१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिवाभञ्याङ-थर्पु खण्डको कालोपत्र सुस्त

मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको आयाममा पर्ने सडक।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङ-थर्पु खण्ड कालोपत्रे गर्ने काम सुस्त बनेको छ। काम सकिने मिति ६ महिनामात्र बाँकी रहँदा दश प्रतिशत पनि प्रगति भएको छैन्।

भारतको सिक्किमसँग जोडिने लोकमार्गकोे चिवा भञ्याङ सुरुआत बिन्दु मानिएको छ। यसको ५०.६४ किलो मिटर सडक कालोपत्रे गर्ने काम सुस्त बनेको हो। यो खण्डको तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।

मध्यपहाडी लोकमार्गको फिदिमस्थित आयोजना कार्यालयका इन्जिनियर हिमाल काफ्लेका अनुसार पहिलो प्याकेजमा १०, दोस्रोमा ३ र तेस्रो प्याकेजमा १० प्रतिशत मात्र काम भएको छ। बर्खामा दुःखले मात्र गाडी कुद्ने यो सडक निर्माणमा कम्पनीले लापर्बाही गरेको यस क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।

एउटै निर्माण व्यवसायीले तीनवटै प्याकेजको ठेक्का लिएकाले कुनै पनि प्याकेजको कामले गति पाएको छैन। पहिलो प्याकेज रोशन शिवशक्ति जेभी, दोस्रो प्याकेज सन्तोषी शिवशक्ति जेभी र तेस्रो प्योकज रोशन शिवभक्ति जेभीले ठेक्का पारेका थिए।

काम अघि बढाउन पटक–पटक अनुरोध गरे पनि ठेकेदारले टेरेको देखिदैन्। ठेकेदार कम्पनीका प्रतिनिधि, आयोजना प्रमुख तथा जनप्रतिनिधिको उपस्थितिमा कामलाई तीब्रता दिन केही महिना अगाडि लिखित निर्देशन दिइएको पाँचथर प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।

स्थलगत अनुगमनपछि लिखित निर्देशन दिइए पनि विभिन्न वहानामा काम नगर्दा प्रगति अत्यन्त न्यून देखिएको न्यौपाने बताउँछन्। २०७७ माघ १९ मा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो।

चिवाभञ्याङलाई मध्यपहाडी लोकमार्गको सुरुआत विन्दु मानिन्छ। यहाँसम्म भारतले पनि अघिल्लो वर्ष सडक ल्याइसकेको छ। पाँचथरको उत्तरी क्षेत्र तथा ताप्लेजुङका विभिन्न गाउँका बासिन्दालाई यो सडकले सुविधा पुग्ने छ। तिम्बु पोखरी लागयतका पर्यटकीय गन्तव्य जाने बाटो पनि यही हो। १ अर्ब ४७ करोडको ठेक्कामा हालसम्म ९ करोड ७३ लाख मात्र बजेट खर्च भएको छ। वित्तीय प्रगति ६ प्रतिशत मात्र रहेको छ। काम नहुँदा बजेट फ्रिज भइरहेको छ ।

प्रकाशित: २३ श्रावण २०७९ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App