१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंकको १८ करोड रकम हिनामिना प्रकरण: प्रमुखसहित ३३ खातावाललाई कैद सजाय

दाङ नारायणपुरस्थित तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंकको १८ करोड रकम हिनामिना प्रकरणमा बैंकका शाखा प्रमुखसहित तीन दर्जन खातावाललाई सजाय तोकिएको छ। उच्च अदालत तुलसीपुरले बैंकका सञ्चालक र सिईओलाई भने सफाई दिएको छ। 

देव बिकास हुँदै हाल कुमारी बैंक बनेको तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंकको १८ करोड ३ लाख ७२ हजार २ सय १८ रुपैयाँ हिनामिना भएको तथ्य खुलेको थियो। यो प्रकरणमा मुख्य हात बैंकका शाखा प्रमुख समिर बुढाथोकीको देखिएको छ। अदालतले उनलाई मुख्य दोषी ठहर गर्दै बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत तीन बर्ष भन्दा बढि कैद सजाय हुने अदालतले फैसला गरेको छ। तीन बर्ष भन्दा बढि जेल सजाय हुने भएकाले बुढाथोकीलाई सजाय तोक्नका लागि पुनः अदालतमा पेश गरिने अदालतले जनाएको छ।  

तत्कालीन बैंकका शाखा प्रमुख बुढाथोकीले ३६ वटा नक्कली ऋणि तथा कर्जा खाता सृजना गरेर कर्जा प्रवाह गरेको र उक्त नक्कली कर्जा खाताबाट बिभिन्न व्यक्तिको खातामा रकमान्तर गरेर झिकेको फैसलामा उल्लेख छ। ‘नीज बुढाथोकीले २०७४/११/३० गतेदेखि २०७६/२/१२ झण्डै १५ महिनाको अवधिमा कर्जा खाताहरुको भौतिक फाईल खडा नगरि बै.किङ सफट्वेयर प्रणालीमा कृत्रिम ३६ वटा खाता खोली ति खाताबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा रकम सृजना गरिएको ठहर्छ,’ अदालतको फैसलामा भनिएको छ ‘उक्त रकम विभिन्न ४५ जना खातावालको खातामा रकमान्तर गरि सो रकम खातावालहरुले झिकेर बैंकको १८ करोड ३ लाख ७२ हजार २ सय १८ रुपैयाँ हिनामिना भएको देखिन्छ।’  

यसरी बुढाथोकीलाई रकम हिनामिनामा सहयोग गरेको भन्दै कुल ४५ मध्य ३३ खातावालाहरुलाई समेत जेल सजाय सुनाइएको छ। यी मध्य बसन्त बहादुर बस्नेत र मनोज केसीलाई जरिवाना सहित दुई बर्ष जेल सजाय सुनाइएको छ। यसैगरि रोशन बस्नेत र झगबहादुर डिसीलाई डेढ वर्ष जेल सजाय सुनाइएको छ। बस्नेतलाई ४ करोड ३० लाख ७२ हजार ५ सय रुपैयाँ बिगो सहित २ करोड १६ लाख ३६ हजार २ सय ५० रुपैयाँ जरिवाना समेत तोकिएको छ। २ करोड ८२ लाख ३ हजार ४ सय ९२ रुपैयाँ बिगोसहित एक करोड ४ लाख ११ हजार ७ सय ४६ रुपैयाँ जरिवाना तोकिएको छ।  

यस्तै ६ जना खातावाललाई बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाइएको छ भने दुई जनालाई २० दिन,१० जनालाई १५ दिन, ६ जनालाई १० दिन, १ जनालाई ५ दिन र दुई जनालाई ४ दिन जेल सजाय सुनाइएको छ। यो प्रकरणमा दोषी आरोप लागेका दुई जना खातावाल भने फरार छन्। कुल ४५ मध्य तीनजना खातावालले सफाई पाएको, एक जनाको अभियोग पत्र फिर्ता भएको र अन्यलाई जरिवानाको तोकिएको छ।  

बैंकका शाखा प्रमुख बुढाथोकीले यी व्यक्तिहरूको खाता प्रयोग गरि रकम निकासा गरेको ठहरेको छ। फलतः खातावालहरुलाई  पनि अदालतले ठगी प्रकरणमा दोषी प्रमाणित गरेको हो। यसैगरि बैंकका ६ जना सञ्चालक र सिईओले भने सफाई पाएका छन्। बैंकका शाखा प्रमुखले नक्कली खाता सृजना गरि रकम हिनामिना गरेको तथ्य प्रमाणित भैसकेकाले सञ्चालक तथा सिईओको यो प्रकरणमा संलग्नता नदेखिएको फैसलामा उल्लेख छ। बैंकको रकम हिनामिना प्रकरणमा बैंक सञ्चालक, सिआईओ, शाखा प्रमुख र खातावालसहित ५६ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। 

प्रकाशित: २४ असार २०७९ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App