१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो

सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यही भदौ ८ देखि तीन हिमाल आरोहण खुला गरिएको जानकारी दिए। ‘यो वर्षको शरद मौसमका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोण गर्न खुला गरिएको छ’, लुइटेलले बिहीबार नागरिकसँग भने-‘अन्य हिमाल पनि आगामी दिनमा खुला गर्दै जाने तयारीमा छौं।’

उनका अनुसार हिमाल आरोहण खुला गरेसँगै ५ देशका १५ जना आरोहीले आरोहण अनुमति लिइसकेका छन्। यसमा ३ टिमका १२ जना पुरूष र ३ जना महिला छन्। महानिर्देशक लुइटेलले हिमाल चढ्नेको संख्या यस वर्ष अघिल्लो वर्षको सिजनभन्दा बढ्ने अनुमान गरेको बताए। उनले भने ‘हिमाल आरोहण खुला गरेलगत्तै अनुमति लिन आउनेको संख्यालाई हेर्दा यो सिजनमा हिमाल आरोहण गर्नेको संख्या बढ्ने देखिएको छ।’

विभागको तथ्यांक अनुसार गत वर्ष यो सिजनमा नेपाल सहित ६७ देशका ८१ टिमले अनुमति लिएका थिए। यसमा १ हजार २ सय १९ जनाले हिमाल आरोहण गरेका थिए। हिमाल आरोहण गर्नेमध्ये ६ सय ४७ जना स्वदेशी तथा ५ सय ६६ जना विदेशी नागरिक थिए। विभागका अनुसार आरोहण गर्ने विदेशीमध्ये ५ सय ३२ जना पुरूष तथा १ सय १५ जना महिला रहेका थिए।

यस्तै सरकारले गत वर्ष यस सिजनको कुल राजस्व ४ करोड ६ लाख संकलन गरेको थियो। महानिर्देशक लुइटेलका अनुसार गत वर्षको तुलनामा यो वर्ष धेरै आरोहीले हिमाल आरोहण गर्ने छन्। महानिर्देशक लुइटेलले हिमाल आरोहणको संख्या बढाउन सरकारले जुगल हिमालका अन्य ४ वटा हिमाल आरोहण खुला गर्ने प्रक्रिया सुरु गरेको बताए।

उनका अनुसार विभागले अध्ययन र सरोकारवालसँग छलफल गरी कार्यविधि तयार गरेको छ। उक्त कार्यविधि अहिले नापी विभागमा पठाएको र त्यहाँबाट आएपछि मन्त्रिपरिषदमा पठाइने छ। पर्यटन मन्त्रालयले नेपालको पर्यटन क्षेत्रको विकास र सुधारका लागि गत साउन २ मा ७३ बुँदे कार्य योजना जारी गरेको थियो।

कार्ययोजनामा हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरूको आरोहण खुला गर्ने घोषणा गरिएको थियो। महानिर्देशक लुइटेलका अनुसार यसका बारेमा पनि विभागले आवश्यक तयारी गरिरहेको जानकारी दिए।

उनले भने  ‘विभागले अन्य हिमालहरूको पनि आरोहण अनुमति केही दिनमै दिनेछ, हिमालमा पर्यटक बढाउन विभागले कुनै कसर बाँकी राख्ने छैन्।’

स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।

विभागले वर्षमा २ पटक हिमाल आरोहण अनुमति दिने गरेको छ। मार्च, अप्रिल, मे महिनामा पर्ने बसन्त र सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिनामा पर्ने शरद सिजनमा सरकारले हिमाल आरोहण खुला गर्ने गर्छ।

यस्तै सरकारले हिमाल आरोहण सिजन र हिमाल अनुसार राजस्व शुल्क तोकेको छ। साथै विदेशी तथा स्वदेशीका लागि पनि सिजन र हिमाल अनुसारकै राजस्व दर पनि निर्धारण गरेको छ।

प्रकाशित: १० भाद्र २०७९ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App