२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाली सेनाले हस्तान्तरण गर्‍यो तिब्बत जोड्ने १८ किलोमिटर सडक

नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको १८ किलोमिटर ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनालाई हस्तान्तरण गरेको छ। धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभान सम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको नेपाली सेनाका प्राविधिक सेनानी बिनोद भट्टले बताए।  

नेपाली सेनाको बिकास निर्माण निर्देशनालय अन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलले अहिले सम्म ३२ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलेको छ। यो मध्ये १८ किलोमिटर खण्ड आयोजनालाई हस्तान्तरण भएको हो। प्राविधिक सेनानी भट्टले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाका प्रमुख पशुपति ज्ञवालीलाई सडक हस्तान्तरण गरेका हुन्। ‘१८ देखि ३२.५ किलोमिटर सम्म ग्रेड मिलाउनुपर्ने, केही काम बाँकी छ’ प्राविधिक सेनानी भट्टले भने ‘यो पनि छिटो काम सकेर हामी हस्तान्तरणको प्रक्रियामा जानेछौँ।’

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले उक्त खण्ड नियमित सवारी साधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराए। साथै उनले उक्त सडक लार्के भञ्ज्याङ सम्म जोडिँदा उत्तरी गोरखाका जनताका लागि सुविधा हुने हुँदा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए। धेरै समस्याका बिच पनि सेनाले सडक निर्माण गर्न सफल भएको उनले बताए। 

सडक आयोजना कार्यालयलाई सडक हस्तान्तरण गर्दै नेपाली सेना। तस्बिर: नागरिक

हावाडाँडादेखि लार्के भञ्ज्याङ सम्मको ९२ किलोमिटर मध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ। १४ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलिसकिएको र करिब ६० किलोमिटर सडकको ट्रयाक खोलिएको छैन।  

सहज रुपमा सवारी साधन आउजाउ गर्न मिल्ने भएको र स्थानीयको मागका आधारमा पनि सेनाले निर्माण पुरा भएको १८ किलोमिटर सडक हस्तान्तरण गरेको जनाएको छ। यो गोरखा र तिब्बत जोड्ने सडक हो। गोरखाको चुमनुब्री गाउँपालिकामा अझै गाडी पुग्ने सडक बनिसकेको छैन। ‘सडक ट्रयाकले चुमनुब्रीलाई छोएको छ, मंसिर सम्म हामी सिर्दिबासमा गाडी पु¥याउने योजनामा छौँ’ सेनाका प्राविधिक सेनानी बिनोद भट्टले भने। चुमनुब्री गाउँपालिको केन्द्र सिर्दिबासको फिलिम हो। अहिले बिभिन्न तीनवटा क्याम्पमा रहेर करिब एक सय ५० जनाले काम गरिरहेका छन्।  

२०५२ सालमा बेनिघाट–आरुघाट–आर्खेत सडक निर्माण सुरु भएको हो। २०६३/६४ मा बेनीघाट–लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक बिभागलाई निर्माणको जिम्मा दिईयो। २०६६/६७ मा सडक आयोजनाले निर्माण सुरु गर्‍यो।  

सेनाले निर्माण गरेको हावाडाँडादेखि दोभानमा पर्ने सडक खण्ड।

भौगोलिक बिकटता, कडा चट्टान बिस्पोट गर्नुपर्ने लगायत कारण हावाडाँडादेखि माथि आयोजना कार्यालयले सडक निर्माण गर्न सकेन। अन्ततः मन्त्रिपरिषदको निर्णयबाट २०७३ मंसिर २६ गते हावाडाँडा देखि लार्केभञ्ज्याङ सम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पायो। २०७४ बैशाख ११ गतेबाट सेनाले ट्रयाक खोल्न सुरु गरेको प्राविधिक सेनानी भट्टले बताए।  

हावाडाँडाबाट सुरु भएको सडक धार्चे गाउँपालिकाको लापुवेशी, माछाखोला, चुमनुब्रीको जगत, बिहि, प्रोक, सामागाउँ, साम्दो हुँदै लार्केभञ्ज्याङ सम्म पुग्नेछ। बूढीगण्डकीको तिरैतिर हुँदै यो सडक खण्ड मनास्लु संरक्षण क्षेत्र भित्र समेत पर्नेछ। गोरखा र तिब्बतको रुईला नाका सम्म यो सडक निर्माण पुरा भए जोडिनेछ। उक्त सडक खण्डको माछाखोलामा २४ टन क्षमताको बेलिब्रिज पनि निर्माण गरेको छ। चुमनुब्री सडक सञ्जालले नजोडिँदा उत्तरी गोरखाका सर्वसाधारण ढुवानीमा खच्चड र उपचारमा हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ। 

प्रकाशित: २७ असार २०७९ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App