१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरामा ठडिंदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’

कोरोनालाई लगानी अवसरः लगानीकर्ता

पोखरा महानगरपालिका–६ बंगलादीमा ठडिँदै गरेको अतिथि अपार्टमेन्ट। तस्बिरः सन्तोष/नागरिक

कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रुपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो। तर, कतिपय व्यवसायीले कोरोनाको त्यही सकसलाई लगानीको अवसरमा बदल्ने प्रयास पनि गरिरहेका छन्। त्यसको उदाहरण हो–पोखरामा अतिथि समूहको लगानी।

पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। अतिथि समूहले पोखरामा सुविधासम्पन्न रिसोर्ट, रेस्टुरेन्ट संचालन गरिरहेको छ। यही समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।

अपार्टमेन्टलाई आवासका साथै व्यवसायिक प्रयोजनमा उपयोग गर्ने यो समूहको योजना रहेको छ। अतिथि समूहले अहिले पोखरा महानगरपालिका–६ बंगलादीमा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटन व्यवसायमा उपयोग गर्ने योजना संचालकको छ।

अतिथिका संचालक भरतराज शर्माका अनुसार पाँचरोपनी क्षेत्रफलमा यो अपार्टमेन्ट बनिरहेको छ। यसमा भूइँतला बाहेक सातवटा तला छन्। तीनवटा फरक तहको अपार्टमेन्ट यसमा बन्नेछन्। ‘कोरोनाले सबैतिरको आर्थिक अवस्था सिथिल बनाएको बेला हामीले नयाँ सोँचका साथ यो पूर्वाधार बनाउन थालेका हौ, बाहिरी संरचना करिब अन्तिम चरणमा पुगेको छ,’ शर्माले भने, ‘आगामि बैशाखसम्म सबै काम सक्ने लक्ष्य छ। १३ महिनादेखि यो भवन बनिरहेको छ। कोरोनाले पर्यटन क्षेत्रमा अधिक मार पारेको भएपनि हामीले भने लगानी अवसरको रुपमा बुझेर यो क्षेत्रमा हात हालेका हौं।’

उनका अनुसार यो स्वरुप र सोँचको अपार्टमेन्ट विकसित मुलुकमा मात्र चल्तीमा छन्। आवासीय मात्र नभई व्यवसायिक प्रयोजनमा पनि प्रयोग हुने भएकोले यो अपार्टमेन्ट अन्यत्रको भन्दा फरक स्वरुपको रहेको उनले बताए। अन्यत्रका अपार्टमेन्ट आवासीय मात्र रहेकोमा यहाँ भने आवाससँगै तारे होटलको सुविधा दिनेगरि प्रयोगमा ल्याउन थालेको उनले बताए। उनका अनुसार एक, दुई र तीनवटा बेडरुम सहितको अपार्टमेन्ट यहाँ बन्नेछ। त्यसबाहेक पेन्टहाउस पनि तयार हुनेछ। पेन्टहाउस झनै सुविधासम्पन्न अपार्टमेन्ट रहेको उनले बताए। सबैखाले अपार्टमेन्टमा बेडरुम बाहेक, हल र भान्सा, लवी सहितका सुविधा पनि हुने उनले बताए। पेन्टहाउस भने भवनको सबैभन्दा माथिल्लो तलामा सुविधासम्पन्न बन्नेछ।  

‘आगामि चैतसम्म हामीले काम सक्ने लक्ष्य लिएका छौ। १३ महिनादेखि यसको काम भईरहेको छ,’ शर्माले भने, ‘निकै नै सुविधासम्पन्न र फरक शैली र उद्देश्य यो अपार्टमेन्टको रहेको छ।’ यसमा झन्डै ६५ वटा गाडी अट्ने पार्किङ, रेस्टुरेन्ट, ग्रोसरी, सभाहल, रुफटप पौडीपोखरी, बगैंचा लगायतका सुविधा हुनेछन्। सबैभन्दा फरक विशेषता भनेको यसलाई ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ को रुपमा उपयोग गर्ने तयारी लगानीकर्ताको रहेको छ।

शर्माका अनुसार ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ को यो नै नेपालको पहिलो अभ्यास हो। जहाँ ग्राहकले कुनै निश्चित अपार्टमेन्ट खरिद गर्छ। अपार्टमेन्ट धनी वर्षमा एकमहिना मात्र यहाँ बस्न पाउँछन्। बाँकी एघार महिना यो अपार्टमेन्टलाई होटलको रुपमा अतिथि समुहले नै संचालन गर्नेछ। अपार्टमेन्ट खरिद गरेका व्यक्तिले वर्षमा एकमहिना अग्रिम जानकारी दिएर आफ्नो अपार्टमेन्टमा बसोबास गर्न पाउनेछ। तर बाँकी एघार महिनासम्म भने होटलको रुपमा संचालन हुनेछ।  

