९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

रेमिट्यान्समा वृद्धि भए पनि उद्यममा कम लगानी

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रूपैयाँ नेपाल पठाउँदै आएका छन्।

आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रूपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रूपैयाँ नेपाल भित्रिएको छ। फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। फेरि असोज महिनामा ८३ अर्ब ९५ करोड भित्रिँदा सबैभन्दा कम माघ महिनामा ७१ अर्ब ७६ करोड रूपैयाँ विदेशबाट आएको छ।  प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ। आव २०७७/०७८ मा ९ खर्ब ६१ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै आव २०७६/०७७ मा ८ खर्ब ७५ अर्ब रूपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ।  

यसरी रेमिट्यान्स भित्रिए पनि ७८.९ प्रतिशत रकम दैनिक गुजरा चलाउनकै लागि खर्च हुने गरेको पत्रकार रुद्र खड्काले केन्द्रीय तथ्यांक विभागको रिपोर्टलाई उधृत गर्दै जानकारी दिए। भरतपुरमा शनिबार भएको वैदेशिक रोजगार कानुनसम्बन्धी सञ्चारकर्मीका लागि अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिन आएका खड्काले विदेशबाट आएको रकम उद्योग व्यवसायमा लगानी कम हुने गरेको बताए। ‘मूलतः नेपाल रेमिट्यान्सकै भरमा छ’, उनले भने, ‘भित्रिएको रकम विभिन्न कारण बाहिरी मुलुकमै पुगेको छ।’ नेपालमा कुल ग्राहस्थ उत्पादनको औसतमा २५ प्रतिशत रेमिट्यान्स आउने गर्दछ। त्यसमध्ये ७.८ प्रतिशत ऋण तिर्न, ४.५ प्रतिशत घरायसी सामान खरिद गर्न, ३.५ प्रतिशत शिक्षामा खर्च भएको छ, तर उत्पादनमूलक क्षेत्रमा न्यून लगानी भएको देखिन्छ। पुँजी निर्माणमा २.५, व्यवसायका लागि ०.५ र ०.६ प्रतिशत बचत भएको छ।  

वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का संस्थापक सोम लुइँटेलका अनुसार नेपाल सरकारले औपचारिक रूपमा वैदेशिक रोजगारका लागि ११० राष्ट्रमा खुला गरेको छ, तर श्रम समझदारी तथा सम्झौता ५ वटा देशमा मात्र गरेको छ। ७० लाख मानिस वैदेशिक रोजगारमा गएका छन्। यो तथ्यांकमा भारत र गैरकानुनी प्रक्रियाबाट विदेशी व्यक्तिलाई समावेश गरिएको छैन। त्यसमध्ये ९० प्रतिशत युवा खाडी मुलुक र मलेसिया तथा १० प्रतिशत मानिस अन्य देश गएका छन्। वैदेशिक रोजगारमा जानेमध्ये ७४.५ प्रतिशत कामदार सीप नसिकी जाने गरेको लुइँटेलले जानकारी दिए। १.५ प्रतिशत मानिस मात्र सीप सिकेर जाने गरेका छन्।

सीपको व्यवस्था नहुँदा अधिकांश युवा वैदेशिक रोजगारमा ठगिने गरेको उनले बताए। ‘युवाहरू विदेश रोजगारमा जान्छन्। अधिकांशलाई सम्बन्धित ठाउँको भाषा र सीप नै हुँदैन’, उनले भने, ‘यस्ता कामदारलाई रोजगार दाताले माया हर्दैन। हेपेर पैसा कम दिन्छ’, उनले कानुनसम्बन्धी जानकारी लिएर जाने कार्यमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए। वैदेशिक रोजगारका नाममा व्यापक ठगी हुने गरेको छ। सन् २०११ देखि हालसम्म २६ हजार २ सयलाई पिपुल फोरमको पहलमा ९५ करोड ३२ लाख रूपैयाँ पीडित पक्षलाई उपलब्ध गराइएको लुइँटेलले जानकारी दिए।  

कोभिड १९ का कारण खाडीको साउदी अरबिया, कतार, यूएई, कुबेत, ओमान, बहराइन, मलेसियालगायत अन्य देशबाट अघिल्लो वर्ष मात्रै ५ लाख ७२ हजार ५ सय ७१ नेपाली स्वदेश फर्किएका थिए। गत आव २०७८/०७९ को भदौमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उद्धार गरेको पिपुल फोरमका पुरूपोत्तम प्रजापतिले जानकारी दिए। उनका अनुसार यूएईबाट १ लाख ६० हजार ४ सय ७० जनालाई उद्धार गरिएको थियो।  

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन कानुन आवश्यक रहेको समेत उनले बताए। २०४२ सालमा वैदेशिक रोजगार कानुन आएको थियो। त्यसमा धेरै विषयमा अस्पष्टता रहेको उनले बताए। वैदेशिक रोजगार ऐन २०७४ पनि अपुरो रहेको उनको दाबी छ।  कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले वैदेशिक रोजगारले नेपाली अर्थतन्त्र थेगिएको बताएका छन्। वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान हुने गरी राज्यले काम गर्नुपर्नेसमेत बताए।

प्रकाशित: ८ श्रावण २०७९ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App