युक्रेन युद्धले पनि व्यापारीहरूमा थप समस्या थपेको उनीहरूको दाबी छ। युद्धको कारण रसिया र युक्रेनबाट आउने पर्यटकमा कमी भएको मात्र होइन, सामानको मूल्य तथा हवाई भाडादर पनि वृद्धि भएको छ। जसले व्यापारी र ग्राहकलाई थप मर्कामा पारेको छ।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले कोभिडले थला परेको नेपालको पर्यटन क्षेत्रलाई रसिया–युक्रेन युद्धले प्रभावित पारेको बताए। नेपालमा आउने विभिन्न राष्ट्रका पर्यटकहरूमा रसियाका पर्यटकहरू धेरै खर्च गर्ने र भिआइपी भएको बताउँदै उनले भने ‘रसिया–युक्रेन युद्धले पर्यटकको आगमनमा प्रत्यक्ष÷परोक्ष प्रभाव पारेको छ। यसले व्यापारीहरूलाई मर्कामा पारेको नकार्न सकिदैन किनकि रसिया र युक्रेन दुबै मुलुकका पर्यटकहरू खर्चालु पर्यटकमा पर्दछन् ।’

गत अगष्ट महिनाको तथ्याङ्क अनुसार रसियाबाट २ सय ४९ जना पर्यटक आएका छन् भने सन् २०१९ मा ३ सय २४ जना रूसी पर्यटक आएका थिए। तथ्याङ्क अनुसार २०१९ को तुलनामा २०२२ मा २३.१ प्रतिशतले कमी आएको छ। यस्तै युक्रेनबाट सन् २०१९ मा १ सय ३३ जना पर्यटक आएका थिए भने यस वर्षको अगष्टमा ७७ जनापर्यटक मात्र नेपाल आएका छन्। यो पहिलेको भन्दा ४२ प्रतिशत भन्दा बढीले ह्रास आएको स्थिति हो।  

यसका साथै केरूङ नाकाको अघोषित बन्दले पनि व्यापारीका सामान नाकामै अड्किएका छन्। नाकामा महिनौंदेखि सामान अडकिएपछि नयाँ सामानहरू आउन सकेका छैनन्। पसलमा उही पुरानै सामानहरू भएका कारण पनि पर्यटहरू सामान किन्न त्यति लालायित नभएको व्यापारीहरू बताउँछन्। कोरोनाको कहरबाट बल्लबल्ल उक्सिरहेका व्यापारीलाई ८ महिनादेखि चलिरहेको रसिया–युक्रेन युद्धले थप मर्कामा पारेको छ। व्यापारीको सो मर्कामा झन् समस्या थप्ने काम केरूङ नाकाको अघोषित बन्दले गरेको छ।  

कोरोन महामारी, रसिया–युक्रेन युद्ध र केरूङ नाकामा भएको अघोषित बन्दले लामो समयसम्म व्यापारमा मन्दी छाउँदा व्यापारीहरू समस्याको चाङ्मा डुबेका छन्। अलिअलि आएका पर्यटहरू पनि पहिल्यै जस्तो खर्च नगर्ने भएका छन्। खर्च नगर्ने पर्यटकहरूका कारण ठमेलका व्यापारीहरू चिन्तित छन्। यसैले उनीहरू खर्च गर्ने पर्यटक भित्र्याउन सरकारले योजना बनाउनु पर्ने बताउँछन्।  

पर्यटन बोर्डका निर्देशक लामिछानेले हाल सरकारले पर्यटनको गुणस्तरलाई मात्र ध्यान दिन नसक्ने बताए। उनले अहिलेको अवस्थामा संख्या र गुणस्तर दुवैलाई ध्यान दिनुपर्ने बताउँदै भने ‘हाम्रो मुलुकको हालको अवस्थामा गुणस्तरलाई मात्र ध्यान दिई संख्यालाई नजरअन्दाज गर्न सक्ने स्थिति छैन्। पहिला धेरै भन्दा धेरै संख्यामा पर्यटक भित्र्याउ त्यसपछि गुणस्तरमा पनि काम गरौला ।’

पर्यटन बोर्डको तथ्याङ्क अनुसार यस वर्ष जनवरीदेखि अगष्टसम्मको अवधिमा हवाईमाध्यमबाट ३ लाख ३६ हजार ६ सय ३७ जना पर्यटक भित्रिएका छन्। विश्वव्यापी समस्याको बाबजुद पनि आठ महिनाको अन्तरालमा भित्रिएका पर्यटकको संख्यालाई राम्रो संकेत मान्न सकिए पनि उनीहरूले पैसा खर्च नगर्दा साना पर्यटकहरूलाई लक्षित गरी खोलिएका साना तथा मझौला ट्रेकिङ तथा नेपाली हस्तकला व्यापार रिकभर नहुँदा व्यवसायी मर्कामा परेका छन्। 

प्रकाशित: ३० भाद्र २०७९ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App