होटलको रुपमा अपार्टमेन्ट प्रयोगमा ल्याउँदा पाहुना बसेको आधारमा ६० प्रतिशत अपार्टमेन्ट धनी र बाँकी ४० प्रतिशत रकम अतिथि समूहले आम्दानी बाँड्नेछन। ‘हामीकहाँ यस्तो अभ्यास मात्र नभएको हो, नत्र अन्तर्राष्ट्रिय सहरमा यो निकै नै पहिलेको चलन हो,’ शर्माले भने, ‘बाह्ैमास आवासको रुपमा यो अपार्टमेन्ट प्रयोग गर्ने होईन। अपार्टमेन्ट धनी नै वर्षमा बढीमा एकमहिना बस्न पाउनेछ। बाँकी एघारमहिना होटलको रुपमा चलाउनका लागि अतिथि समुहलाई नै दिनेछ।’ पहिलोचरणमा १० वर्षका लागि यस्तो सम्झौता हुने उनले बताए। होटलको रुपमा अपार्टमेन्ट प्रयोग गर्दा प्रयोग भएको आधारमा अतिथि समुहले आम्दानी बाँडफाँड गर्ने उनले बताए।  

‘यो अपार्टमेन्टलाई हामीले ‘होली–डे होम’को रुपमा उपयोग गर्न चाहेका हौ। बाह्ै्रमहिना बस्नेगरि यो अपार्टमेन्ट कसैले खरिद गर्ने छैन। किनकी यो बिदा मनाउन आँउदा बस्ने ठाउँ बनोस भन्ने हो,’ शर्माले भने, ‘अपार्टमेन्ट धनीले यो अपार्टमेन्टबाटै कमाउन पनि सक्नेछन। बाहै्रमास बस्नेका लागि यो उपयुक्त हुँदैन।’ होटलको रुपमा प्रयोग गर्दा बाह्य पाहुनाले अपार्टमेन्टकै तोकिएको शुल्क तिर्नुपर्ने उनले बताए।  

‘पश्चिमा मुलुकमा यस्तो अवस्थाको अपार्टमेन्ट निकै नै पहिलेदेखि चलनमा आएको हो। तर, हामीकहाँ मात्र ढिला भएको हो,’ उनले भने, ‘हामीले उच्चवर्षका लगनाीकर्ता जसले पोखरालाई होलिडे होमको रुपमा बसोबास गर्न चाहन्छन, उनीहरुलाई नै लक्षित गरेका छौं।’ शर्मामा अनुसार अपार्टमेन्ट किन्दा धनीले सामुहिक आवास अन्तर्गत लगानी गर्छ, तर संचालनको व्यवस्थापन भने अतिथि समुहले गर्ने उनले बताए। 

‘यस्तो अपार्टमेन्ट अन्तर्राष्ट्रिय सहरको प्रडक्ट हो। पोखरा पर्यटकीय सहर भएकोले यो उपयुक्त हुने ठानेका हौ,’ उनले भने। यो अपार्टमेन्टका अधिकांशका कोठाबाट अघिल्तिरको फेवाताल, पुम्दीभुम्दीको शान्तिस्तुप, रानीवन र लेकसाइडको फुटट्रयाक देख्न सक्छन भने पछाडिपट्टिको हरियाली जंगल पनि यहाँको आकर्षण हो।

यो अपार्टमेन्ट बनाउन करिब एकअर्ब २५ करोड रुपैयाँ लाग्ने अनुमान शर्माको छ। खरिदकर्ताले एक बेडरुम सहितको अपार्टमेन्टको कम्तिमा एककरोड ६० लाख, दुइ बेडरुमको ३ करोड ५० लाख र ३ बेडरुमको ५ करोड २५ लाख तथा पेन्टहाउसको नौ करोड रुपैयाँ मुल्य पर्नेछ। बेडरुम र अपार्टमेन्टले ओगटेको क्षेत्रफल अनुसार पनि फरक फरक आकारको अपार्टमेन्ट रहेकोले मुल्य तलमाथि पर्न सक्ने उनले बताए। यो भवनमा सबैगरि ४९ वटा अपार्टमेन्ट रहेका छन।  

‘नेपाली उच्चवर्गका व्यक्तिलाई हामीले लक्षित गरेका हौ। नेपालका धेरै धरानीयालाई यो स्वरुपको अपार्टमेन्ट आवश्यक परेको छ,’ शर्माले भने, ‘अरुतिरका सबै अपार्टमेन्ट सामुहिक आवासमा मात्र उपयोग भईरहँदा हामीले फरक सोँचका साथ काम गरेका हौ। यसले पोखरालाई पर्यटन र लगानीमैत्री सहरको रुपमा पनि चिनाउन सघाउनेछ।’ कोरोनाका कारण सबैतिरको लगानीबारे जोखिम उठिरहेपनि नयाँ स्वरुपले लगानी गरिरहेको उनले सुनाए।  

प्रकाशित: ३ श्रावण २०७९ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App