१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्ग: १३ वर्षमा ९५० किमि कालोपत्रे

सरकारले निर्धारण गरेको समयसीमाभित्र हुलाकी राजमार्गको निर्माण सम्पन्न नहुने भएको छ। आव २०६६।६७ देखि सुरु गरेर आव २०७९।८० सम्ममा अर्थात् १३ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखेको  हुलाकी राजमार्गको काम अहिले सम्ममा ९५० किलोमिटर मात्र कालोपत्रे भएको छ। हुलाकी राजमार्गको निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष मात्र बाँकी रहेको छ। काम भने अझै ८४२ किलोमिटर कालोपत्रे गर्न बाँकी नै रहेको छ।

तराई क्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा विकास गर्ने उद्देश्यले १७ सय ९२ किलोमिटर सडक र २ सय १९ वटा पुल निर्माण गर्ने योजना अघि सारिएको थियो। तर, चितवन राष्ट्रिय निकुञ्ज, नवलपरासीको मध्यवर्ती तटीय क्षेत्र, त्रिवेणी, कपिलवस्तु, दाङ र बर्दिया लगायतका विभिन्न ठाउँमा विवादको कारणले हुलाकी राजमार्गको सडकको ठेक्का लगाउन अझै सकिएको छैन।  

हुलाकी राजमार्ग निर्देशनालयका कामु आयोजना निर्देशक धमेन्द्रकुमार झाले राष्ट्रिय निकुञ्ज लगायतका सीमावर्ती क्षेत्रमा सडकको ईआईए स्वीकृत नहुँदा करिब ३ सय किलोमिटर सडकको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताए।

‘निकुञ्ज लगायतका क्षेत्रमा करिब तीन सय किलोमिटर सडक ठेक्का प्रक्रिया अघि बढ्न सकेको थिएन,’ उनले भने– ‘ती क्षेत्रमध्ये चालु आर्थिक वर्षमा दाङ, बाँके र बर्दिया लगायतका जिल्लाका यो आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।’  

निर्देशनालयका कामु आयोजना निर्देशक झाले हुलाकी राजमार्ग अन्तर्गतका सडक करिब २ वर्षको अवधिमा निर्माण सम्पन्न हुने दाबी गरे । ‘संशोधित कार्यतालिका अनुसार चालु आर्थिक वर्षभित्रै यो आयोजनाको काम सम्पन्न हुनुपर्ने हो,’ उनले भने– ‘विभिन्न ठाउँमा ठेक्का प्रक्रिया अघि नबढेकाले पनि थप म्याद थप्नुपर्ने बाध्यता आएको हो।’  

निर्देशनालयका कामु आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले हालसम्म हुलाकी राजमार्गको १७ सय ९२ किलोमिटरमध्ये ९ सय ५० किलोमिटर सडक कालोपत्रे भएको बताए। ‘गत आर्थिक वर्षसम्म ८ सय ९१ किलोमिटर सडक कालोपत्रे भएको थियो तर चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा थप ५९ किलोमिटर सडक र १५ वटा थप पुल निर्माण सकिएको छ।

यो अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये गत असार मसान्तसम्मको अवधिमा भने ८ सय ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। हुलाकी राजमार्गमा पर्ने दुई सय १९ पुलमध्ये गत असार मसान्तसम्मको अवधिमा एक सय १५ वटा पुल निर्माण सम्पन्न भएको सडक विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ। हुलाकी राजमार्गको गत असारमसान्तसम्मको अवधिमा समष्टिगत  भौतिक प्रगति ६१.१२ प्रतिशत र वित्तीय प्रगति ८०.१३ प्रतिशत भएको छ। यसका लागि ५२.१८ अर्ब खर्च भएको छ।

राजमार्गले गत आवमा वार्षिक लक्ष्यको ९१ प्रतिशत भौतिक प्रगति र ८७.९७ प्रतिशत वित्तीय प्रगति गरेको छ। सडक विभागको वार्षिक प्रतिवेदनले पनि गत आवमा हुलाकी राजमार्गको सन्तोषजनक प्रगति भएको जनाएको छ।  

हुलाकी राजमार्गले गत आर्थिक वर्षमा १४० किलोमिटर सडक कालोपत्रे र १८ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। आयोजनाले गत आवमा एक सय ४६ किलोमिटर सडक कालोपत्रे र १६ वटा पुल निर्माण सम्पन्न गरेको छ। हुलाकी राजमार्गका लागि गत वर्षमा ८ अर्ब २३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो।  

सो बजेटमध्ये आयोजनाले ७ अर्ब २४ करोड रूपैयाँ बजेट खर्च गरेको छ। यो आयोजनाले तराई–मधेशका २१ जिल्लालाई जोड्ने गर्दछ। सरकारले १३ वर्षअघि तराईका ग्रामीणभेगसम्म सडक सञ्जाल विस्तार गर्ने गरी तराई मधेशको लाइफलाइन सडकको रूपमा हुलाकी राजमार्गको अवधारणा  ल्याएको थियो।  

आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न नहुँदा आयोजनाले सोचेअनुसारको जनताको जनजीविकामा परिर्वतन ल्याउन सकेको छैन्। सरकारले तराईका ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापरीकरण, गरिबी निवारण, सडक सन्जालको विकासबाट रोजगारीको अवसर सिर्जना भई जनताको जीवनस्तर वृद्धिमा सघाउ पुर्‍याउने लक्ष्यसहित निर्माण सुरु गरिएको आयोजना डेढदशकदेखि अलपत्र पर्दै आइरहेको छ। सुरुको चरणमा छिमेकी मुलुक भारतसँग सहकार्य गरेर तराई मधेशको बस्ती हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकी हिँड्ने भनेर निर्माण गर्न खोजिएको थियो।  

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको हुलाकी राजमार्ग विभिन्न कारणले बन्न नसकेपछि नेपालले भारतीय ठेकेदारसँग सम्झौता तोडेर नेपालकै अगुवाईमा निर्माण गर्न लागेको हो। यद्यपी यो आयोजनामा भारतीय सरकारको केही लगानी रहनेछ। भारतले यो आयोजनाको लागि ८ अर्ब रूपैयाँ लगानी गर्नेछ।

नेपालले ५७ अर्ब रूपैयाँ लगानी गर्नेछ। तराई क्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा विकास गर्ने उद्देश्यले आर्थिक वर्ष ०६६/६७ मा यो आयोजना सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष ०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरेको हुलाकी राजमार्गको निर्माणका लागि ४७ अर्ब २४ करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो तर अहिले यो आयोजनाको लागत बढेर ६५ अर्ब २० करोड रूपैयाँ पुगेको छ।  

प्रकाशित: २२ भाद्र २०७९ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App