१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘झारा टार्न’ नाका खोल्दै चीन

कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ‘झारा टार्न’ भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो।

चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको भेटमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले बिहीबारदेखि नै सीमा नाका खोल्ने बताएका छन्। नाका बन्द गर्दा अन्तर्राष्ट्रिय रूपमा गलत सन्देश गएकाले चीनले नेपाल आउन मालसामान बोकेर हिँडेका तर चिनियाँ भूमिमै रोकिएका कन्टेनर छाड्न नाका खोल्न लागेको हो।

ट्रान्जिटमा रोकिएका सामान मात्र पठाउनेगरी चीनले बिहीबारदेखि नाका खोल्न लागेको जानकारी अनौपचारिक रूपमा भन्सारका अधिकारीलाई आएको छ। चिनियाँ पक्षले ट्रान्जिटमा रोकिएका सामान पठाउने भन्ने सूचना आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए। ‘अहिले रोकिएका सामान मात्र पठाउने भन्ने सूचना आएको छ,’ उनले भने, ‘बिहीबारबाट चीनतर्फ रोकिएका गाडी छुट्छन्।’

चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनर छाडेर मात्र पठाएर समस्याको समाधान नहुने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। नाका बन्द गर्दा गलत सन्देश गएकाले झारा टार्न रोकिएका सामान पठाउन मात्र नाका खोल्नु दुःखद भएको ती अधिकारीले बताए। ‘चीनले विभिन्न बहाना बनाएर नाका बन्द गर्दै आएको छ,’ ती अधिकारीले भने, ‘अहिले झारा टार्नेगरी नाका खोलेर रोकिएका सामान पठाउने भनेको छ।’ चिनियाँ जनकंग्रेसका अध्यक्ष ली नेपाल आएपछि तातोपानी नाकाबाट लसुन र स्याउ आएको तातोपानी भन्सारका अधिकृत लक्ष्मण बास्तोलाले बताए। ‘अहिले बाटोमै रोकिएका सामान मात्र छाड्ने भनिएको छ,’ उनले भने।  

चीनले दुई मुलुकबीचका प्रमुख व्यापारिक नाका तातोपानी–खासा र रसुवागढी–केरुङ बन्द गर्दा नेपाली व्यवसायी ठुलो मर्कामा परेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार भूपेरिवेष्टित मुलुकलाई पारवहन सुविधामा अवरोध गर्न नपाइने भए पनि चीनले विभिन्न बहाना बनाएर बन्द गर्दै आएको छ।  

भूपेरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गर्दै आएको छ। सन् २०१६ मा नेपाल र चीनबीच पारवहन सम्झौता समेत भएको थियो। नेपालले चिनियाँ सडक मार्ग हुँदै समुद्रसम्मको पहुँच सुविधा पाए पनि यसलाई पूर्ण उपयोग गर्न पाएको छैन। सीमा नाका खुला गर्दा ‘फ्री तिब्बत’ गतिविधि बढ्न सक्ने बुझाइका कारण चीनले विभिन्न बहाना बनाएर नाकामा कडाइ गर्दै आएको हो। भूकम्पपछि सुरु भएको चीनको व्यापारिक अवरोध अहिलेसम्म विभिन्न बहानामा भइरहेको छ।

भूकम्पपछि नेपालले आफ्नोतर्फको सडक मर्मत गरे पनि चीनले तातोपानी नाका खोल्न चासो दिएको थिएन। त्यसपछि खुलेको नाका कोभिडको बहानामा धेरै समय बन्द भयो। गत महिनादेखि फेरि बन्द छ।

गत आर्थिक वर्षमा चीनबाट २ खर्ब ६४ अर्ब रूपैयाँको सामान आयात भएको थियो। नेपाली व्यवसायीका सामान बोकेका सयौं कन्टेनर चीनतर्फ रोकिएका छन्। लत्ताकपडा, मोबाइल, जुत्ताका कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर चिनियाँ भूमिमै रोकिएको व्यापारी बताउँछन्। दुईवटा नाकाबाट विगतमा दैनिक साढे दुई सयसम्म कन्टेनर आउने गर्थे। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०/४२ दिन लाग्छ। तातोपानी र केरुङ हुँदै सामान आयात गर्दा आधा समय कम लाग्ने भएकाले व्यापारी यतैबाट ल्याउन चाहन्छन्।

प्रकाशित: ३० भाद्र २०७९ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App