१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कपडा उद्योग निजी क्षेत्रलाई दिन सरकार तयार: मन्त्री बडु

अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री बडु।

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन्। 

बिहीबार मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको जानकारी दिएका हुन्। निजी क्षेत्रलाई दिनका लागि आवश्यक योजना समेत अघि बढाइसकेको उनले बताए।  

कपडा उद्योग पुनः सञ्चालनका लागि बजेटमै समेटिसकेको जानकारी दिँदै मन्त्री बडुले सरकारी स्तरबाट भन्दा निजी क्षेत्रबाट उद्योग सञ्चालनमा तीव्रता देखिने भएपछि आवश्यक योजना अघि बढाएको बताए। ‘निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकारी सम्पतिको सही सदुपयोग र मुलुकमा बन्द रहेका ठूला उद्योग पुनः सञ्चालनमा टेवा पुग्ने देखिएपछि सरकार कपडा उद्योग निजी क्षेत्रलाई दिन तयार भएको हो’, मन्त्री बडुले भने, ‘उद्योगबारे प्रारम्भिक अध्ययन भइसकेपछि सरकारले मोडालिटी तयार गर्नेछ। सोही अनुसार निजी क्षेत्रले सञ्चालन गर्ने गरी दिन तयार रहेको छौं।’ 

उनले सरकारले निजी क्षेत्रलाई आफ्नो स्वामित्वको ठूला उद्योग सञ्चालन गर्न दिने योजना बनाएकाले त्यसमा तयार रहन समेत निजी क्षेत्रलाई आग्रह गरे। उनले मोडालिटीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। औद्योगिक क्षेत्रमा ओगटिएका जग्गा ठूला उद्योग सञ्चालनका लागि इच्छुकलाई दिन र भाडा नतिरेकालाई कानून बमोजिम जरिवाना सहित भाडा असुल्न मन्त्रालय तयार रहेको चेतावनी समेत दिए। 

करिब २० वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग अहिले जीर्ण अवस्थामा रहेको छ। सरकारले यसअघि पनि पटकपटक कपडा उद्योग सञ्चालन गर्ने बताउँदै आएपनि पहिलो पटक सरकारले निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि दिने तयारी अघि बढाएको हो। सरकारले नीति तथा कार्यक्रममार्फत बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने बताएको थियो। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले उद्योगी व्यवसायीले भोग्दै आएको समस्याको बिषयमा मन्त्री बडुलाई जानकारी गराएका थिए।

प्रकाशित: १२ श्रावण २०७९ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App