विराटनगर नाकाबाट हुने निर्यात व्यापार ७१ प्रतिशतले बढेको छ। गत वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर नाकाबाट हुने निर्यात ७१ .१२ प्रतिशतले बढेको हो।
विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष ०७७/०७८को जेठ मसान्त सम्ममा ३० अर्ब ८४ करोड १७ लाख ६८ हजार रुपैयाँको बस्तु निकासी भएकोमा चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ अर्ब ७७ करोड ६९ लाख २५ हजार रुपैयाँको बस्तु निर्यात भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर नाकाबाट २ खर्ब ४९ अर्ब २८ करोड २० लाख रुपैयाँ बरावरको व्यापार भएको छ। गत वर्ष २ खर्ब २ अर्ब १५ करोड ४५ लाख रुपैयाँको व्यापार भएको थियो। विराटनगर नाकाबाट चालु आर्थिक वर्षको साउन देखि नै निर्यात बढेको देखिन्छ।
११ महिनाको अवधिमा सबै भन्दा बढी भदौ महिनामा ६ अर्ब ९ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। भन्सार कार्यालयको तथ्याँक अनुसार साउन देखि मंसिर सम्म मासिक ५ देखि ६ अर्ब बढीको निर्यात भएको देखिए पनि पुस देखि भने निर्यात घट्दै गएर जेठमा आइपुग्दा मासिक साँढे ३ अर्बको मात्रै निर्यात भएको देखिएको छ।
चालु आर्थिक वर्षको साउनमा विराटनगर नाकाबाट ५ अर्ब ८६ करोड २९ लाख ७७ हजार रुपैयाँको निर्यात भएको छ। यस्तै भदौमा ६ अर्ब ९ करोड ९९ लाख ३१ हजार, असोजमा ५ अर्ब ३४ करोड ६४ लाख ७१ हजार, कार्तिकमा ५ अर्ब २० करोड ५३ लाख ७४ हजार रुपैयाँको बस्तुहरू निर्यात भएको छ। यस्तै मंसिरमा ६ अर्ब ५ करोड १४ लाख ९७ हजार, पुसमा ४ अर्ब ८१ करोड १५ लाख ९२ हजार, माघमा ४ अर्ब १७ करोड ६१ लाख ५२ हजार, फागुनमा ४ अर्ब २१ करोड ८८ लाख ८ हजार, चैतमा ३ अर्ब ६६ करोड ५६ लाख ४१ हजार रुपैयाँको निर्यात भएको छ।
यस्तै वैशाखमा ३ अर्ब ८४ करोड ९९ लाख ३४ हजार र जेठमा ३ अर्ब ४८ करोड ८५ लाख ४८ हजार रुपैयाँको निर्यात भएको छ। निर्यातमा सुधार भएसँगै विराटनगर नाकाको व्यापार घाटा पनि सुधार आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष विराटनगर नाकाको व्यापार घाटा करिब ९ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको ११ महिनामा ८३ प्रतिशत रहेको व्यापार घाटा चालु आर्थिक वर्ष ७३.१४ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा विराटनगर नाकाबाट १ अर्ब ७१ अर्ब ३१ करोड २८ लाख २४ हजार रुपैयाँको आयात भएकोमा ३० अर्ब ८४ करोड १७ लाख ६८ हजार रुपैयाँको निर्यात भएको थियो। चालु आर्थिक वर्ष आयात बढेर १ खर्ब ९६ अर्ब ५० करोड ५० लाख ८१ हजार रुपैयाँ बराबरको भएको छ। यस्तै निर्यात पनि उल्लेख्य बढेर ५२ अर्ब ७७ करोड ६९ लाख २५ हजार रुपैयाँ पुगेको छ। विराटनगर नाकाबाट भटमासको प्रशोधित तेल, जुटका सामाग्री, सेन्सेटिक यार्न, टेक्सटायल, जुटको वोरा, सुर्यमुखिको प्रशोधित तेल, तामाको सिट, चिया, धागो, चाउचाउलगायतका वस्तुहरू निर्यात हुने गरेको छ।
प्रकाशित: २९ असार २०७९ १४:२६ बुधबार