७ वैशाख २०८१ शुक्रबार
अर्थ

१६ वर्षपछि दार्चुलामा खाद्य कार्यालय पुर्नस्थापना

१६ वर्षपछि दार्चुलामा खाद्य कार्यालय पुर्नस्थापना भएको छ। २०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १६ वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखाको रुपमा स्थापना भएको हाे।

शनिबार जिल्ला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजनामा एक  समारोहमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री  बडूले २०५०/२०६२ सालसम्म सञ्चालन रहेपनि २०६३ सालदेखि बन्दरहेको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको र यसको स्थापनापछि खाद्यान्न आपूर्ति मात्र नभइ यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

साविक ५ स्थानका डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना स्थापना गरिएको बताए। मन्त्री बडुले भने, 'कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहाँ उत्पादन गरिने खाद्यवस्तु जिल्ला बाहिर पठाउने व्यवस्था गरिएको छ।

'यहाँ उत्पादित चिजको ब्राण्ड बनाएर जिल्ला बाहिरको व्यापारमा पठाउनुपर्छ’, उनले थपे। त्यसको लाभ किसानले पाउनुपर्ने उनको भनाइ छ। २०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १६ वर्षपछि पुनःस्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ।

कम्पनीका अनुसार खाध्य कार्यालय जिल्लामा रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताए। जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भएपनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै। आएकोमा अब जिल्लामै शाखा कार्यालय खोलिएको हुनाले आपूर्तीमा सहज हुने समेत प्रमुख कार्यकारी अधिकृत चन्दले बताए।

कम उत्पादन हुने यहाँका दुर्गम ठाउँका स्थानीय बर्सेनि खाद्य संकट बेहोर्दै आएकोमा अब जिल्ला भित्रबाटै आपूर्तीका लागी सहजता भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। २०६३ सालदेखि बन्दरहेको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको र यसको स्थापनापछि खाद्यान्न आपूर्ति मात्र नभइ यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले बताए।  

बन्द उद्योगहरु समेत  पुनः सञ्चालन ल्याउनुपर्छ

लामो समय संचालनमा रही विभिन्न कारणले बन्द रहेका उद्योगहरु पुनः सञ्चालनमा ल्याउनु पर्ने उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन्। गृह जिल्ला दार्चुला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले विगतमा सरकारले संचालन गरेका तथा हाल बन्द अवस्थामा रहेका उद्योग कलकारखानाहरु पुनः सञ्चालनमा ल्याई व्यापार घाटा घटाउनु पर्नेमा जोड दिएका छन्।  

बन्द अवस्थामा रहेका उद्योगहरुलाई निजि क्षेत्रसँग समन्वय सहकार्य गरी सञ्चालन गर्ने तयारीमा सरकार रहेको पनि मन्त्री बडूले बताए। बन्द रहेका उद्योगधन्दाहरु सञ्चालन गर्न आफ्नो मन्त्रालयले कार्यविधि र मापदण्ड तयार गरिरहेको छ। उनले भने, 'उद्योग सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी संसद्मा लैजान्छौँ, संसद्बाट कार्यविधि पास हुने बित्तिकै लागू गरी बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्छौ।'

उद्योगहरु सञ्चालन भए पश्चात सयौं बेरोजगार युवाहरुले रोजगारी पाउने तथा विदेशीनु पर्ने बाध्यताको अन्त्य हुने समेत विस्वास छ। युवाहरुलाई स्वदेशमै रोजगारीका अवसरहरु उपलब्ध गराई विदेश जानबाट रोक्नु पर्ने उनको भनाइ छ।

नेपालबाट हाल छड, सिमेन्ट र विद्युत अन्य देशहरुमा निर्यात भइरहेको भन्दै उनले नीजि क्षेत्रलाई प्रोत्साहन गरि उत्पादन बढाउन सरकार तयार रहेको र निजि क्षेत्रका उद्योग र उत्पादन कम्पनीहरुलाई सरकारले ८ प्रतिशत अनुदान दिइसकेको जानकारी गराउँदै मन्त्री बडूले उत्पादन बढाउन र निर्यात बढाउन निजि क्षेत्रका उद्योगीहरुलाई १५ प्रतिशत सम्म अनुदान दिने सरकारको तयारी रहेको बताए।

साथै मन्त्री बडूले नेपालको अर्थतन्त्र सहि बाटो नभएको प्रति चिन्ता व्यक्त गरेका छन्। देशमा निर्यात हुने बस्तुको उत्पादन कम हुनु र व्यापार घाटा हुनुले अर्थतन्त्रमा नराम्रो असर परी रहेको समेत उनले बताए। अर्थतन्त्र बलियो बनाउन उत्पादन र निर्यात बढाउनु पर्नेमा मन्त्री बडूको जोड छ।

नेपालको जुम्ला जिल्लामा उत्पादन हुने मार्सी चामल बाहिरी मुलुकहरुमा निर्यात भइरहेको स्मरण गराउँदै उन दार्चुलामा उत्पादन हुने राज्मा, कोदो, फापर लगायतका कृषिजन्य उत्पादनहरु पनि अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन स्थानिय तहहरुले कृषि क्षेत्र तथा बजारीकरणमा लगानी बढाउनु पर्ने आवश्यकता औल्याएका छन्। 

प्रकाशित: २१ श्रावण २०७९ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App