coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान आन्तरिक की अन्तर्राष्ट्रिय?

पहिलो उडानबारे पोखरेलीबीच फरक मत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः उमेश पुन/नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारी नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) को छ। त्यही अनुुसार तयारी भईरहेको प्राधिकरणले पनि बताएको छ। विमानस्थल संचालनमा आउने दिन नजिकिँदै जाँदा एउटा बहस भने पोखरेलीबीच सुरु भएको छ। त्यो बहसको विषय हो–पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सुरुवात आन्तरिकबाट थाल्ने वा अन्तर्राष्ट्रिय उडानबाट?  

प्राधिकरणले विमानस्थल संचालनको चाँजोपाँजो मिलाउँदै गर्दा यहाँका केही पर्यटन व्यवसायीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय हुनुपर्ने बताउँदै आएका छन भने कतिपय व्यवसायी भने आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा कुन पहिला गर्ने भनेर बहस गर्न जरुरी नरहेको बताउँछन्। आन्तरिक उडानबाट विमानस्थल संचालन सुरु गर्दा अन्तर्राष्ट्रिय उडानका लागि पहल नपुुग्ने हो की भन्ने त्रास केही व्यवसायीमा छ। तर, कतिपयले भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान भनेर बहस गर्नुको साटो तोकिएको समयमा व्यवस्थित तरिकाले विमानस्थल संचालन गर्नु महत्वपूर्ण भएको बताउँछन्।  

‘पोखरामा आन्तरिक उडानका लागि त अहिले पनि विमानस्थल छ। अहिले पनि पोखरालाई मुलुकभित्रका ठुला सहरसम्म हवाई सञ्जालले जोडिसकेको छ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, हामीलाई आन्तरिक नभई अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो । पोखरेलीलाई चाहिएको अन्तर्राष्ट्रिय विमानस्थल हो।’ प्राधिकरणले आगामि जनवरी १ देखि विमानस्थल संचालनमा ल्याउने तयारी गरिरहेकोले त्यो तयारी अन्तर्राष्ट्रिय उडानका लागि हुनुपर्ने उनले बताए।

‘बरु, केही महिना ढिला भए पनि हामीलाई आपत्ति छैन, तर, पहिलो उडान अन्तर्राष्ट्रिय गन्तव्यका लागि हुनुपर्छ,’ सुवेदीले भने, ‘आन्तरिक उडानबाट विमानस्थल संचालन सुरु भएपछि अन्तर्राष्ट्रिय उडानका लागि कसैले पहल गर्नेछैन। त्यसपछि पोखराले सधैं आन्तरिक विमानस्थलकै रुपमा चित्त बुझाउनुपर्नेछ।’ पहिलो उडान आन्तरिकबाट गरेर विमानस्थल संचालनमा ल्याउँदा अन्तर्राष्ट्रिय उडानका लागि दवाव नपुग्ने उनले बताए।  

आन्तरिक उडानबाट थाल्दा त्यसैमा सिमित हुनुपर्ने त्रास व्यवसायीमा रहेको उनले बताए। ‘विमानस्थल चलिहाल्यो, बिस्तारै अन्तर्राष्ट्रिय उडान सुरु होला भनेर पर्खियौ भने सधैंका लागि आन्तरिक उडानमै निर्भर रहनुपर्ने अवस्था आउनेछ,’ उनले भने, ‘बरु जनवरी १ को साटो केही समय ढिला सुरु होस, तर, विमानस्थल संचालन अन्तर्राष्ट्रिय उडानबाट हुनुपर्छ आन्तरिक उडानका लागि अहिलेकै विमानस्थल काफि छ।’

पोखराको यो विमानस्थल बनाउनका लागि सुरुदेखि नै पहल गरेका व्यवसायी विश्वशंकर पालिखे पहिला राष्ट्रिय की अन्तर्राष्ट्रिय भन्नु भन्दा नेपालमै उपलब्ध ठुला आकारका जहाजबाट पहिला आन्तरिक सहरसम्म उडान थाल्नुपर्ने बताउँछन्। ‘नेपालमै उपलब्ध ठुला जहाजबाट पोखरालाई आन्तरिक सहरसम्म उडानले जोडौ,’  उनले भने, ‘त्यसपछि अन्तर्राष्ट्रिय जहाज पनि आउँछन, त्यसले कुनै फरक पार्दैन।’ आन्तरिक उडानबाट सुरु गर्दा अन्तर्राष्ट्रिय उडान कहिल्यै नहुने हो की त्रास रहेको उनले पनि सुनाए। ‘अन्तर्राष्ट्रिय उडान गराउनका लागि पहल हुँदैन की भन्ने त्रास मात्र हो,’ उनले भने, ‘हामीले त्यसका लागि अल्छि गर्न सक्छौ।’  

