coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शीतभण्डार निर्माणले किसानमा खुसी

रसुवाको कालिका–२ मा संचालनमा आएको शीतभण्डारमा राखिएको तरकारीजन्य उत्पादन। तस्बिर: शंकर/नागरिक

कृषिजन्य उत्पादनलाई बढावा दिन बागमती प्रदेश सरकारले निर्माण सुरु गरेको शीतभण्डार केन्द्र संचालनमा आउन थालेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माण गरिएको शीतभण्डार पनि संचालनको अन्तिम तयारीमा छ।  

धादिङसहित बागमती प्रदेशको जिल्लाहरुमा निर्माण गरिएको शीतभण्डार केन्द्रले किसानमा नयाँ आशा पलाएको छ। जुनसुकै समयमा उत्पादन गरिएको तरकारी तथा फलफुलजन्य उत्पादनलाई भण्डारण गरेर मौषमअनुकुल विक्रि वितरण गर्न पाउने भएपछि किसानहरु खुसी भएका छन्।  

चिस्यान केन्द्र स्थापनापछि उत्पादन गरेका भण्डारण गर्न मिल्ने कृषि उपजलाई आफ्नै ठाउँमा भण्डारण गरेर राख्न सहज हुनेछ। ‘शीतभण्डार नहँुदा आजसम्म कति उत्पादन खेर गए लेखाजोखा नै छैन’, बेनिघाट रोराङ गाउँपालिकाका किसान गंगा विसुराल भन्छिन्, ‘अब चाही खेर फाल्नु नपर्ला की भन्ने ठूलो आशा पलाएको छ।’

बेनिघाटलाई सुन्तला र तरकारीको पकट मानिन्छ। गोलभेडा, काउलीलगायतका तरकारीले भाउ नपाएको बेला बर्सेनि सित्तैमा फाल्यौ। चिस्यान केन्द्र भएको भए त भण्डारण गर्न सकिन्थ्यो। घाटा बेहोर्नु पर्दैन थियो, विसुराल भन्छिन्, ‘गाउँमै चिस्यान केन्द्र बन्ने भएपछि खुशी छौं, हाम्रो उत्पादन खेर जानबाट जोगिन्छ भन्ने लागेको छ।’

प्रदेश सरकारले रसुवामा निर्माण गरेको शीतभण्डार केन्द्र अघिल्लो महिनादेखि नै संचालनमा आइसकेको छ। शीतभण्डार संचालनपछि यहाँका किसानमा कृषि उत्पादनप्रति उत्साह बढेको छ। कालिका गाउँपालिका–२ रसुवाका कृषक रमेश ढकाल भन्छन्, ‘गाउँमा चिस्यान केन्द्र नहुदा निकै दुःख भोगे। उत्पादन गरेको तरकारी तथा फलफुल कुहाएर फाल्नु पर्ने र सस्तोमा बेच्नु पर्ने बाध्यता अब हटेको छ।’  

सिजनमा उत्पादन गरेर बेसिजनमा विक्री गर्न पाइन्छ। चिस्यान केन्द्रले कृषि पेशामै आधारित जिविको चलाउने किसानको आशा पलाएको उनले सुनाए। कहिले उत्पादित कृषि जन्य उत्पादनले बजार पाउदैन। मूल्य नपाएर सस्तोमा बेच्नुपर्ने, गाइ बस्तुलाई खुवाउने र तरकारी बारीमै ट्याक्टर लगाएको गाउँमा थुप्रै अनुभव छ।  

शीतभण्डार केन्द्रले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने कृषि ज्ञान केन्द्र धादिङका प्रमुख दिनेश आचार्यले बताए। ‘जिल्लामा चिस्यान केन्द्र नहुँदा उत्पादन गरेको तरकारी भण्डारण गर्न पाएका छैनौं। बाहिर जिल्लामा राख्दा लागत बढ्छ, आफ्नै जिल्लामा चिस्यान केन्द्र बनेपछि त भण्डारण गरी बेमौसममा पनि बिक्री गर्न पाएमा मूल्य राम्रो पाइन्छ’ उनले भने।

बाग्मती प्रदेश सरकार अन्तरगत कृषि तथा पशु पन्छी विकास मन्त्रालयले प्रदेशभर १२ स्थानमा शीतभण्डार निर्माण गरेको हो। त्यसमध्य रसुवाको कालिका गाउँपालिकामा रहेको चिस्यान केन्द्र परिक्षणको रुपमा संञ्चालनमा आएको छ। धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, चितवन, मकवानपुर काभ्रे, सिन्धुली जिल्लाहरुका अन्य नौ वटा चिस्यान केन्द्र सञ्चालनको अन्तिम तयारीमा रहेको कृषि तथा पशु पन्छि विकास मन्त्रालयका प्रवक्ता झलक कँडेलले जानकारी दिए।  

शीतभण्डार कृषि क्षेत्रको रुपान्तरणको एउटा महत्वपूर्ण कडी हो। चिस्यान केन्द्रमा आलु, लसुन, प्याज जस्ता तरकारी तथा फलफुलहरु गुणस्तर कायम गरेर नबिग्रने गरी भण्डारण गर्न सकिन्छ। तीन वर्ष अघिदेखि थालेको शीतभण्डार निर्माणको काम प्राय सबै जिल्लामा सकिएको छ। प्रवत्ता कँडेलले भने, ‘धेरै ठाउँमा अन्तिम चरणमा पुगेको छ। सिजनमा उत्पादन गरेर मूल्य पाइने बेमौषममा पनि विक्रि गन सकिने हुदा बजार नपाइने र सस्तोमा विक्रि गर्नु पर्ने झन्झट हट्नेछ।’  

कृषिलाई व्यवसायिकरण गरी किसानलाई आम्दानीमुखी बनाउने उदेश्यले शीतभण्डार निर्माण गरिएको प्रवक्ता कडेलले बताए। कृषि उपजलाई ५ देखि ७ महिनासम्म सुरक्षित भण्डारण गरेर राख्न सकिनेछ। ‘संचितिकरण भएपछि बजारको समस्या भएन। किसानमा उत्साह थपिन्छ र उत्पादन बढ्छ। स्थानीय किसानहरुलाई शहकारीमा आबद्ध गराई शित भण्डारबाट लाभान्वित गराइनेछ’ उनले भने।

नुवाकोटमा २ वटा, सिन्धुपाल्चोकमा २ वटा, धादिङ, चितवन, रामेछाप, दोलखा र सुवामा  शीतभण्डार निर्माण गरिएको छ। मकवानपुर र दोलखामा निर्माण गर्ने भनिएको शित भण्डार अहिललाई स्थगित भएको छ।  

हाल निर्माण भएका र निर्माणाधिन शीतभण्डारहरु दुई सय पचासदेखि पन्द्र सय मेट्रिक टन क्षमताको छ। बाग्मती प्रदेश सरकारको सत्तरी प्रतिशत र स्थानीय तहको तिस प्रतिशत लागत साझोदारीमा शीतभण्डार निर्माण गरिएको हो। एक सय करोडको लागतमा शीतभण्डार निर्माण गरिएको प्रवक्ता कँडेलले जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०७९ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App