१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गत वर्षको औसत मूल्य वृद्धि दोब्बर

फाइल तस्बिर

गत आर्थिक वर्षमा वार्षिक औसत मूल्य वृद्धि गत वर्षभन्दा दोब्बर पुगेको छ। आर्थिक वर्ष २०७८-७९ मा औसत वार्षिक मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत मात्र थियो।

राष्ट्र बैंकले मंगलबार जारी गरेको गत आर्थिक वर्षको आर्थिक विवरण अनुसार गएको असारमा भने उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ। अघिल्लो असारमा यो ४.१९ प्रतिशत थियो।

बैंकका अनुसार विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले पछिल्ला महिनामा मुद्रास्फीतिमा चाप पुगेको छ। गत आर्थिक वर्षमा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले बढेको छ। गतवर्ष २ खर्ब ३ करोड रूपैयाँको निर्यात भएको हो। अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले  बढेको थियो।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, ऊनी गलंैचा, धागो (पोलिष्टर तथा अन्य), जिंक सिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ।

यस्तै कुल वस्तु आयात २४.७ प्रतिशतले बढेर १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पन्ज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम एस विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ।

बैंकका अनुसार गत वर्षमा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले बढेको छ। व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ पुगेको हो।

आर्थिक वर्गीकरण अनुसार गत आर्थिक वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.५ प्रतिशत र ५२.४ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०४ प्रतिशत रहेको छ।

बैंकका अनुसार गत आवमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड आएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा बढेर ३ लाख ५४ हजार ६ सय ६० पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो।

यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गतवर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४ सय ५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो। बैंकका अनुसार गत आवमा चालु खाता ६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा थियो।

यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रहेको थियो।

यस्तै गतवर्षमा शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा थियो।

यस्तै गत २०७८ असारमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ।

गत आर्थिक वर्षको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ।

बैंकका अनुसार गत आवमा विस्तृत मुद्रा प्रदाय ६.८ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ। गएको असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४६ खर्ब २१ अर्ब पुगेको छ ।

प्रकाशित: १ भाद्र २०७९ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App