प्राधिकरणले बताए अनुसार अबको ६ महिनाभित्र विमानस्थल संचालनमा आउने हुँदा थाती रहेका काम फत्ते गर्न आवश्यक रहेको उनले बताए। पूर्वतिरको रिट्टेपानी डाँडा कटान, दक्षिणतिरको ल्याण्डफिल साइट नसरेको र उत्तरतिरको ढल व्यवस्थापन नभईसकेकोले यी समस्या समाधानमा तदारुकता देखाउनुपर्ने पालिखेले बताए। ‘थाती रहेका मुख्य तीनवटा समस्या समाधान नगरि विमानस्थल संचालनको तयारी गर्दा उपयुक्त नहुनुसक्छ, भोलि भोलि होला भनेर ढिला गर्दा दुर्घटना निम्त्याउन सक्छ,’ उनले भने, ‘यी समस्या समाधान गरेर मात्र विमानस्थल चलाउनुपर्छ। त्यसैले पहिला अन्तर्राष्ट्रिय जहाज ल्याउ, त्यसपछि मात्र आन्तरिक चलाउँला भन्नु कच्चा हुनसक्छ।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली हाल संचालनमा रहेको विमानस्थललाई जतिसक्दो छिटो नयाँमा सार्नुपर्ने बताउँछन। ‘नयाँ विमानस्थलबाट उडान सुरु हुनासाथ ठुला जहाजको उडान हुनेछ। त्यसबाहेक राती अबेरसम्म पनि उडान हुन्छ । अहिले दिउँसै विमानस्थल बन्द गर्नुपर्ने अवस्था छ,’ पराजुली भन्छन, ‘अबको बहस पहिला अन्तर्राष्ट्रिय की आन्तरिक उडान भन्नुको साटो नयाँ विमानस्थल सुरक्षित तरिकाले छिटो गरि संचालनमा ल्याउनुपर्छ भन्ने हो।’  

प्राधिकरणले ६ महिना भित्र विमानस्थल संचालन गर्ने भनिरहँदा अब ‘काउन्ट डाउन’ सुरु भएको उनले बताए। ‘ल्याण्डफिलसाइट सारेमा छिटो विमानस्थल सर्नेछ। भएका चुनौती चिर्नमा हाम्रो दवाव हुनुपर्छ, न की आन्तरिक र अन्तर्राष्ट्रिय भनेर अल्झिने होइन,’ उनले भने, ‘पर्यटन व्यवसायीले पनि पहिला अन्तर्राष्ट्रिय उडान भनेर त्यसकै पछाडि लाग्ने होइन, विमानस्थल संचालनमा ल्याउनु नै उपलब्धिपूर्ण हुनेछ।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनको पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय उडानकै लागि हुनुपर्ने बताउँछन। ‘विमानस्थल नै संचालनमा नआउने अवस्था भएमा अन्तर्राष्ट्रिय उडान कुरेर मात्र हुँदैन, नत्र प्राथमिकता अन्तर्राष्ट्रियलाई पहिला दिनुपर्छ भन्ने हो,’ अधिकारीले भने, ‘आन्तरिकबाट उडान थालेपछि  अन्तर्राष्ट्रिय उडानका लागि पहलमा कमि हुन्छ की भन्ने आशंका छ। विमानस्थल चलिहाल्यो भनेर अन्तर्राष्ट्रिय उडानका लागि पहलकदमी कम हुन्छ की भन्ने त्रास हो।’  

उनको बुुझाईमा अन्तर्राष्ट्रिय उडान छिटो सुरु गर्न सके विमानस्थल बाहिरको विकासले प्राथमिकता पाउँछ भन्ने छ। नत्र आन्तरिक उडान मात्र चलाईरहँदा बाहिरी विकासले फड्को नमार्ने, बरु कामचलाउ हुन सक्ने भएकोले अन्तर्राष्ट्रिय उडानका लागि प्राथमिकता दिनुपर्ने उनले बताए। ‘अहिले विमानस्थल मात्र बनेको छ, बाहिरी विकास भएको छैन, अन्तर्राष्ट्रिय उडान गर्न सके विकासको ढोका खुल्ने आश हो, आन्तरिक मात्र उडान गर्दा बाहिरी संरचनाले मुहार फेर्न पाउँदैन की भन्ने आशंका हो,’ उनले भने, ‘सकेसम्म अन्तर्राष्ट्रिय उडानलाई पहिलो प्राथमिकता दिनुपर्छ।’

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भने पोखरा पर्यटकीय सहर भएकोले अहिलेजस्तो घाम अस्ताउनुअघि नै विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउन नहुने बताउँछन्। ‘अहिलेको विमानस्थल घाम अस्ताउनु अघि नै बन्द हुन्छ। पोखरा पर्यटकीय सहर भएकोले सधैं त्यस्तो अवस्था आउन दिनुहुन्न,’ निरौलाले भने,‘हाम्रो प्रयास आन्तरिक र अन्तर्राष्ट्रिय दुवैखाले उडानका लागि छ। त्यही अनुसार पूर्वाधार पनि तयार छन। तर, आन्तरिक उडानबाट विमानस्थल संचालनको थालनी गर्दा कुनै फरक पर्दैन।’ पहिला अन्तर्राष्ट्रिय की आन्तरिक उडान भनेर बहस गर्न जरुरी नरहेको उनले बताए।  

आन्तरिक उडानबाट पोखरा विमानस्थल संचालन गर्ने हो भने पर्यटनमा सकारात्मक प्रभाव पार्ने उनले बताए। ‘आन्तरिक उडान राती अबेरसम्म गर्न पाउने हो भने पाहुनाको आउजाउ हुनेछ, त्यसले पर्यटनमा लाभ पुग्छ,’ निरौलाले भने। उनका अनुसार आगामि जनवरी १ देखि विमानस्थल संचालन गर्ने तयारी भईरहँदा केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पोखराको विमानस्थलबारे चाँसो दिन थालेका छन्। चिनियाँ र थाइल्याण्डका केही हवाई कम्पनिले पोखराको विमानस्थलबारे चाँसो बढाएको उनले बताए। ‘अन्तर्राष्ट्रिय उडान हाम्रो चाहनाले मात्र हुने होइन, वायुसेवा कम्पनिले पनि बुझेर मात्र उडान थाल्ने हुन,’ उनले भने, ‘त्यसैले यो बहस आवश्यक होईन।’

प्रकाशित: १० श्रावण २०७९ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App