४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठेकेदारले थाले डिजाइनको काम, आगामी फागुनदेखि निर्माण सुरु हुँदै

सिद्धबाबा सुरुङ मार्ग

बहुचर्चित बुटबल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कन्स्ट्रक्सन कर्पाेरेसनले सुरुङमार्गको डिजाइन गर्न थालेको छ। कर्पाेरेसनले गत फागुन १ गते सुरुङमार्ग ‘इञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण गर्ने गरी ठेक्का हात पारेको थियो। ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले सो सुरुङमार्गको डिजाइन ९ महिनाभित्रै तयार पार्नुपर्नेछ।  

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले सुरुङमार्गको डिजाइनको काम भइरहेको बताए। ‘ठेकेदार कम्पनीले सन् २०२२ को डिसेम्बर महिनासम्म सुरुङमार्गको डिजाइन बुझाउनुपर्ने समयसीमा तोकिएको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले बुझाएको डिजाइन दुई महिनाभित्र आवश्यक रिभ्यू गर्ने समय लाग्नेछ।’  

सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले सडक विभागले ठेकेदार कम्पनीले तयार पारेको डिजाइन स्वीकृत गरेसँगै सुरुङमार्ग निर्माण कार्य अघि बढ्ने बताए। ‘अहिले सुरुङमार्गको जिओ टेक्निकल म्यापिङको काम गरिरहेका छन्,’ उनले भने, ‘ठेकेदार कम्पनीले आवश्यक अध्ययन गरेर सुरुङमार्गको विस्तृत डिजाइन तयार पार्ने काम गरिरहेको छ।’

केन्द्रले सुरुङमार्ग निर्माणको क्रममा सिद्धबाबा मन्दिरको वरपरको क्षेत्रमा पार्ने प्रभावको विषयमा अध्ययन भइरहेको जनाएको छ। ‘मन्दिर वरपरका केही घरटहरा लगायतका संरचना भत्काउन पर्ने वा नपर्ने विषयमा अध्ययन प्रतिवेदन आएसँगै थाहा हुनेछ,' उनले भने।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो सुरुङमार्गका लागि आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा ७४ करोड ६५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले आगामी आवमा सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि बजेटको कुनै अभाव नहुने बताए।

‘सरकारले आगामी आवमा ७५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘आगामी आवको ६ महिनाको अवधि डिजाइनकै लागि समय खर्चिने भएकाले पनि यो वर्ष सुरुङ निर्माणको लागि बजेटको अभाव हुने देखिँदैन।’  

गत फागुन १ गते सिद्धबाबा सुरुङमार्गको निर्माणको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा हात पारेको थियो। सुरुङमार्गको प्राविधिक छनोटमा चारवटा कम्पनी परेका थिए। कोभेक–सिआरइजिसी जेभीले सात अर्ब ७९ करोड, सिसिइसिसी र १४ सियुआन चाइना जेभीले नौ अर्ब ८० करोड र फस्ट हाइवे इञ्जिनियरिङले ११ अर्ब ७३ करोड रूपैयाँको आर्थिक प्रस्ताव गरेका थिए। प्राविधिक प्रस्ताव पेस गरेका मध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छनोट भएको थियो। सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम रकममा निर्माण गर्ने कबोल गर्ने ठेकेदार कम्पनीलाई यो सुरुङमार्ग निर्माणको लागि छनोट गरिएको थियो।  

केन्द्रले सुरुङमार्गको ग्लोबल ठेक्का आह्वान गरेको ९ महिनापछि मात्रै ठेकेदार कम्पनी छनोट गरेको थियो। केन्द्रले सुरुङमार्ग करिब ५ वर्षको अवधिभित्र निर्माण सम्पन्न गर्ने योजना बनाएको छ।

बुटबल–तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउमा सुरुङमार्गको एउटा मुख रहनेछ। अर्काे मुख दोभान नजिकै रहनेछ। यो सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर रहनेछ ।  

यो सुरुङमार्ग दुई लेन अर्थात् साढे ७ मिटर चौडा हुनेछ। ठेकेदार कम्पनीले सुरुङमार्गसँगै ७ सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचना समेत तयार पार्नु पर्नेछ।  

अहिलेको सडकलाई दुई लेनमा विस्तार गरिनेछ। केन्द्रका अनुसार यो खण्डमा सुरुङमार्ग मात्रै नभएर दुई लेनको सडक समेत विस्तार गरिनेछ।  

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रस्तरीय निर्णय गरी सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए। सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक मात्रामा पहिरोको जोखिम छ। सो खण्डमा हिउँद र बर्खामा पहिरोको कारण बर्सेनि दर्जनौंले ज्यान गुमाइरहेका छन्। यो खण्डमा पहिरोमा परेर अहिलेसम्म ४ सय ५० भन्दा धेरैले ज्यान गुमाएका छन्।  

सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले यो सुरुङमार्ग बनेसँगै यो खण्डको यात्रा जोखिममुक्त हुने बताए। ‘बुटबल–पाल्पा खण्डमा वर्षेनी पहिराले ठूलो धनजनको क्षति हुँदै आइरहेको छ। यो खण्डको पहिरोमा परेर धेरैले ज्यान गुमाउँदै आइरहेका छन्,’ उनले भने, ‘सुरुङमार्ग बनेसँगै एकातर्फ सुरक्षित यात्रा गर्न पाइनेछ। अर्काेतर्फ पहिरोमा परेर अनाहकमा ज्यान गुमाउनुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ।’

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको इलाकामा स्विस सरकारको विकास सहयोगमा भौगर्भिक तथा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पाेरेसनले सिद्धबाबा सुरुङमार्गको पूर्वसम्भाव्यतता अध्ययन गरेको थियो। केन्द्रले सोही पूर्वसम्भाव्यता अध्ययनमा टेकेर सुरुङमार्ग निर्माणको काम अघि बढाएको हो।

प्रकाशित: २७ असार २०७९ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App