१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

४५ दिनमा २ अर्ब १५ करोडको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले डेढ महिनाको अवधिमा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बिक्री गरेको हो।

प्राधिकरणले गत जेठ १९ गतेदेखि भारत बिजुली निर्यात गर्न सुरुवात गरेको थियो। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर क्षेत्रीले प्राधिकरणले दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेको बताए। ‘प्राधिकरणले जेठ १९ यता दुई अर्ब १५ करोड रूपैयाँ बराबरको बिजुली भारत निर्यात गर्दै आइरहेको छ,’ उनले भने-‘प्राधिकरणले अहिले औषतमा भारु ४ देखि ६ रूपैयाँप्रति युनिट बिजुली निर्यात गर्दै आइरहेको छ।’

प्राधिकरणले गत जेठ १९ गतेदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न सुरु गरेको थियो। नेपालमा बिजुलीको उत्पादन बढेसँगै प्राधिकरणले गत जेठ २७ गतेदेखि भने ३६४ मेगावाट बिजुली निर्यात गर्दै आइरहेको छ। यसअघि प्राधिकरणले जुन महिनाको  २८ दिनको अवधिमा एक अर्ब ७२ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको थियो। जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रति युनिट दर ९ रूपैयाँ  ६७ पैसा छ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणका प्रवक्ता क्षेत्रीले प्राधिकरणले अधिकतम ३६४ मेगावाट बिजुली निर्यात गर्दै आइरहेको बताए। प्रवक्ता क्षेत्रीले भने–‘२४ सै घण्टा ३६४ मेगावाट निर्यात गर्न त सकिएको छैन तर औषतमा दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेका छौं।’

प्राधिकरणले नेपालमा रातको समयमा बिजुलीको खपत कम हुने भएकाले पनि रातको समयमा पूर्ण क्षमतामा निर्यात गर्न सकेको बताए। ‘विगतको तुलनामा वर्षायाम लागेसँगै अहिले भारतीय बजारमा पनि बिजुलीको दर केही सस्तो भएको छ,’ उनले भने-‘अहिले भारतबाट बिजुलीको माग त केही बढिरहेको छ तर विगतको तुलनामा बिजुलीको मूल्य भने घटिरहेको छ।’

प्रवक्ता क्षेत्रीले गर्मी बढेको खण्डमा बिजुलीको माग बढी हुने र पानी परेको खण्डमा माग न्यून हुने बताए। ‘अहिलेसम्म ३६४ मेगावाट बेच्न पनि कहिलेकाहीं अप्ठयारो हुने गरेको छ’-उनले भने। प्राधिकरणको सिस्टममा बेलाबखतमा प्राविधिक समस्या आउने भएकाले पनि सिस्टम व्यवस्थित गराउँदै लैजानुपर्ने अवस्था आएको बताए।

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो। सो भेटघाटपछि नेपालको बिजुली भारत निर्यात गर्ने ढोका खुलेको थियो। प्राधिकरणको स्वामित्वका त्रिशुली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्य मर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिक रूपमा भारतीय बजारमा निर्यात हुँदै आइरहेको छ।

पानी परेसँगै नदीनालामा पानीको वहाव बढेर विद्युत्गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर-मुजफरपुर  ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ। प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा भारतबाट २१ अर्ब ३९ करोड रूपैयाँ बराबरको बिजुली आयात गरेको थियो। आव ०७७/७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल दुई अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भएको थियो।

यो आव ०७६/७७ को उत्पादन तीन अर्ब दुई करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले कम हो। आव ०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत प्राप्त भएकोमा गत आवमा ८.६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट पुगेको छ। यस्तै, आव ०७६/७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको थियो।

आर्थिक वर्ष ०७६/७७ मा १३ अर्ब ४२ करोड रूपैयाँको बिजुली भारतबाट आयात गरिएको थियो। प्राधिकरणको उत्पादन घटेको कारणले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ। गत आवमा प्रणालीमा आठ अर्ब ८७ करोड युनिट घन्टा विद्युत् उपलब्ध भएको थियो। यो आव ०७६/७७ को ७ अर्ब ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो।

प्रकाशित: ३१ असार २०७९ ०२:२३ शुक्रबार

नेपाल विद्युत् प्राधिकरण भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केट